मलाइ विश्वासको मत नदिनुस्, तटस्थ बस्नुस् : प्रधानमन्त्री

मदन कोइराला
२२ वैशाख २०७८ १२:४०

काठमाडौं। संसदको विशेष अधिवेशनमार्फत संसदमा विश्वासको मत मागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सहयोगी भनेर चिनिएको जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग विश्वासको मत नदिन र तटस्थ बस्न आग्रह गरेका छन्।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा जसपा नेता राजेन्द्र महताेले वैशाख २७ अगाडि नै संविधान संशोधन प्रस्ताव अगाडि बढाउन र त्यसपछि मात्रै विश्वासको मत दिने विषयमा निर्णय लिन सकिने बताएपछि प्रधानमन्त्री ओलीले आफूले जसपासँग विश्वासको मत नमागेको र विश्वासको मत नदिइ तटस्थ बस्न आग्रह गरेको स्रोतले जनाएको छ।

‘मैले अहिले तपाईँहरुसँग विश्वासको मत मागेको छैन, तपाईँहरुले विश्वासको मत नदिनुस्, तपाईँहरु तटस्थ बस्नुस्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

सोमबार बालुवाटारमा सरकार र जसपा कार्यदलबीच बैठक बस्न तय भयो। उक्त बैठकमा जसपका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पनि सहभागी थिए। त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओली पनि केही बेर सहभागी भए। उक्त बैठकमा मधेस आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिको मुद्दा फिर्ता विषयमा छलफल भयो।

जसपाले सरकारलाई २५ मुद्दा फिर्ताका लागि सरकारलाई लिस्ट दिएको थियो। ती मध्ये १७ वटा मुद्दा फिर्ता भइसकेका छन्। मन्त्रिपरिषदले मुद्दा फिर्ता लिइसकेपछि पनि अदालतबाट फैसला भएका मुद्दा अझै जिल्ला अदालत र सिडियो कार्यालयमा प्रक्रिया पुग्न बाँकी रहेकाले कानुनी जटिलता उत्पन्न भएको कार्यदलले शीर्ष नेताहरुलाई जानकारी गरायो। त्यसपछि प्रधानमन्त्री ओलीले त्यसको आवश्यक पहल गरेर मद्दा फिर्ता लिन सहजीकरण सरकारी कार्यदललाई निर्देशन दिए।

मैले तपाईँहरुसँग विश्वासको मत मागेको छैन। तपाईँहरुले विश्वासको मत नदिनुस्, तटस्थ बस्नुस् : प्रधानमन्त्री 

कार्यदलस्तरीय बैठक सकिएपछि प्रधानमन्त्री ओली, महन्थ ठाकुर र राजेन्द्र महतोबीच छुट्टै छलफल भयो। उक्त छलफलमा जसपा नेता महतोले वैशाख २७ गते अगाडि नै संविधान संशोधन गर्न उच्चस्तरीय कार्यदल गठन गर्न प्रस्ताव गरेका थिए।

उक्त कार्यदल बनेपछि जसपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा निर्णय गर्ने महतोले बताएका थिए। बैठकमा सहभागी भएका एक नेताका अनुसार जवाफमा प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्ने विषयमा हतार गर्न नहुने भन्दै वैशाख २७ अगाडि नै कार्यदल गठन गर्न विज्ञ व्यक्तिको अभाव हुने जनाएका थिए।

‘संविधान असंशोधनीय विषय होइन, यो आवश्यकता र औचित्यको आधारमा संशोधन गर्न सकिन्छ। संविधान संशोधन जस्तो विषयमा हतार गरेर हुँदैन। अहिले नै कार्यदल गठन गर्न विज्ञव्यक्ति चाहिन्छ, त्यसकारण अहिले यो विषयमा हतार नगराैं,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मैले तपाईँहरुसँग विश्वासको मत मागेको छैन। तपाईँहरुले विश्वासको मत नदिनुस्, तटस्थ बस्नुस्।’

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने घोषणा गरेका छन्। ओलीले विश्वासको मत प्राप्त गर्न जसपाको सहयोग आवश्यक पर्छ। किनभने नेपाली कांग्रेस र माओवादी केन्द्रले विश्वासको मत लिने निर्णयलाई असफल पार्ने निर्णय गरिसकेका छन्।

तर एमाले  संसदीय दलका उपनेता सुवास नेम्वाङ भने प्रधानमन्त्रीले संसदमा विश्वासको मत प्राप्त गर्ने बताउँछन्। एमालेभित्र प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा कुनै विवाद नभएको दाबी गर्दै नेम्वाङले जसपाका मागप्रति सरकार सकारात्मक रहेको र कतिपय माग पूरा हुने अवस्थामा रहेका कारण जसपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने अपेक्षा गरेको बताए।

ओलीलाई महन्थ र उनको समूहको विश्वासको मतको पक्षमा मत चाहिएको छैन। बरु, ओली विश्वासको मत असफल होस् भन्ने चाहन्छन्। विश्वासको मत असफलमात्र होइन, उनको विपक्षमा कांग्रेस नेतृत्वको सरकारका लागि पनि बहुमत नपुगोस् र त्यसका लागि मधेसी दलले ग्यारेन्टी गरोस् भन्ने चाहन्छन् ओली।

तर ओलीलाई समस्या उनकै दल नेकपा एमालेभित्र छ। एमालेको माधव नेपालपक्षले शेरबहादुर देउवाको गठबन्धनका पक्षमा मतदान गरिदियो भने के गर्ने भन्ने समस्या भने ओलीलाई परेको छ। देउवाले बहुमत पाए भने बहुमतको प्रधानमन्त्रीका हैसियतले देउवाले डेढ बर्ष शासन गर्ने र नयाँ चुनाव गराउने स्थिति बन्छ।

यो परिस्थिति नआओस् र आफूले पनि विश्वासको मत नपाइसकेपछि ठूलो दलको नेताको हैसियतले अल्पमतको प्रधानमन्त्री बनी संविधानअनुसार नै फेरि प्रतिनिधिसभा विघटन गरेर आगामी मंसीरमा नयाँ चुनाव गराउने योजनामा ओली रहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *