दीपक मनाङेले गरे खेलकूद परिषद्को प्रशासनिक भवन शिलान्यास

डिसी नेपाल
२३ वैशाख २०७८ २०:२६

कास्की । गण्डकी प्रदेश खेलकूद परिषद्को प्रशासनिक भवन निर्माण गरिने भएको छ । पोखरा रङ्गशालाभित्र निर्माण गरिने भवनको आज गण्डकी प्रदेशका युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले शिलान्यास गरे ।

प्रदेश सरकारको रु ४० लाख लागतमा स्टिल संरचनामा सभाहल सहित ११ कोठाको भवन आगामी तीन महिनाभित्रमा निर्माण गरिसकिने प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए ।

गत फागुनमा प्रदेश सदस्य सचिव सहित परिषद्का पदाधिकारी र सदस्यहरु नियुक्त भएपनि पूर्वाधार अभावमा उनिहरुको पदस्थापन हुन सकेको छैन । कार्यक्रममा युवा तथा खेलकूदमन्त्री गुरुङले खेलाडीहरुका लागि छात्राबास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना आफूले बनाएको बताए ।

विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकूद रहेपनि अहिले खेलकूद मन्त्रालय छुट्टै भएकाले खेल क्षेत्रलाई व्यवस्थित विकासका लागि काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री गुरुङले गण्डकीका ११ वटै जिल्लामा रहेका खेलकूदको सम्पत्ति तथा पूर्वाधारहरुको यकिन विवरण खोजी गर्ने काम अघि बढाइने जानकारी दिए ।

उनले भने,“हामी नियुक्त भएर आएको एक साता मात्र भएको छ । अब हामी प्रदेशको ११ वटै जिल्लामा कहाँ कहाँ खेलकूदको सम्पत्ति त्यसको खोजीनीतिमा लाग्ने छौँ । त्यस सम्पत्तिलाई खेलाडी र युवाको उपयोगमा लगाउने योजना छ ।”

कोरोना महामारीमा पनि आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाएर खेल पूर्वाधार निर्माणलाई अघि बढाइने मन्त्री गुरुङले जानकारी दिए ।

खेलकूद परिषद्का सदस्य सचिव गुरुङले कोरोना महामारीका कारण सीमित व्यक्तिहरुको उपस्थितिमा शिलान्यासको कार्यक्रम आयोजना गरिएको बताए ।

“खेलकूद परिषद्को प्रशासनीक भवनको आज शिलान्यास हुनु हाम्रा लागि खुःशीको दिन हो । अत्यावश्यक भवन निर्माणपछि परिषद्को काम कारवाहीलाई थप व्यवस्थित बनाउन सहज हुनेछ । ” उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *