ओली र नेपाललाई मिलाउने अन्तिम प्रयास, दुबैतर्फका नेताहरु सक्रिय
काठमाडौं। एमालेमा चर्किरहेको विवाद क्लाइमेक्सतर्फ जाँदैछ। यही २७ वैशाखमा संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतमा मतदान हुँदा वा त्यसअघि नै एमालेमा फागुन २३ पछि उत्पन्न कलहको क्लाइमेक्स देखिनेछ।
र पट्यार लाग्दो एमाले विवादको श्रृंखला अन्त्य हुने लगभग पक्का छ। तर, त्यसको नतिजा के? अहिले सबैको चासोको विषय बनिरहेको छ। देश कोरोनाको भूमरीमा फसेपनि सत्तारुढ दल एमालेमा चर्केको विवादले कोरोनालाई छायाँमा पारिदिएको छ।
पर्दामा एमालेको विवादमात्र देखिएको छ। एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच चर्केको विवादले पार्टी विभाजनकै डिलमा पुगेकाले २७ गतेको विश्वासको मतको प्रस्ताव निर्णायक बन्ने अनुमानका बीच एमालेका दुबै समूहका नेताहरु पार्टी जोगाउन भन्दै सक्रिय भएका छन्।
उनीहरु ओली र नेपाललाई मिलाउन अन्तिम कसरतमा लागेका छन्। ओली समूहमा रहेका सफ्ट लाइनका नेताहरु प्रदीपकुमार ज्ञावलीलगायत १२ जनाको समूहले बुधबार प्रधानमन्त्री ओलीलाई भेटेर कुनै पनि हालतमा पार्टी विभाजन गर्न नहुने भन्दै दुई नेताहरुलाई मिल्न दबाब दिएका छन्।
उनीहरुले एमाले विभाजन हुँदा कसैको पनि भलो नहुने भन्दै पार्टी एकजुट बनाउन लचक हुनुपर्ने ओलीलाई सुझाव दिएको बालुवाटार निटक स्रोतले बताएको छ। तर ओलीले उनीहरुको कुरा सुने कुनै योजना भने बताएनन्। यतिमात्र होइन बुधबार नै माधव समूहमा रहेका नेता योगेश भट्टराई र गणेश पहाडीले उपप्रधानमन्त्री तथा एमाले महासचिब ईश्वर पोखरेलसँग छलफल गरेका छन्।
छलफलका क्रममा भट्टराई र पहाडीले पार्टीमा मिलेर जाने वातावरण बनाउनुपर्ने सुझाव दिएका छन्। उनले दुई शीर्ष नेताबीच सहमतिका लागि पहल गर्नुपर्ने सुझाव दिएका छन्। पोखरेलले पनि आफ्नोतर्फबाट सक्ने गर्ने बतााएका छन्। उता ओली निकट विष्णु पौडेल र नेता निकट सोमप्रसाद पाण्डेबीच निरन्तर छलफल चलिरहेको स्रोत बताएको छ। दुबैजना नेता लुम्बिनीका हुन्।
र दुबै नेताले आफ्नो समूहका शीर्ष नेतालाई सुझाव दिने हैसियत पनि राख्छन्। पौडेल र पाण्डेबीच हुने छलफलले ओली र नेपाललाई फेरि वार्ताको टेबुलमा फर्काउन सक्ने अनुमान गरिएको छ। अहिले अध्यक्ष ओलीले पार्टीमा एकलौटी निर्णय गर्दै आएका छन् भने नेपाल समूहले देशरभर समानान्तर गतिविधि गरिहेको छ।
२७ वैशाखमा प्रधानमन्त्रीले राखेको विश्वासको मतमा मतदान हुने भएकाले अल्पमतमा रहेका प्रधानमन्त्री ओलीलाई सिंगो एमाले र अन्य पार्टीकोसमेत सहयोग आवश्यक छ। तर, यो बीचमा माधव नेपाल समूहले सामूहिक राजीनामा वा फ्लोर क्रस गर्ने चर्चा चलेको छ। तर, सो समूहका नेताहरुले भने यो विषयको खण्डन गरिसकेका छन्।
ओली समूह र माधव समूहमा केही नेताहरु हार्ड लाइनर छन्। जसले कडा कदम चाल्नुपर्ने मत राख्छन्। केही नेताहरु सफ्ट लाइनर छन् जसले पार्टी जोगाउन लचिलो हुनुपर्ने मत राख्छन्।
तर, अध्यक्ष तथा प्रधानमन्त्री ओलीकै यो विषयमा महत्वपूर्ण भूमिका हुने भएकाले उनले कस्तो रणनीति बनाउँछन् त्यसैले एमालेको भविश्य निर्धारण गर्नेछ। माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले त सार्वजनिक रुपमै भनिसकेकी छन् हम तो डुबेंगे सनम तुमको भि ले डुबेंगे।
No ads found for this position


Facebook Comment