रनभुल्लमा देउवा

डिसी नेपाल
२३ वैशाख २०७८ ९:२७

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले रनभुल्लमा छन्। पार्टी भित्रकै सहकर्मीले फरक फरक विषयमा दबाब दिएर यसअघि नै अल्मलाइरहेका देउवाको काँधमा अहिले देशलाई समेत दिशा दिने जिम्मेवारी आइपरेको छ।

माओवादी केन्द्र, जसपाको एउटा समूह र नेकपा एमालेभित्रकै माधव नेपाल समूहले देउवालाई एकातर्फ लैजान चाहन्छन्। प्रधानमन्त्री केपी शर्मा, ओली र जसपाको अर्को समूह देउवालाई अर्कोतर्फ लैजान चाहन्छ।

दुई राजनैतिक समूहको तानातानमा देउवा कता जाने भन्ने अन्योलमा छन्। माओवादी, जसपाको उपेन्द्र यादव, बाबुराम भट्टराई समूह र एमालेको माधव नेपाल समूह प्रधानमन्त्री ओलीलाई जसरी पनि प्रधानमन्त्रीबाट हटाउन चाहन्छ।

यसको लागि उनीहरुले देउवालाई अविश्वासको प्रस्ताव ल्याउन बारम्बार आग्रह गरेका थिए। यो आप्रहलाईै देउवाले प्रस्ट शब्दमा अस्वीकार त गरेनन् तर उनीहरुले चाहेजस्तो गरी अविश्वासको प्रस्ताव ल्याउने अग्रसरता पनि देखाएनन्।

प्रत्यक्ष रुपमा अस्वीकार नगरे पनि परोक्ष रुपमा भने यो समूहको आग्रहलाई अस्वीकार गरेका देउवालाई अहिले यो समूहले पुनः साथ दिन आग्रह गरिरहेको छ। प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसदमा लगेसँगै संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिने र अल्पमतमा पार्ने यो समूहको कसरत छ। यसका लागि यो समूहलाई अनिवार्य देउवाको साथ चाहिन्छ।

ठूलो राजनैतिक हलचलको सुरुवाती चरणमा सरकारले संवैधानिक निकायका प्रमुख र पदाधिकारी नियुक्त गर्दा देउवाले प्रस्ताव गरेका व्यक्तिहरु समेत पर्नु, देउवाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजान चासो नदेखाउनु, पार्टीको दबाबका अगाडि पछि हटे पनि देउवाको भित्री चाहना नयाँ निर्वाचनमै जाने आशयको देखिनुले यी दुईबीच केही हदसम्म साझेदारी भएको बुझ्न गाह्रो छैन।

अर्कोतर्फ प्रधानमन्त्री ओलीले समेत देउवाको साथ खोजेका छन्। बुधबार प्रधानमन्त्री केपी शर्मा ओली आफू निकटका नेतासहित देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए। प्रधानमन्त्री ओलीले त्यहाँ वैशाख २७ गते आफ्नो पक्षमा विश्वासको मत माग्न गएपनि ओलीले कांग्रेस नेताहरुसँग वैशाख २७ पछि सहकार्य गर्ने गरी अगाडि बढ्नु पर्ने बताएका थिए।

कांग्रेसले विश्वासको मत नदिने पहिला नै निर्णय गरिसकेकाले देउवाले पार्टीको निर्णय भन्दै विश्वासको मत नदिने बताएका थिए। अहिले नेपाली राजनीतिमा देउवा ‘मास्टरकार्ड’ हुन्। उनी जता ढल्किन्छन् उतै राजनैतिक शक्ति पनि ढल्किन्छ। सत्ता र शक्तिको साँचो अप्रत्यक्ष रुपमा देउवाको हातमा भएकोले अहिले देउवा सबैको लागि संजीवनीका रुपमा देखिएका छन्।

यतिबेला देउवा सत्ता पक्ष र प्रतिपक्ष दुवैको समूहको प्राथमिकतामा छन्। सत्ताबाट बाहिरिएको माओवादी केन्द्र र पार्टीबाट कारवाहीमा परेको माधव नेपाल पक्षको प्राथमिकतामा त देउवा थिए नै, अहिले आएर सत्तापक्षको प्राथमिकतामा पनि देउवा परेका छन्।

नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ। यस्तोमा देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कदम चाल्लान् भन्ने विश्वास गर्न गाह्रो छ। तर, देउवाले माओवादीसहितको समूहको चाहनाअनुसारको कदम चाल्लान् भन्ने पनि यत्तिकै विश्वास गर्न सकिन्न। यदि यो समूहको चाहनाअनुसार देउवा चल्ने भए यसअघि अविश्वासको प्रस्ताव ल्याउन आनाकानी गर्ने थिएनन्।

प्रधानमन्त्रीले देउवालाई बैशाख २७ पछि रणनैतिक साझेदारी गर्ने प्रस्ताव गरेका छन्। यी दुईबीच केही विषयमा सहकार्य अहिले पनि छ भन्ने बुझ्न गाह्रो छैन।

ठूलो राजनैतिक हलचलको सुरुवाती चरणमा सरकारले संवैधानिक निकायका प्रमुख र पदाधिकारी नियुक्त गर्दा देउवाले प्रस्ताव गरेका व्यक्तिहरु समेत पर्नु, देउवाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजान चासो नदेखाउनु, पार्टीको दबाबका अगाडि पछि हटे पनि देउवाको भित्री चाहना नयाँ निर्वाचनमै जाने आशयको देखिनुले यी दुईबीच केही हदसम्म साझेदारी भएको बुझ्न गाह्रो छैन।

उता माओवादी, माधव नेपाल समूह र जसपाको एक समूहको चाहना तत्कालीन मात्रै हो । उनीहरु प्रधानमन्त्री ओलीसँग रिस फेर्न चाहन्छन्। जसरी पनि प्रधानमन्त्री ओलीलाई अपदस्थ गर्ने प्रयासमा लागेको यो समूहसँग प्रधानमन्त्री अपदस्थ भएपछिको रणनीति छैन। ओली प्रधानमसन्त्रीबाट हटिहाले भने त्यसपछि देउवालाई समर्थन गरेर प्रधानमन्त्री बनाउने बाहेक यो समूहसँग थप कुनै एजेण्डा छैन।

देउवा यही संसदबाट नयाँ सरकार बनाएर यो प्रतिनिधिसभालाई पूर्ण कार्यकाल काम गर्न दिने पक्षमा छन् वा नयाँ निर्वाचनको पक्षमा। देउवाको यही निर्णयले राजनीतिको आगामी समीकरण निर्धारण गर्नेछ। देउवाले ओलीबाहेकको अर्को कुनै प्रधानमन्त्रीको नेतृत्वमा यो प्रतिनिधिसभाको कार्यकाल पूरा हुन दिन चाहेमा उनले माओवादीलगायतको समूहलाई साथ दिन सक्छन्।

यसअघि नै प्रधानमन्त्री बन्न इच्छा नदेखाएका देउवाले यो कुरा पक्कै बुझेका छन् र प्रधानमन्त्री बन्नकै लागि उनी लालायित होलान् जस्तो पनि देखिँदैन। तत्कालका लागि वैशाख २७ मा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा सम्भवतः उनले विश्वासको मत पाउन पनि सक्छन् नपाउन पनि सक्छन्।

एमालेका कुनै पनि सांसदले धोका दिएनन् र जसपाको महन्थ ठाकुरसहितको समूहले विश्वासको मत दिए उनले विश्वासको मत पाउँछन्। धोका भए उनले विश्वासको मत पाउने छैनन् र सरकार अल्पमतमा पर्नेछ। यो कुरा स्वयं प्रधानमन्त्रीले पनि बुझेका छन्। त्यसैले केही दिनअघि उनले ‘मलाई विश्वासको मत नदिनुस्, तटस्थ बस्नुस्’ भनेका थिए।

यहाँनिर ध्यान दिनुपर्ने कुरा के हो भने देउवा यही संसदबाट नयाँ सरकार बनाएर यो प्रतिनिधिसभालाई पूर्ण कार्यकाल काम गर्न दिने पक्षमा छन् वा नयाँ निर्वाचनको पक्षमा। देउवाको यही निर्णयले राजनीतिको आगामी समीकरण निर्धारण गर्नेछ। देउवाले ओलीबाहेकको अर्को कुनै प्रधानमन्त्रीको नेतृत्वमा यो प्रतिनिधिसभाको कार्यकाल पूरा हुन दिन चाहेमा उनले माओवादीलगायतको समूहलाई साथ दिन सक्छन्।

यदि निर्वाचन चाहेका हुन् भने उनी ओली अल्पमतमा परेको अवस्थामा अर्को सरकार बनाउनका लागि अग्रसर नभइदिन सक्छन्। तर, सबैभन्दा महत्वपूर्ण कुरा हो–देउवा स्वयं यी दुईमध्ये कुन बाटो रोज्ने भन्ने विषयमै अलमलमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *