भारतबाट आउनेले यसरी जान पाउँछन् घर, फितलो चेकजाँचले समुदायमा चिन्ता

उपेन्द्र शाही
२२ वैशाख २०७८ ९:२७

काठमाडौं। दक्षिणी नाकाबाट हरेक दिन स्वदेश फर्किने मान्छेको संख्या लर्को लागिरहेको छ। सिमावर्ती अधिकाांश जिल्लामा निषेधाज्ञा जारी भए पछि झनै चुनौती थपिएको छ। यही बेलामा केही दिनदेखि भारतमा कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेपछि स्वदेश फर्किन चाहनेको लाम देखिन्छ।

विहान ६ बजेदेखि भारतीय र नेपाली नागरिकको सीमामा भिड लाग्ने गरेको छ। किनभने विहान १० बजेदेखि राति १२ बजेसम्मका लागि सीमामा आवागमन बन्द गरिन्छ। भारतीय सीमावर्ती नाकाहरुमध्येको महत्वपूर्ण नाका रुपैडिया बाँकेबाट हाल दैनिक करिव २५ सय नेपाली फर्किने गरेका छन्।

फितलो चेक जाँचले बढाएको चिन्ता

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालका अनुसार स्वदेश फर्किएका नागरिकहरुलाई थर्मल गनको आधारमा सिधै घर जान दिइएको छ।

उनले भने,  ‘नाकामा स्वास्थ्य परिक्षण गरिन्छ त्यो भनेको थर्मल गनले ज्वरो नाप्ने हो। ज्वरो नदेखाउनेलाई जुन जिल्लामा जाने हो सोही जिल्लामा पठाउने गरिएको छ। ज्वरो देखाउनेलाई उनीहरुको एण्टिजन परिक्षण गराइन्छ। यदि एण्टिजन परिक्षणमा पोजेटिभ देखिएमा आइसोलेसनमा राख्ने गरिएको छ भने एण्टिजन परिक्षणमा नेगेटिभ देखिएमा त्यतिकै घर पठाउने गरिएको छ।’

साधन स्रोत प्रयाप्त नहुँदा चेक जाँचमा समस्या भइरहेको र हुलमा राख्नु पर्ने बाध्यता भएको उनको भनाइ छ। कोरोना संक्रमणको च्यन ब्रेक गर्नको लागि भनेर धमाधम स्थानीय सरकारहरुले निषेधाज्ञा जारी गरेका छन्।

यतिबेला भारतमा कोरोना संक्रमणले भयावह रुप लिइरहेको छ। त्यही ठाउँबाट स्वदेश फर्किने नेपालीले सिधै घर जान पाउने व्यवस्थाले भाइरसको आगो कतै गाउँमा त सल्किेने होइन भन्ने भय बढेको छ।

त्यस्तै सीमा नाकामा विहान र बेलुका पखमा बाक्लो भिड हुने गरेको छ। होल्डिङ सेन्टर त बनाइएको छ तर, विरामी र विरामी नभएका मानिसहरुलाई एकै ठाउँमा बथान बनाएर राखिएको छ। त्यस्तै उनीहरु जाने गाडिहरुमा पनि ठेलम्ठेल हुन्छ।

यातायात व्यवसायीको मारमा यात्रुहरु

निषेधाज्ञाका कारण सार्वजनिक यातायात बन्द छन्। नाकासम्म धौ धौ पुगेका नेपालीहरु घरको गन्तव्यतिर जान सकस बेहोर्दै आएका छन्। हुन त स्थानीय प्रशासनले यातायात व्यवसायीहरुसँगको सहकार्यमा नाकामा यातायातको व्यवस्था गरेको छ।

तर, यातायात व्यवसायीले यात्रुबाट चर्को भाडा असुल्ने देखि बाटामै अलपत्र पारेर दुख दिइरहेका यात्रुहरु बताउँछन्। उनीरुले घर जानको लागि ४ गुणासम्म बढी भाडा तिरेको बताउने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *