‘कोभिडको नक्कली डाक्टर’को उदय

डिसी नेपाल
२२ वैशाख २०७८ १०:३८

नयाँ दिल्ली (बीबीसी)। भारतमा एक खोपविरोधी अभियन्ताले कोरोनाभाइरस महामारीप्रति चिकित्सा विज्ञानको दृष्टिकोण पूर्ण रूपमा गलत भएको दाबी गरेर चर्चा कमाएका छन्। तर आलोचकहरूले विश्वरूप रोय चौधरीले कोभिड-१९ लाई आहारका माध्यमबाट मात्र निको पार्न सक्ने बताएर मानिसहरूको जीवनलाई खतरामा पारिरहेको बताउँछन्। एड मेन र रेहा कान्साराको रिपोर्ट:

विश्वरूप रोय चौधरी पछि हट्ने मान्छे होइनन्। “मेरो विचारमा अधिकांश मृत्युहरू कोरोनाभाइरसका कारण होइनन् तर यसको उपचारका कारण हुन्,” उनको वेबसाइटमा भएको एउटा भिडिओमा उनी भन्छन्।

उनी भारतका सोसल मिडिया स्टार अथवा पूर्व सोसल मिडिया स्टार हुन्। उनलाई हाल धेरै सामाजिक सञ्जालमा प्रतिबन्धित गरिएको छ। चौधरी पारम्परिक औषधोपचार र चिकित्सकहरू ठूला व्यापारीहरूको गोजी भर्नका लागि डिजाइन गरिएको षड्यन्त्र हो भन्ने दाबी गर्छन्।

“औषधिले कुनै पनि रोग निको पार्न सहयोग गर्दैन,” उनले बीबीसीसँग भने। “म मानिसलाई खोप आवश्यक पर्दैन भन्नेमा दृढ रूपमा विश्वस्त छु।” उनी आफ्नो भिडिओमा आफ्नो आहार योजनाले कोभिड-१९ मात्र होइन मधुमेह र एड्सलाई पनि निको पार्ने दाबी गर्छन्।

उक्त आहार योजनामा धेरै फलफूल र तरकारी समावेश छ। चिकित्सा विज्ञानले ती सबैलाई बकवास भनेको छ। तर चौधरीले आफ्नो सन्देश फैलाउन महामारीलाई प्रयोग गरेका छन्।

उनी आफ्ना अनुयायीहरूलाई अस्पतालहरूले उनीहरूको मृत्युको सम्भावनाहरूलाई बढाउने बताउँछन्। चौधरी सास फेर्न गाह्रो हुने कोभिड बिरामीहरूले अक्सिजन लिनुभन्दा हाते पङ्खाका अगाडि बस्नु राम्रो हुने बताउँछन्।

उनका कैयौँ आलोचकहरूका नजरमा चाहिँ उनी खतरनाक ठग हुन् र उनको गलत सल्लाहले भारतमा देखिएको भयानक दोस्रो लहरको कोरोनाभाइरस सङ्क्रमणलाई अझ बढाउनेछ।

“विश्वरूप रोय चौधरी एक क्वाक हुन्,” भारतको तथ्यजाँच गर्ने वेबसाइट अल्टन्यूजकी विज्ञान सम्पादक डा. सुमैया शेख भन्छिन्। “उनलाई पछ्याउनेहरूको सङ्ख्या ठूलो छ र त्यसले उनलाई अझ बढी खतरनाक बनाउँछ।”

कैयौँ पुस्तकहरू, अनलाइन भिडिओहरू र अनलाइन कोर्सहरू तथा हलहरू भरिने प्रत्यक्ष कार्यक्रमहरूका माध्यमबाट उनको विचारलाई मलजल गरिएको छ। युट्युब, ट्विटर र फेसबुकले गतवर्ष चौधरीलाई प्रतिबन्ध लगाएका थिए।

तर त्यसभन्दाअघि नै उनले युट्युबमा मात्र १० लाख जति फलोअर्स बनाइसकेका थिए। ह्वाट्सएप र टेलिग्राममा भने अझै उनको आधिकारिक च्यानलहरू रहेका छन्। उनलाई मन पराउनेहरूले उनको विचारलाई विभिन्न थप खाताहरू खोलेर पनि फैलाइरहेका छन्।

ह्वाट्सएपले हामीसँग उनीहरूले कोरोनाभाइरसबारेका गलत सूचनाहरू फैलने कुरालाई सीमित गर्नका निम्ति आफूहरूले कडा मेहनत गरिरहेको बताएको छ। टेलिग्रामले चाहिँ हामीले अनुरोध गरे पनि प्रतिक्रिया दिएन।

चौधरीले आफूलाई एउटा चिकित्सा संस्थापनका विरुद्ध लागेको एक हिम्मतिलो शोषित व्यक्तिका रूपमा प्रस्तुत गर्ने गरेका छन्। उनी कोभिड-१९ लाई “अन्य सामान्य रुघाखोकी जस्तो” भएको दाबी गर्छन्। वास्तवमा चाहिँ यो निकै घातक छ।

उनको तर्कविरुद्ध निकै धेरै प्रमाणहरू भए पनि उनी मास्कले भाइरस फैलनलाई नरोक्ने र उल्टै मास्क लगाउनेहरू बिरामी पर्ने दाबी गर्छन्। उनले उर्दू शब्द ‘आजादी’ त्यसको अर्थ ‘स्वतन्त्रता’ भन्ने हुन्छलाई लिएर “मास्कसे आजादी” भन्ने नारा बनाएका छन्।

उनका कैयौँ कोरोनाभाइरस ई-बुकहरूमध्येको एउटामा चौधरीले “खोपले कुनै पनि हिसाबले कसैलाई कहिल्यै सहयोग गरेको प्रमाणित” गर्ने जोकोहीलाई आफूले एक लाख भारतीय रुपैयाँ दिने घोषणा गरेका छन्।

खोपले रोगहरू नियन्त्रण मात्र होइन, अन्त्य नै गर्नका लागि पनि सहयोग गर्छन् भन्ने कैयौँ चिकित्सकीय अनुसन्धानहरूले देखाएका छन् र त्यसबारे दशकौँदेखि कैयौँ अनुसन्धानपत्रहरू पनि प्रकाशित छन्।

तर चौधरीले त्यो सबैलाई बेवास्ता गरेका छन्। चौधरीले करिब एक दशक अघिदेखि उनको विवादास्पद आहार “उपचार” विकास गर्न थालेका थिए। त्यो त उनको रङ्गिन र विविध करियरको केवल एउटा पक्ष मात्र हो।

इन्जिनियरका रूपमा प्रशिक्षित भएपछि उनले बलिवुडमा फिल्म निर्माण क्षेत्रमा प्रवेश मात्र गरेनन् एउटा फिल्ममा त उनी आफैँ हिरोका रूपमा देखा पनि परे। उनी ‘इन्डिया’ र ‘एशिया बुक अफ रेकर्डस्’ दुवैका प्रधान सम्पादक र संस्थापक पनि हुन्।

यी दुवै गिनिज बुक अफ रेकर्डस्‌सँग कुनै पनि नाता नभएका तर उसैको नक्कल गरिएका हुन्। टेक्नोलोजी वेबसाइट ‘रेस्ट अफ द वर्ल्ड’का एकजना पत्रकार निलेश क्रिस्टोफर चौधरी उनकी पत्नी रुघाजस्तै बिरामीका कारण चटपटाउन नसक्ने भएपछि पोषणप्रति आकर्षित भएको बताउँछन्।

“उनले मलाई भने अनुसार उनी धेरै चिकित्सकहरूकहाँ धाए र त्यसको उपचार खोजी गरे तर उनले निको पार्न सकेनन्,” निलेश भन्छन्।

“त्यसपछि उनी आफै जान्ने कोसिसमा लागे। उनी शोधपत्रहरू पढेको र त्यसैका आधारमा यो जादुगरी सूत्र फेला पारेको बताउँछन्। त्यसमा नरिवलको पानी, कागतीजन्य फलफूल र तरकारी सामेल गरिएको आहार समेटिएको छ।”

भारतमा लामो समयदेखि आयुर्वेदिक परम्परा रहँदै आएको छ। त्यसमा खानेकुरा र जडीबुटीहरू प्रयोग गरेर रोगहरूको निदान गरिन्छ। तर चौधरीले आफ्नो सुझाव पछ्याउनेहरूले चमत्कारिक प्रभावहरू प्राप्त गरेको लगातार दाबी गरेका छन्।

“वास्तवमै उनी भारतका सबैभन्दा ठूला र प्रभावशाली क्वाक हुन्,” निलेश भन्छन्। कोभिड-१९ देखिने बित्तिकै उनले त्यसलाई सामान्य रुघाखोकीजस्तो रोग भने र उनको पहिलेदेखि नै तयार तीन चरणको आहारले निको पार्ने दाबी गरे।

उनको आहार योजना किन्नका लागि बिरामीहरूले ५०० रुपैयाँ तिर्नुपर्छ। निलेश उनले ठूलो डिजिटल साम्राज्य खडा गरेको बताउँछन्। चौधरीले आफूले ५० हजार कोभिडका बिरामीलाई निको पारेको दाबी गर्छन्।

तर दिल्ली मेडिकल काउन्सिलका अध्यक्ष डा. अरुण गुप्ता अधिकांश व्यक्तिहरू भाइरसमुक्त भएको बताउँछन्। उनी ती व्यक्तिहरूले के खाए भन्नेको अर्थ नभएको तर्क गर्छन्। उनी ९७ प्रतिशत बिरामी कुनै पनि चिकित्सकीय हस्तक्षेपविनै निको भएको स्मरण गराउँछन् र यस्ता गलत सूचना फैलन नदिन थप कार्य गर्नुपर्ने बताउँछन्।

यद्यपि चौधरीमाथि एउटा विशेष दाबीबारे अनुसन्धान भइरहेको छ। उक्त दाबीका कारण एक व्यक्तिको ज्यानै गएको थियो। त्यो उजुरी दिल्लीका इन्जिनियर जयदीप बिहानीले गरेका हुन्। उनले सन् २०१७ मा आफ्नी आमा शान्तिको निधनका लागि चौधरीलाई जिम्मेवार ठान्दै उजुरी दिएका छन्।

बिहानीले बीबीसीसँग आफ्नी आमाको मृत्युका लागि चौधरीलाई शतप्रतिशत दोषी रहेको दाबी गरे। उनकी ५६ वर्षीया आमा मधुमेह, मुटुरोग र थाइरोइडबाट पीडित थिइन्। अनलाइनमा चौधरीबारे थाहा पाएपछि मधुमेह निको पार्नेबारे जान्न एउटा तीनदिने कार्यक्रमका लागि उनले ठूलो रकम तिरे।

दिल्लीको बाहिरी क्षेत्रमा भएको उक्त कार्यक्रमको पहिलो साँझ चौधरीले एउटा भिडिओमा आफ्ना दर्शकलाई उनीहरूले लिइरहेको औषधि लिन बन्द गर्न भने। उनले सबैलाई एउटा मेडिकल अरेन्ज बक्स भनिनेमा आफ्ना औषधिहरू राख्न भने र त्यो कहिल्यै खोल्नु नपर्ने बताए।

एकदमै खराब स्वास्थ्य अवस्था भएका कसैलाई अत्यावश्यक भएमा औषधि दिने बताइएको थियो। बिहानीकी आमाले कैयौँ औषधिहरू खाइरहेकी थिइन्। अरेन्ज बक्समा औषधि राखिएपछि उनले औषधि खाना पाइनन्।

दोस्रो दिन उनलाई रिँगाटा लागेको अनुभव भयो र अन्तत: उनी बेहोस भइन्। उनलाई अस्पताल लगियो, त्यहाँ हृदयाघातबाट उनको निधन भयो। बिहानीले उजुरीमा चौधरीले गलत रूपमा आफूलाई चिकित्सक बताएको, ठगीपूर्ण उपचार गरेको र आकस्मिक सेवा दिन नसकेको आरोप लगाएका छन्। चौधरीले ती सबै आरोप अस्वीकार गरेका छन्।

विश्वरूपको वेबसाइटमा उल्लेख भएको उनको सबैभन्दा महत्त्वपूर्ण योग्यता भनेको जाम्बियाको अलायन्स इन्टरन्याश्नल विश्वविद्यालयबाट मधुमेहमा मानार्थ पीएचडी प्राप्त गरेको उल्लेख छ। उक्त संस्थाको वेबसाइटअनुसार त्यसको केन्द्रीय कार्यालय अफ्रिकामा होइन क्यारेबियनमा रहेको छ।

उक्त डिग्रीकै आधारमा उनले आफूलाई डाक्टर भन्ने पाएका छन्। यद्यपि त्यसबारे हाम्रो प्रश्नको जवाफ उनले दिएनन्। बिहानीको आरोपबारे चौधरीका एकजना प्रवक्ताले उनकी आमा धेरै बिरामी भएकी र सधैँ पान मसला चपाइरहन्थिन् भनेका छन्। त्यसलाई बिहानीले अस्वीकार गरे।

ती प्रवक्ताले बिहानीले उक्त कार्यक्रमभरि आफैँले आमाको औषधि दिएको बताएका छन् तर बिहानीले त्यस्तो नभएको भन्दै अस्वीकार गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *