कोरोना महामारी अस्पतालमा लुटतन्त्र

सम्भव सिंह ठकुरी
२३ वैशाख २०७८ १४:४५

काठमाडौं। मुलुकभर कोरोना महाकारीको दोस्रो लहर भुसको आगो जस्तै फैलिएको छ। बुधबार मात्र ८ हजार छ सय पाँच जना संक्रमित भएका छन्। नेपालमा हाल सम्मकै उच्च संक्रमित संख्या हो।

यसरी दैनिक रुपमा संक्रमित संख्या बढ्दै जाँदा मुलुकको स्वास्थ्य प्रणाली नै अस्तव्यस्त भएको छ। सिलिण्डर नपाएर संक्रमित छटपटाइरहेका समाचार सार्वजनिक भएका छन्।

यस्तो अवस्थामा राजधानी काठमाडौंका केही ठूला निजी अस्पतालले भने आपतको बेलामा बिमारीबाट लुटतन्त्रको शैलीमा शुल्क उच्च बनाएका छन्।

आइतबार बैसाख १९ गते साँझ ६ बजेबाट लागू हुनेगरी काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड अस्पतालमा कोरोना क्याबिनमा उपचार शुल्क एक दिनको २० हजारदेखि ३० हजार रुपैयाँसम्मको शुल्क तोकिएको अस्पतालको सूचनामा उल्लेख गरिएको छ।

त्यस्तै काठमाडौंकै अर्को निजी अस्पताल ह्याम्समा कोभिड–१९ को उपचार सम्बन्धी मञ्जुरीनामा ‘म मेरो बिरामीलाई आफ्नो इच्छा अनुसार यस अस्पतालमा उपचार गराउन चाहन्छु। यस अस्पतालमा उपचारको क्रममा लाग्ने सम्पूर्ण खर्च स्वयंम बेहोर्ने छु। तथा यस बारे उजुर बाजुर गर्ने छैन’ भनी मञ्जुरी पत्रमा सामान्य बिरामी वार्डको सात हजार देखि आईसियू बेडको २२ हजार सम्मको शुल्क तय गरिएको छ।

यसरी यी अस्पतालहरुले कोरोनाको यस महामारीमा दशैँ मनाएर झैं संक्रमितसँग चर्को शुल्क उठाई लुटतन्त्र मच्चाएका छन्। कोरोनाले मानिसको दैनिक जीवन असहज बन्दै गरेको बेला अस्पतालहरुले यसरी लुटको शैलीमा उत्रिए पछिसाजिक संन्जालहरुमा सरकार र यी अस्पतालको चर्को विरोध भएको छ।

यद्यपी स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि तोकिए भन्दा धेरै शुल्क लिने अस्पतालहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले बुधवार एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘मन्त्रालयले निजी अस्पतालहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएमा स्थानीय प्रशासन र मन्त्रालयलाई जानकारी दिन आग्रह गर्दछु।’

यदि निर्धारण गरेको भन्दा बढी शुल्क लिएको जानकारी भएका कडा कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ। संकटको बेला एक अर्कालाई सेवा भावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने र समस्या बढाउने कार्य भएको गुनासो आएको भन्दै त्यस तर्फ मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

के भन्छन् त काठमाडौं जिल्ला प्रशासन कार्यलय?
निजी अस्पतालको यो लुट शैलीमा शुल्क उठाउने अस्पताललाई कस्तो कारबाही हुन्छ? भन्ने प्रश्नमा काठमाडौं प्रमुख जिल्ला प्रशासन अधिकारी कालीप्रसाद पराजुली भन्छन्, ‘यो विषयमा हामीलाई उजुरी आएपछि सोही अस्पतालहरुलाई बुधबार नै स्पष्टीकरण मागिसकेका छौँ। अब अस्पतालले दिएको जवाफको आधारमा स्वस्थ्य मन्त्रालय सँग सहकार्य गरेर हामी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउँछौ।’

उनले नागरिकको स्वस्थ्यमा गम्भिर असर पार्ने यो महामारीमा सबै मिलेर परास्त गर्नुपर्नेमा केही अस्पतालले मौकामा चर्को शुल्क असुलेर गलत काम गरिरहेको बताए।

‘अब अस्पतालले दिने स्पष्टीकरणको आधारमा हामी चाँडै कारबाहीको मापदण्ड बनाउँछौं।’ यस्तो अवस्थामा यस्ता खाले गलत कार्य भएको छ भने जिल्ला प्रशासन कार्य र संबन्धित निकायलाई जानकारी दिन उनले आग्रह गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *