कथा : कुकुर्नी हाँसी – Dcnepal

कथा : कुकुर्नी हाँसी

धर्म निरपेक्ष श्रृंखलाको एउटा कथा मेरा हातमा पर्यो। छापामा आउनुपर्ने यो कथा विद्युत पत्रिकामा आएछ। मलाई खासै मिठो लागेन। लाखौंले पढ्न सक्ने थिए चुके भन्ने लाग्यो।  किनभने हाम्रो समाजमा विद्युतीय साहित्य पढ्ने प्रणालीको विकास त्यति फस्टाएको थिएन, त्यसैले मलाई सन्तोष भएन। तैपनि मैले यो कथा पढेँ :

शमीको शीतल छायाको चौतारीमा ग्रामीणजनको भेला बस्यो। मान्छे थपिँदै गए। कार्यक्रम शुरु हुनेवाला थियो। एकजनाले हाते माइक टिपेर भन्यो, ‘यदि पत्रकारहरु यहाँ उपस्थित हुनुभएको छ भने उहाँहरुसँग अनुरोध छ , गाउँका असजिला अफ्ठ्याराहरु हामी आफैँ ठिक पार्छौं, हाम्रो आफ्नै विधि र प्रणाली छ। यहाँहरुको उपचारको खाँचो पर्यो भने हामी हाजिर हुनेछौँ। त्यसैले हाम्रो जीवनलाई विज्ञापन र कमाउको आँगन नबनाइयोस। सकेसम्म हामी जीवन जोड्न चाहन्छौँ, फुटोस भत्कियोस भन्ने कामना राख्दैनौँ। यदि एकता र सद्भाव कायम गर्दा हाम्रो जीवन शैलीले प्रतिगमन गरेको ठहर्छ भने त्यो ठहराउनेकै विवेक मानौँला। त्यसमाथि हाम्रो प्रतिक्रिया हुनेछैन। धन्यवाद।’

अब चौतारी शुरु गरौं। यसतर्फ पनि अनुरोध छ, सभ्य शालीन भाषा शब्द प्रयोग गर्दा पनि प्रतिगामी कदम मानिएला त्यसैले जोगिएर चल्नुपर्ला।
एउटाले बीचैमा प्वाक्क बोल्योः प्रगतिशील हुँ भन्ने कम्निस्टलाई संस्कृत भाषाका शब्द प्रयोग नगरी भाषणा गर, पर्चा लेख, वक्तव्य निकाल भन्यो भने ऊ तुरुन्तै बौलाउँछ। ऊ चाँहि पुराना शब्द प्रयोग गर्दा प्रतिगामी नहुने अनि हामीले गर्दा चाहिं प्रतिगामी देखिने ? यो कस्तो ढक तराजु?

एक जनाले पञ्चगव्य मिसाएर यस प्रसंगको बिट मार्न खोज्यो, ‘यो आँगन उनीहरुको हावा उनीहरुकै विधान र चुनाव प्रकिया मात्रै त प्रजातान्त्रिक हो नि। त्यसो भएपछि प्रजातान्त्रिक भण्डारभित्र पसेर यथेच्छ लुट मचाउनु र भाँडभैलो गर्नु पनि प्रजातान्त्रिक अभ्यास र औचित्य भएन र? जसरी बुझे पनि हुन्छ। त्यसतर्फ छलफल गरौँला अहिले आफ्नै लक्ष्यमा फर्कौँ, नत्र बाटो बिराउने संसद र हाम्रो चौतारीमा फरक के?’
‘ए मुद्दा अगि सार’

‘जी, यी दुई पति पत्नी हुन्। (माफ गर्नुहोला प्रतिगामी शैलीमा पुगेछु) यी लोग्ने र स्वास्नीले आपसमा झगडा गरे, एकले अर्कालाई निषेध गरे, तथानाम गाली पनि गरे, लाग्थ्यो सरकार चलाउने एमाले र सडकमा पुगेर पहिचान दिने एमाले पनि यिनै हुन्। फरक यति हो, यिनले एक अर्कामाथि हात पात गरे। यो चाँहि अलिक बढ्तै भो।’

नारीलाई अग्रता दिएर चौतारीले सोध्यो : जन्तरी के भएको हो ? कसले पहिले हात उठायो?

‘उहाँले नै पहिले मुक्याउन थाल्नुभो, सहन नसकेपछि आज चाँहि मैले पनि भाटैँभाटाले दिएँ।’

‘के कुराका लागि झगडा भो? ’

‘छोरालाई कुकुर्नीको दुध चुस्न लगाई भनेर कुट्नुभो।’

चौतारीको सभा एकपटक स्तब्ध भो।

‘जन्तरे, जन्तरीले भनेको कुरा सही हो? उनले छोरालाई कुकुर्नीको दुध चुस्न लगाएकी हुन्?’

‘सत्य हो, मैले देखेँ । मलाई रिस उठ्यो र हात छोडेँ।’

‘गाईको दुध खोजेनौ र तिमीहरुले?’

‘कहाँ पाउनु गाईको दुध। गाउँमा गाई पाल्ने बाहुन नै हुन्। गाई पाल्नेलाई खूब हेपे। तेरी आमा गाई, तेरो बाबु गोरु, तँ गाईको मूत चाट्ने भनेर तथानाम गाली गरे, अपमान गरे। त्यसपछि गाई पाल्नै छोडे। त्यसो भएपछि गाईको दूध पाउनै सकिएन।’

‘किन्नु पर्थ्यो गाईको दूध? कति खर्च गथ्र्याै दूधमा?’

‘पर्दैनथ्यो। त्यसै दिन्थे नि बच्चाका लागि। मेरो ठूलो छोरा गाईको दूध खाएर हुर्केको हो। हेर्नु न उसको शरीर नै फरक छ । बुद्धि पनि उज्यालो छ । अब योचाहिं खुँचिने भो अँधेरो छ।’ उसले काखको बच्चा देखाएर वाक्य टुंग्याई।

‘तिमीले आफ्नो दूध खुवाइनौ?’

मेरो दूध आउँदैनथ्यो। जीउमा खान्की पुगे दूध आउँदो हो। खै आफू त भोकै पनि भइन्छ, धेरैजसो अनि बच्चाको लागि कहाँबाट आओस् दूध। माहिला छोरा थ्यो दूध नपाएर खस्यो , यो कान्छो हो।

‘किनेर ख्वाएको भए हुन्थ्यो नि। बट्टाको दूध पाइदो हो।’

‘पैसा भए किनिन्थ्यो पनि तर खै।’

‘कसैले दुहुनु गाई दियो भने पाल्न सक्छौ?’

‘हुन त हुँन्थ्यो, चाकर पनि गर्थे दुहुन्थे। मलाई फाप्छ पनि। तर के गर्नु लगिहाल्छन्। काटेर खाइहाल्छन्। जगाउन सकिन्न के। त्यसै भएर त हो नि बाहुनहरुले गाउँ नै छोडेर हिँडे। कम्ती दुख पाएका थिए त।’

‘यो त धर्मको नाममा जातीय उत्पीडन हो नि।’ एउटाले सभाको बीचबाट बोल्यो।

‘आर्यले गाईको पूजा गर्छ, सेवागर्छ। गाईलाई माता भन्छ र लक्ष्मी ठान्छ। गाईमा के गुण छन् र महत्व किन छ भनेर सम्झाउन सकिन्न। गाई चारखुट्टे जनावरमात्र होइन तर बुझ्ने कसले? जो बुझ्थे तिनले पाल्नै पाएनन् अब के गर्ने हो।’

गाइको भक्ति गर्ने पनि त बाँचेकै छन् नि, एउटाले मनको भन्यो

चौतारीको न्यायपीठमा ज्ञानी र विवेकी पात्र पनि थिए। उनीहरुले विधान र राज्यव्यवस्थालाई नै यस स्थितिको भनक नभएको सत्य ठहर गरे।
चौतारीले कम्पनी मार्फत दुइटा दुहुना गाई जन्तरीलाई उपलब्ध गरायो। एउटा निशुल्क र अर्को आधा मूल्यमा। दूध बेचेर किस्ताबन्दीमा गाईको ऋण बुझाउने सहुलियत पाए।

त्यस्तै बीमा र उपचार पनि कम्पनीकै तर्फबाट हुने भो। यसका लागि ठाउँ ठाउँमा क्यामेर जडान भए। दानामा विशेष सहुलियत मिल्यो। गाउँका चार वर्ष मुनिका बालबालिकाहरु पनि लाभान्वित हुँदै गए।

उता कुकुरका छाउरा पनि परिपुष्ट देखिँदै गए। मानव सन्तान पनि ओजस्वी, पुष्ट बुद्धिमा देखिँदै गए।

स्थितिमा निकै निकै परिवर्तन आयो। हिजोसम्म सेना र प्रहरीमा छानिन नसक्ने युवाहरु आज छनोटमा÷चयनमा आउन थाले। विदेशबाट जवान झिकाएर भर्ना लिने काम रोकियो।

कुकुर्नीहरु पनि मानवको उत्पीडनबाट मुक्त हुन पाएकोमा रमाए। स्तनपानको एकाधिकार पुनः स्थापित भएको बुझेर छाउराहरु रमाए।
ईश्वरलाई थ्यांक यू भन्न कुकुर्नी आफ्नो शाखा सन्तानको लस्कर लिएर चर्चतिर लागि, त्यहाँ निषेध थिएन।

जन्तरी दूध चढाउन भगवान आशुतोषकहां पुगी किन्तु त्यहाँ न दर्शन पाई न प्रवेश पाई न दूध स्वीकार भो। ऊ ठाडै फर्की।
किन्तु कुकुर्नी मरीमरी हाँसी किनकि दूध पिउने पालो अब उसैको थियो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो