एनआरएनए अमेरिकाको चुनावमा फेरि लफडा, लम्साल अदालत जाँदै

डिसी नेपाल
१९ वैशाख २०७८ २१:२५

वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनमा पहिलो सूचिमा नाम प्रकाशित भएका एकजना अध्यक्ष पदका उम्मेद्वारको नाम तेस्रो सूचिमा हटाइएको छ।

अध्यक्ष पदमा उम्मेद्वारी दिएका सूर्य लम्सालको नाम संघको विधानविपरीत भएको भन्दै तेस्रौ सूचिबाट हटाइएको हो । मे १ तारिक अपरान्ह निर्वाचन आयोगका अध्यक्ष विश्व बरालको हस्ताक्षरमा प्रकाशित अध्यक्ष पदको मात्र उम्मेद्वारी विवरण अनुसार, अध्यक्ष पदमा कृष्ण लामिछाने, बुद्धि सुबेदी, डा. अर्जुन बन्जाडे र तिलक केसीमात्र उम्मेद्वार हुन पाउने छन्।

प्रथम सूचिमा प्रकाशित लम्सालको नाम प्रमुख निर्वाचन आयुक्त बराल र संघ दुबैका विरुद्ध अमेरिकी अदालतमा मुद्धा दायर गरेको आरोपमा तेस्रो सूचिबाट हटाइएको हो। उम्मेद्वारहरुको दोस्रो सूचि प्रकाशन गर्दा निर्वाचन आयोगले अध्यक्ष पदका उम्मेद्वारहरुको नाम खाली राखेर प्रकाशित गरेको थियो।

आयोगभित्र लम्साललाई उम्मेद्वार बन्न दिने कि नदिने भन्ने कुरामा मत भिन्नता भएपछि दोस्रो सूचिमा अरु पदका उम्मेद्वारको नाम प्रकाशित गरेर अध्यक्षको पछि निर्णय गर्ने सूचना दिइएको थियो।

आयोग स्रोतका अनुसार, लम्साललाई चुनाव उठ्न दिने नदिने भन्नेबारे कानून व्यवसायी र अन्य प्रतिष्पर्धी उम्मेद्वारहरुको लिखित राय माग गरिएको थियो । यसरी राय दिनेमा लम्सालको विपक्षमा वहस गरिरहेको एकजना अमेरिकी वकिलसमेत रहेको बताइएको छ।

सन् २०१९को निर्वाचनमा २०९३ भोट फर्जी खसाएको आरोप लगाउने उनको तत्कालीन र हालका पनि प्रमुख निर्वाचन आयुक्त बराल, संघका अध्यक्ष सुनील साह, तत्कालीन अध्यक्ष डा.केशब पौडेलसहितलार्य निर्वाचनमा धाँधली गरेकोमा मुद्धा दायर गरेका थिए । यो मुद्धा अझै विचाराधीन छ। संस्थालाई मुद्धा दायर गरेको आरोपमा उनलाई उम्मेद्वार हुनबाट बञ्चित गराइएको हो ।

अमेरिकी कानुनअनुसार, जघन्य अपराधमा परेका व्यक्तिवाहेक अरुलाई अमेरिकी कानुनअनुसार दर्ता भएको सामाजिक संस्थामा उम्मेद्वार हुनबाट रोक्न सकिंदैन । मुलुकको कानुनसँग बाझिने गरी विधान संशोधन गरेर लम्साललाई उम्मेद्वार हुनबाट बञ्चित गरिएको छ ।

उम्मेद्वार हुनबाट बञ्चित गरिएका लम्साल फेरि अदालत जाने भएका छन् । उनले अमेरिकी कानुनविपरीत अधिकारको हनन् भएकोमा मुद्धा दायर गर्ने डिसी नेपाललाई बताए। उनले ८ वटा प्रश्नहरु सोध्दै निर्वाचन आयोगलाई पत्र लेखेका छन्। आफूलाई जानकारी नै नदिई आफ्नोवाहेका अरुको नाम उम्मेद्वारका रुपमा प्रकाशित गरेको आरोप पनि लम्सालले लगाएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *