समीक्षा : हरि अधिकारीको ‘एक्लो नायक’ भित्र एक निमेष – Dcnepal

समीक्षा : हरि अधिकारीको ‘एक्लो नायक’ भित्र एक निमेष

पूर्वकथनः

मेरा कम्प्युटरका स्क्रिनमा उपन्यासकार हरि अधिकारीको ‘एक्लो नायक’ उपन्यास आइपुगेको छ। तारतम्य कसरी मिल्यो भने स्रस्टा साँझ अमेरिकाले उपरोक्त उपन्यासकाबारेमा विमर्स कार्यक्रम सञ्चालन गर्दैरहेछ।

यही क्रममा अमेरिकाको ओक्लोहामा निबासी प्रा विश्वराज अधिकारी सरले मलाई ‘हरि अधिकारीको उपन्यास ‘एक्लो नायक’को बारेमा बोलिदिनु पर्यो’ भन्नुभयो। पहिले त म डराएँ। किनभने खासमा म हरि अधिकारी जस्तो शिखर व्यक्तित्वको उपन्यासमाथि बोल्ने दुस्साहस गर्न चाहन्नथेँ। तर फेरि विश्वराज सरले मलाई फुक्र्याइफुक्र्याई यो पुस्तकमा बोल्न तयार पार्नुभयो। फलस्वरूप यो आलेख तयार भयो।

उपन्यासकार हरि अधिकारीलाई मैले सायद आजपर्यन्त भौतिक रूपमा भेटेको छुइनँ। तर मैले उहाँका लेखनीमा बारम्बार चिनेको छु। भेटेको छु। त्यसो त नेपाली साहित्याकाशमा उपन्यासकार हरि अधिकारीलाई नचिन्ने कोही हुनुहुन्छ जस्तो मलाई लाग्दैन।

मैले पढेका हरि अधिकारीको अलग पहिचान छ नेपाली साहित्यमा। उहाँले गरेका खरो समीक्षाले त साहित्यवृत्त नै हल्लाएको हुन्छ। प्रस्तुतिमा खरो उत्रने स्रस्टा ठानिनुहुने उपन्यासकार हरि अधिकारीको यो ‘एक्लो नायक’ उपन्यासकोबारेमा लेख्नुपर्दा मैले अति गौरव महसुस गरेको छु। हर्षित पनि भएको छु।

पुस्तकको कभरमा नेपाली काङ्गेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको स्केचचित्र रहेछ। भित्र पातोमा सन्त नेता किसुनजीलाई समर्पण गरिएको रहेछ। यसबाट नै प्रस्ट हुन्छ कि यो सन्त नेताकैबारेमा लेखिएको उपन्यास हो।

प्लट
उपन्यासको प्लटकाबारेमा खासमा केही नै भन्नुपर्ने छैन। किनकि उपन्यास सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवनका विविध सत्य पाटाहरूलाई उजागर गर्ने प्रयोजनकासाथ लेखिएको छ। त्यसैले यसलाई जीवनीपरक उपन्यास भन्नुपर्ने हुन्छ।

सन्त नेताको अन्तिम अवस्थाबाट सुरु भएको छ कथानक। तेस्रो खण्डसम्म उपन्यास प्रथमपुरुष दृष्टिविन्दु ‘म’ याने सन्त नेताकी अभिसारिकाबाट कथा भनिएको छ। चौथो खण्डबाट तृतीय पुरुष ‘उनी’ अर्थात् सन्त नेताका माध्यमले कथा भनिएको छ। उपन्यास सरदर भीमकाय नै छ। त्यसैले यसभित्र अनेकन विषयबस्तु अटाएका छन्।

राजनीतिक विषयबस्तु :  यो उपन्यासमा जाहेर छ राजनीतिक विषयबस्तु उजागर भएका छन्। २००७ सालभन्दा अघिको समयदेखि सन्त नेता कृष्णप्रसाद भट्टराईसँग जोडिएर आउने नेपालको राजनीतिक विषयका कथावस्तु समेटिएको छ।

२००७ सालको राजनीतिक आन्दोलन, राजनीतिक अवस्था, दिल्ली सम्झौता तथा नेपाली काङ्ग्रेसको भू्रणकालीन अवस्थाका अन्तर्यहरू केलाउनु उपन्यासको विषयबस्तु रहेको छ। कृष्णप्रसाद भट्टराईलाई केन्द्रमा राखेर नेपाली काङ्ग्रेसको इतिहासभित्र आइपरेका अनेकन विषयमाथि प्रकाश पारिएको छ।

भट्टराई परिवार वनारसमा नेपालीको आश्रयस्थल थियो भन्ने पक्ष उजागर गरिएको छ। लक्ष्मीप्रसाद देवकोटाको वनारसको अवस्थाकाबारेमा चर्चा गर्दै उनले कविता बेचेको कुरा मीठोसँग व्यक्तभएको छ। सन्त नेता कृष्ण प्रसाद भट्टराईको नक्खु जेल जीवनका पक्षहरू, उनको स्वभाव, जेलभित्रको आचरण तथा समग्र पक्षहरूको चर्चा छ। उनको रक्सी प्रियता र मजाकिलो स्त्रीमोहकाबारेमा पनि चर्चा छ। किशुनजीका निजी डायरीका अंश पनि पढ्न पाइन्छ।

यो क्रममा बीपीका विमातृ दाजु मातृकाप्रसाद कोइरालाको नेपाली काङ्गे्रसभित्रको विचलन तथा घटनाक्रमले मागेका घटनामा जोडिनआएका तुलसी गिरी, विश्वबन्धु थापा, देवानसिंह राई, सूर्यप्रसाद उपाध्याय, केदारमान व्यथित, गोपालप्रसाद भट्टराई, राजा महेन्द्र, राजा वीरेन्द्र, शरदचन्द्र शाहलगायत अनेकौँ नेताका राजनीतिक विषयलाई कथानक बनाएको छ।

यसैगरी २०१७ साल पुस १ गतेको घटनालाई सिनेममाका झलकजस्तै देखाइएको छ। उपन्यासभित्र राजपरिवारको परिवेश पनि देखाइएको छ। बीपी तथा किशुनजीको सुन्दरी जेलजीवन र किशुनजीको नक्खुको जेलजीवनबारे भित्री तहसम्म पुगेर प्रस्तुत गरिएको छ।

नेपालको राजनीतिमा विदेशी राजदूतहरूको भूमिका हुनेगरेको यथार्थ उपन्यासभित्र समावेस गरिएको छ। विराटनगरको मिलमजदुर हडतालको चर्चा गरिएको छ। नेपाल राष्ट्रिय काङ्ग्रेको स्थापनाको राजनीति, मोहन शमशेरको राजनीति तथा त्यसबेलाको समग्र राजनीतिक परिवेश सुन्दरसँग चर्चा गरिएको छ।

आन्दोलनको तयारीका दौरान बीपी र किशुनजी पण्डित भएर र केदारमान व्यथित राँगा व्यापारी भएर भेष बदलेर काठमाडौँ प्रवेश गरेको कुरा रोमाञ्चक छ। यसको प्रयोजन राजनीतिक हो।

राणाहरूको रोलक्रमको परिपाटी तथा नेपाल प्रजातन्त्र काङ्ग्रेसको स्थापनाको राजनीति प्रस्तुत भएको छ । नेपाल प्रजातन्त्र काङ्ग्रेसले फौजी दस्ताको निर्माण गरेको कुरा पनि लेखिएको छ। नेपाल प्रजातन्त्र काङ्ग्रेस र नेपाली राष्ट्रिय काङ्ग्रेसको एकीकरण र नेपाली काङ्ग्रेसको निर्माणको परिवेश उजागर भएको छ।

नेपाली काङ्ग्रेसको बैरगनिया सम्मेलन र सशस्त्र विद्रोहको घोषणाकाबारेमा उल्लेख गरिएको छ। २००७ सालको आन्दोलनमा कृष्णप्रसाद भट्टराईले रुद्रप्रसाद गिरीसँग मिलेर उदयपुर गढी कब्जा गरेको प्रसङ्ग छ। यसै गरी नेपाली काङ्ग्रेसभित्रका अलगअलग धारहरूको चर्चा गर्दै विकट परिस्थितिमा नेपाल विद्यार्थी संघको स्थापना र किशुनजीले गरेको उद्घाटनको महत्त्व केलाइएको छ।

२०४२ सालमा भएको पञ्च काङ्ग्रेसको होटल द्वारिकामा भएको वार्ता, २०४२ सालको सत्याग्रहको गर्भगृह र त्यसका अन्तर्यका राजनीतिको वर्णन सलल बगेका छन्। २०४३ सालको स्थानीय चुनाव र हरिबोल भट्टराईले गणेशमानको लौरो भएर चुनाब जितेको प्रसङ्ग ज्यादै मीठो छ। २०४६ साल माघमा चाक्सीबारीमा भएको महासम्मेलनले अपनाएको संयुक्त जनआन्दोलनको घोषणा तथा भारतीय नेताको आगमन र आन्दोलनको गर्भगृह प्रवेश गरिएको छ।

अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकाअगाडि आएका संविधान निर्माणका चुनौतिहरू तथा २०४८ सालको आम निर्वाचनमा किशुनजीको हारका कथा रोचक तरिकाले सुनाएका छन् उपन्यासकारले। दरवार र गिरिजाको कारणले किशुनजीले हारेको कुरा कोट्याइएको छ।

किशुनजीको हारपछि सरकार गठनगरेका गिरिजाप्रसाद कोइरालाको भूमिकालाई ऐतिहासिक दुर्घटनाका रूपमा चित्रण गरिएको छ। यसले नेपालको राजनीतिमा पारेको ऐतिहासिक प्रभावको चर्चा सुमधुर तरिकाले गरिएको छ। दुर्भाग्य मध्यावधिमा पनि किशुनजीको हारको राजनीति पर्गेलिएको छ।

गणेशमानको जनजागरण अभियानको चर्चा गर्दै २०५१ सालको चुनावमा काँग्रेसको हारलाई मजाले लेखिएको छ। २०५६ सालको आम निर्वाचनमा सम्भावित प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेर पर्साबाट उनले चुनाव जिते। तर बिडम्बना, यसपछि प्रधानमन्त्री बनेका किशुनजीलाई ९ महिनामै राजीनामा दिन गिरिजा बाबुले बाध्य पारेको र त्यो अवसरमा किशुनजीले संसदमा दिएको मर्मस्पर्शी सम्बोधनले मर्माहत बनाउँछ।

यसै गरी गिरिजा बाबुले शेरबहादुर देउबालाई नेकाको साधारण सदस्यबाट नै हटाइदिएको घटना, शेरबहादुर देउबाले नेपाली काङ्ग्रेस प्रजातान्त्रिक गठनगरेको कुरा पनि उठाइएको छ।

र अन्त्यमा २०६२÷६३ को आन्दोलनमा नेकाले माओवादीको एजेण्डाबोकेको कुरा उल्लेख छ। नेकाको एजेण्डा गणतन्त्र होइन भनी विरक्तिएका केपीले अन्तमा नेपाली काङ्ग्रेस नै परित्याग गरेको कुरा ऐतिहासिक दस्ताबेज बन्न पुगेको छ।

सामाजिक विषयबस्तु : प्रमुख ध्येय राजनीतिक भए तापनि उपन्यासले तत्कालीन समाजको यथार्थ चित्र पनि प्रस्तुतगरेको छ। काठमाडौँको तत्कालीन सामाजिक जनजीवनलाई विषयबस्तु बनाएको छ। उपन्यासको महत्त्वपूर्ण सामाजिक पाटो भनेको नेपालका मान्छे वनारसमा बसाइँ सर्ने विविध कारणको चर्चा गर्नुरहेको छ।

वनारसका बासिन्दा नेपालीहरूको विविध पक्षको जनजीवनलाई मिहीन तरिकाले उजागर गरिएको छ। अफिम खाने, पान खाने, कुर्तासुरुवाल वा पाइजामा, धोती लगाउने, हिन्दी बोल्ने, गङ्गासभ्यतामा रमाउने तथा बनारसमा बसेर नेपालको राष्ट्रियताप्रति चिन्तित भएर नेपालमा प्रजातन्त्रका लागि सङ्घर्षगर्ने परिवेशको वर्णन सुललित तरिकाले गरिएको छ। नेपालीहरूको वनारसमा विद्वत्ता तथा वनारस शिक्षाको केन्द्र भएको ऐतिहासिक कुरा उल्लेख भएको छ।

भारतको गान्धीकालीन इतिहास : बस्तुतः उपन्यासले आफ्नो विषयबस्तुमा भारतको कृष्णप्रसाद भट्टाराई कालीन राजनीतिलाई पनि विषयबस्तु बनाएको छ। भारतको असहयोग आन्दोलन, भारत छोड आन्दोलन जस्ता स्वतन्त्रता आन्दोलनमा बनासरमा बसेका नेपालीहरूले खेलेको भूूमिकामाथि प्रकाश पारिएको छ।

किशुनजीलगायत अन्य नेताहरू भारतीय स्वतन्त्रताको आन्दोलनमा जेल परेका घटना पनि उपन्यासमा समेटिएका छन्। भारतको स्वतन्त्रताका सन्दर्भमा स्वतन्त्र भारतका प्रथम गभर्नर लर्ड माउन्टवेटनको भूमिका पनि यथास्थानमा विषयबस्तु भएको छ।

नेपालमा हुने आन्दोलनको प्रशिक्षण भारतमै भएका घटनाहरू प्रस्ट पारिएका छन्। भारतको जालियावाला बाग हत्याकाण्डमा गोर्खाली सोना प्रयोगकोसमेत विषय उठानभएको छ।

बामपन्थी नेताको चर्चा : उपन्यासभित्र किशुनजीका जीवनसँग जोडिएका कम्युनिस्ट नेताहरूको भूमिकाको पनि थोरबहुत चर्चा गरिएको छ। मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी, विद्या भण्डारी, साहना प्रधानआदिका भूमिकालाई पनि कताकति उजागर पारिएको छ।

किशुनजीको निजी जीवन : उपन्यासभरि किशुनजीको जीवनका अन्तरकुन्तर चहारिएको छ। उनको पारिवारिक इतिहास, अवस्था र परिवेशलाई केन्द्रमा राखिएको छ। उनको ब्राह्मण परिवार गाँजा अफिममा लटठ हुनेगरेको कुरा पनि आनन्दले का्ट्ट्याइएको छ।

भट्टराई परिवार वनारसमा नेपालीको आश्रयस्थल थियो भन्ने पक्ष उजागर गरिएको छ। लक्ष्मीप्रसाद देवकोटाको वनारसको अवस्थाकाबारेमा चर्चा गर्दै उनले कविता बेचेको कुरा मीठोसँग व्यक्तभएको छ। सन्त नेता कृष्ण प्रसाद भट्टराईको नक्खु जेल जीवनका पक्षहरू, उनको स्वभाव, जेलभित्रको आचरण तथा समग्र पक्षहरूको चर्चा छ।

उनको रक्सी प्रियता र मजाकिलो स्त्रीमोहकाबारेमा पनि चर्चा छ। किशुनजीका निजी डायरीका अंश पनि पढ्न पाइन्छ। यति मात्र होइन गिरिजा र नोनाको टेलिप्याथी सम्बन्धको कुरा छ। बीपीको स्त्रीप्रियतालाई पनि मजाले उजागर गरिएको छ।

पात्र :

उपन्यासको कथानक सत्य घटनाहरूसँग सम्बन्धित भएकाले २००७ सालभन्दा पहिलेदेखि सन्त नेता कृष्ण प्रसाद भट्टराईको अवसानसम्म नेपालको राजनीतिमा आएका सकारात्मक र नकारात्मक पात्र सयौँका मात्रामा छन्। घटनासँग जोडिएका सकारात्मक पात्रहरूको चरित्र उजागर गरिएको छ।

त्यसकारण सन्त नेता कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, बीपी कोइरालगायत धेरै पात्रहरूलाई उपन्यासभित्र प्रोटागोनिस्ट पात्रको रूपमा याने कि असल पात्रको रूपमा चर्चा गरिएको छ। त्यसै गरी उपन्यासभित्र सन्त नेता कृष्ण प्रसाद भट्टराईको दृष्टिविन्दुबाट हेर्दा देखापर्ने खराब पात्रहरू याने कि एण्टागोनिष्ट पात्रमा राणा, राणाका मतियार, राजा, राजाका मतियार, आफ्नै पार्टीका गिरिजाप्रसाद कोइराला, केही कम्युनिस्ट नेता तथा तिनका क्रियाकलाप देखिएका छन्। यो विहङ्गम पुस्तकमा कैयौँ पात्र एन्टागोनिस्ट छन्।

प्रयोजन :
उपन्यासकारले पुस्तकको आफ्नै भूमिकामा उल्लेख गरेकै कुरालाई आधार मान्दा यो उपन्यासको प्रयोजन सन्त तथा त्यागी नेता कृष्णप्रसाद भट्टराईकाबारेमा लेखिएका/नलेखिएका, थाहा पाएका/नपाएका, भनिएका÷नभनिएका पक्षहरूलाई उजागर गर्नुरहेको छ। यही प्रयोजनका आधारमा उपन्यासको सिर्जनाभएको छ। उपन्यास आफ्नो प्रयोजनमा प्रस्ट छ।

बुनौट :
आख्यान साहित्यमा सिर्जना हुने साहित्यका हरेक विधाले आफ्नो छुट्टै बुनौट तारतम्य खोज्ने हुन्छ। यो उपन्यास सन्तनेता कृष्ण प्रसाद भट्टराईको जीवनीसँग तादात्म्य राख्ने तथा उनले सुमरेको राजनीतिक परिवेशका अन्तरकुन्तरलाई उपन्यासको तानमा बुन्नुरहेको छ। उपन्यास खासमा ऐतिहासिक तथ्यमा आधारित छ। त्यसकारण यो उपन्यासमा सकेसम्म बुनौट पनि त्यही ऐतिहासिक धरातलमा बुनिएको छ।

शैली :
उपन्यासकारको यो उपन्यास भन्ने शैली निकै प्रभावशाली छ। कथ्यप्रस्तुतिको भाषा स्तरीय, सुललित र बोधीय छ । वाक्यगठन सरल तथा स्पर्शी छन्। भाषिक दुरुहता छैन भन्दा पनि हुन्छ।

उपन्यास भन्ने शैलीमा प्रयुक्त ठेट, आगन्तुक तथा अन्य भाषाका शब्दको प्रयोगले शैलीमा निखारल्याएको अनुभूत हुन्छ । उपन्यासकारको आफ्नो विचार, दर्शन, देखाइ तथा भोगाइलाई जस्ताको तस्तै लेख्नसक्ने भन्नसक्ने शैली उपन्यासकारमा देखिन्छ।

मनमोहक कुरा :
प्रस्तुति : उपन्यासको प्रस्तुति मनमोहक छ। किनभने अन्य उपन्यास पढ्दाझैँ पाना खप्ट्याएर पढ्न खोजेँ, तर मैले त्यसोगर्न सकिनँ। कुनै पनि हरफछोड्न मन लागेन। बरु पढ्दै जाँदा यो उपन्यास हो भन्ने कुरै बिर्सेँ र सन्त नेताकै वरिपरि घुमिरहेँ।

यो पुस्तकमा भएका विषयबस्तुलाई इतिहासका रूपमा लेख्ने हो भने लेखकले १० वर्ष खट्नुपर्छ। तर उपन्यासकारले बडो कुशलतापूर्वक यो कार्य आख्यान नाम दिएर पूरा गरेका छन्। यो शिल्पलाई नमन गर्नैपर्ने हुन्छ।

इमान्दारिता :  उपन्यासकार कथानक प्रस्तुतिमा इमान्दार देखिन्छन्। आफूलाई अति मनपर्ने पात्र सन्त नेता किशुनजीकाबारेमा स्त्री तथा रक्सी वा उनको एकोहोरो बानीबेहोराकाबारेमा कत्ति पनि विचलित नभई लेखेका छन्। बीपीकाबारेमा पनि यसैगरी लेखेका छन्।

आँट : उपन्यासकारको आँट पनि निकै धन्यवाद दिनेखालको छ। उपन्यासभित्रका अनेकौँ प्रसङ्गहरू चानचुने आँटभएका मान्छेले उल्लेख गर्न सक्दैनन्। खास गरी राजदरबार तथा गिरिजा प्रसाद कोइरालासँग सम्बद्ध प्रसङ्गहरू आँटिला मुटुले लेखेका छन्।

भाषिक शिल्प :  उपन्यासमा प्रयुुक्त भाषामा स्तरीयता छ। नेपाली भाषाका ठेट शब्द, आगन्तुक शब्द तथा तत्सम तद्भव शब्दको चातुर्य प्रयोग भएको छ। कथानकले मागेका ठाउँका सम्बादमा हिन्दी बाक्य र शब्द मिलाएर राखिएको छ।

सम्बादमा यथास्थानमा अङ्ग्रेजी भाषाको पनि बग्रेल्ती प्रयोग भएको छ। किनभने किशुनजी व्यक्तिगत जीवनमा पनि हिन्दी र अङ्ग्रेजी निकै बोल्थे। यसरी यो उपन्यासमा धेरै सुगन्धहरू छन्। जसले पाठकलाई मन्त्रमुग्ध बनाइरहन्छ।

सुधारात्मक कुरा

उपन्यासभित्र सूक्ष्म तरिकाले अध्ययन गर्यो भने केही सुधारात्मक कुरा पनि देखिन्छन्। पहिलो कुरा त रूपविधानमै छ। उपन्यासकार आफ्नो लेखकीय मै भन्नुहुन्छ कि ‘एक्लो नायक’ विशुद्ध आख्यान होइन न त यो विशुद्ध ऐतिहासिक वृत्तान्त नै हो।

उहाँको यो कुराले नै एउटा प्रश्न तेस्याउँछ कि त्यसो भए के हो त यो? आख्यान कि इतिहास? इतिहासशास्त्रले भन्छ कि इतिहास आख्यान बन्न सक्दैन। आख्यान पनि इतिहास बन्न सक्दैन। इतिहास कला र विज्ञान दुबै हो भने साहित्य कला मात्र हो।

विज्ञान नभई इतिहास बन्न सक्दैन। उपन्यासमा लेखिएको ऐतिहासिक कुरा ऐतिहासिक खुराक त बन्न सक्छ, इतिहासका कथा त हुन सक्छन्, तर इतिहासको तथ्यप्रमाण भने बन्न सक्दैन। त्यसैले यो उपन्यास पढिसक्दा लाग्यो यो ऐतिहासिक उपन्यास पनि होइन। किनकि उपन्यास हुन कल्पनाशिलता तथा कलात्मक पक्ष चाहिन्छ।

ऐतिहासिक उपन्यास बन्न ऐतिहासिक घटना त चाहिन्छ, तर त्यो घटनालाई कल्पनाशीलतात्मक कलाले छपक्क छोप्नु पर्छ। तर यो उपन्यासको प्रमुख अभिध्येय नै ऐतिहासिक घटनाको प्रकटीकरण मात्र हो, कल्पनाशीलता होइन। त्यसकारण मेरा विचारमा यो ऐतिहासिक उपन्यास पनि होइन।

तत्कालीन राजनीतिक परिवेशमा कम्युनिस्टको उदयमा उपन्यासकार स्वाभाविक बन्नसक्नुभएको छैन। किशुनजीलाई हराउने कम्युनिस्टका जननेता मदन भण्डारी तथा विद्या भण्डारीप्रति उपन्यासकारको आँकलन कमजोर भएको कुरा भाषाले देखाएको छ। यहाँ अन्यत्रझैँ उपन्यासकार स्वतन्त्र बन्न सकेको भए झन् सुनमाथि सुगन्ध हुने थियो।

यो त उपन्यासकार हरि अधिकारीको सन्त नेता कृष्णप्रसाद भट्टराईप्रतिको आदरभावले जन्मेको संस्मरण हो। यसलाई संस्मरण भन्न पाएको भए झन् सुनमाथि सुगन्ध थपिन्थ्यो। या त अलि प्रमाण समावेश गरेर इतिहास नै लेखेको भए पनि हुने थियो।

उपन्यासभित्र कथ्यतादात्म्य पनि कसिलो छैन। उपन्यासको अनेकौ पाठमा किसुनजीसँग संलग्न नभएका कैयौँ विषयवस्तुहरू छन्। जुन अनावश्यक छन्। उदाहरण–नक्खु जेलका जेलर थापा काजीको व्यक्तिगत जीवनलाई पनि चर्चा गरिएको छ। जुन आवश्यक थिएन।

उपन्यासभित्र एउटै कुरा धेरैपल्ट भनिएको छ। उदाहरण – किशुनजीले साइकल चलाएर कलेज जाने, कलेजबाट महामुरगञ्ज ट्युसन पढाउन जाने र लगभग १५ माइल साइकल हरेक दिन चलाउने भन्ने कुराको सन्देश दोहोरिएको छ।

पुस्तकभित्रका कथानक शीर्षकसँग शतप्रतिशत तादात्म्य राख्दैनन्। कसरी एक्लो नायक भयो प्रमुख पात्र? जबकी पुस्तकभित्र धेरै नायकको चर्चा छ। बीपी तथा गणेशमानलाई महानायकका रूपमा चर्चा गरिएको छ। कथानक प्रस्तुति पनि समयका क्रमले छैन। पुरानो कथा भन्दाभन्दै नयाँ कथा आइपुग्छ। नयाँ भन्दाभन्दै पुरानोमा पुग्छ।

उपसंहार

उपन्यासको उपसंहारमा २०६२/६३ को आन्दोलनमा नेपाली काङ्ग्रेसले आफ्नो एजेन्डा सम्वैधानिक राजतन्त्र छोडेर माओवादीको एजेण्डा गणतन्त्र बोकेको कुरा उल्लेख छ। यो अवस्थामा गणतन्त्र नेकाको एजेन्डा होइन भनी विरक्तिएका केपीले अन्तमा नेपाली काङ्ग्रेस परित्याग गरे।

अब उनको हैसियत वृद्ध राजनेताको मात्र रह्यो। सरकारले उनका नाममा खोलिदिएको आश्रम बाडेगाउँमा बाँकी जीवन बिताए। २०६७ साल फागुन २० गते थापाथलीस्थित नर्भिक अस्पतालमा महानिर्बाण प्राप्त गरे। यो भयो उपन्यासको समाप्ति।

तर यो आलेखको समापनमा आइपुग्दा ऐतिहासिक घटनाक्रमलाई आख्यानमा रूपान्तरण गर्ने शिल्पको तारिफ गर्नै पर्छ। उपन्यास गद्य हो। यसले मानव जीवनका जटिलता तथा अनुभवलाई कल्पना तथा कलाका माध्यमबाट व्यक्त गर्दछ।

यसो भएकाले उपन्यासभित्र अनेकौँ ठाउँमा प्रकृति, मानवव्यवहार, रिस, उद्वेग, निराशाका प्रसङ्गहरूका वर्णन छन्, जहाँ शतप्रतिशत आख्यान भेटिन्छ। त्यसैले कथाबस्तुलाई आख्यान बनाउन भरमग्दुर प्रयाश गरिएको छ।

मैले नेपाली काङ्ग्रेससँग सम्बद्ध ऐतिहासिक–राजनीतिक विषयमा लेखहरू लेख्ने र पढ्ने क्रममा किशुनजीलाई भेटेको छु। पढेको छु। लेखेको छु। त्यसैले कृष्णप्रसाद भट्टराईलाई असल राजनीतिक नेता मानेको छु। राजनीति गर्ने मान्छेको व्यक्तिगत कुनै कुरा हुनुहुँदैन।

सामान्यतया व्यक्तिगत कुरा हुनेबित्तिकै त्यो व्यक्ति असल र उन्मुक्त हुनसक्दैन। त्यसैले किशुनजी जनता भएरै जन्मे, जनता भएरै हुर्के। जनता भएरै आन्दोलनमा लागे। जनता भएरै बाँचे।

जनता भएरै मरे। उनले आफ्ना निजी प्रयोजनका बस्तु जनताबाटै लिए, जे सक्थे जनतालाई नै दिए। आफूले आफूसँग केही राखेनन्। अहिले भ्रष्टाचारले गाँजेको नेपालको परिप्रेक्षमा योभन्दा सादगी पक्ष अरू के हुनसक्छ? यो कुरालाई ज्यादै गहन तरिकाले उजागर गर्नु यो उपन्यासको वैशिष्ट्य हो।

मैले यो पुस्तक पढ्दा उपन्यास पढेझैँ लागेन। इतिहास पढेझैँ लाग्यो। इतिहास हो कि भने, आख्यान पढेजस्तो लाग्यो। आख्यान खोजेँ संस्मरण जस्तो लाग्यो। जे लाग्यो अब्बल लाग्यो। हरेक पाठ मात्र होइन, शब्द शब्द पठनीय लाग्यो। शब्दमाधुर्यले मोहनी लाइरह्यो।

त्यसकारण यो पुस्तक पढ्ने पाठकले यो इतिहास हो कि, संस्मरण हो कि, उपन्यास हो भन्ने जञ्जालमा नपसीकन पढ्नु पर्छ। अनि मात्र यो पुस्तक पढ्दाको आनन्द प्राप्त हुन्छ। हुन त खाँटी पाठकलाई खुराकसँग मतलब हुन्छ, विधासँग के मतलब?

यो पुस्तकले निकै लामो कालखण्डको व्याख्यागरेको छ। केन्द्रमा सन्तनेता भए पनि उपकथाका रूपमा अनेकौँ कथा छन्। यस्तो कथात्मक जञ्जालभएको उपन्यास लेख्न धेरै कम स्रस्टाले मात्र सक्दछन्। तर उपन्यासकार हरि अधिकारीले यो जटिल काम पनि फत्ते पारेर उम्दा स्रस्टाको पहिचानलाई अझ तिखार्नु भएको छ।

अन्त्यमा उपन्यासकार अधिकारीको कलम तिखारिएकै छ, त्यसमाथि अझ तिक्ष्ण हुँदै जाओस्। घच्चीका साहित्यिक कृतिहरू आइरहून, आइरहून। हार्दिक शुभकामना।

 

 

 

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो