बस पार्कमा अझै घर फर्किनेहरुको घुइँचो, यात्रुहरुबाट पाँच गुणा बढी भाडा असुलिँदै

उपेन्द्र शाही
२३ वैशाख २०७८ २१:३७

काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ। भाइरसको दोस्रो चरणको संक्रमण बढिरहेकाले ‘चेन ब्रेक’ गर्न काठमाडौं उपत्यकागायत ५० बढी जिल्लामा निषेधाज्ञा जारी छ। अत्याआवश्यक बाहेकका सरकारी र नीजि सवारी साधनहरु बन्द छन्।

तर, काठमाडौंको गोंगबु बसपार्कमा भने न त नियम बनाइएको छ न त निर्देशन नै मानिएको छ। सोही कारण निषेधाज्ञाको उल्लंघन गर्दै दैनिक हजारौं मानिसहरुले उपत्यका छोड्दै आएका छन्। एक त उनीहरुले गाउँमा संक्रमण फैलाउने जोखिम छ भने अर्कोतिर चर्को भाडा तिर्न बाध्य छन्।

यो सिलसिला उपत्यका निषेधाज्ञाको पाचौं दिन बिहीबार पनि देखियो। दिनभर फाट्ट फुट्ट मान्छे रहेको बसपार्कमा बेलुकी चार बज्नासाथ मान्छेको लर्को लाग्न थाल्यो। यात्रु र बस चालकबीच समूह समूहमा बार्गेनिङ चलिरहेको छ। नियमन गर्ने निकाय नहुँदा उनीहरुले ५ गुणासम्म बढी भाडा लिने गरेको पाइएको छ। उक्त ठाउँमा काम गर्ने गार्डका अनुसार बुधबार मात्रै अत्तरिया जाने यात्रुबाहक बसले एक जना बराबर ५ हजार रुपैयाँ लगेको थियो। जबकी त्यँहा सामान्य अवस्थामा १५ सय रुपैयाँमा भाडा लाग्ने गरेको छ।

बिहीबार पनि चालक तथा सहचालकहरुले दुई गुणा, तीन गुणा अझै त्यो भन्दा धेरै भाडा उठाइरहेका थिए। बस चालकहरु आज पनि त्यही भन्दै थिए, जुन हिजो भनिरहेका थिए। उनीहरुले ‘भोलिबाट सरकारले एकदम कडा गर्छ, यो नै अन्तिम गाडि हो,’ भन्दै ठग्दै गरेका थिए। उनीहरुले त्यो कुनै नियमको आधारमा नभई केवल मान्छेको अनुहार हेरेर भाडा निर्धारण गर्ने गरेका छन्।

स्वास्थ्य सुरक्षाका मापदण्डको धज्जी उडाउँदै यात्रुहरु कोचाकोच गरेर जान बाध्य छन्। उनीहरुले सिट क्षमताको भन्दा धेरै यात्रु ओसारी रहेका छन्। गोगंबु बसपार्क भित्रबाट मात्रै बिहीबार कर्णाली र सुदुररपश्चिम जाने ५ वटा बस छुटेका छन्। त्यस्तै गंगा हल बालाजुबाट पूर्व जाने बसहरुको पनि लाम लाग्ने गरेको छ। त्यस्तै बिजी मल अगाडिबाट पोखरा लगाएतका ठाउँ जाने मान्छेहरुको पनि घुइचो लाग्ने गरेको छ।

काठमाडौंका सिडियो भन्छन् ‘ट्राफिकलाई जिम्मा’

निषेधाज्ञाकाबीच सर्वसाधारणहरुको भीड लागिरहँदा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली भने आपत विपदमा परेका मानिसहरु मात्रै घर जाने गरेको बताउँछन्। उनले आपत विपदमा परेकाहरु ट्राफिक प्रहरीको सहायतमा घर जाने गरेको बताए।

घर जाने मानिसहरुका लागि निषेधाज्ञापूर्व नै दुई दिनको समय दिइसकेको बताउँदै उनले बसपार्कबाट जाने मानिसहरुको बारेमा अनभिज्ञता जनाए। यदि त्यस्तो भएमा कारवाही गरिने उनको भनाइ छ।

काठमाडौं उपत्यका लगायत निषेधाज्ञा जारी भएका जिल्लामा अत्यावश्यक सेवाका सवारी साधन मात्र सञ्चालन भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको दावी छ। महाशाखाका डिएसपी तथा सहप्रवक्ता सुनिल जंग शाहले विदेशबाट आउने यात्रुहरुलाई प्लेन टिकट, भिसा लगाएत कडा चेक जाँच गरेर जान दिइएको बताए।

उनले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएकोले एउटा पनि सार्वजनिक बसहरु नचलेको दावी गरिहँदा बसपार्कमा खटिएका ट्राफिक प्रहरी भने बेलुकी पख सँधै बसहरु छुट्ने गरेको बताउँछन्। यो विषयमा सोध्दा डिएसपी शाहले भने तत्काल तैनाथ रहेका प्रहरी अफिसरलाई खबर गर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *