शनिबार निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार १८८ जना कारबाहीमा

डिसी नेपाल
२५ वैशाख २०७८ २२:५३

काठमाडौं । शनिबार विभिन्न जिल्लामा निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ११ हजार १८८ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको छ । सो क्रममा एक हजार ८६५ गाडी र ३ हजार १३७ मोटरसाइकल गरी ५ हजार २ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोभिड १९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित तपाईँको मास्क खोई ? कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा पाँच हजार २३१ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुनसक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।

तोकिएको मापदण्ड उल्लंघन झण्डै ७०० जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । साथै सोही क्रममा देशभर सञ्चालित सचेतनामूलक कार्यक्रममा १६ हजार ४२२ जना सहभागी भएका छन् ।

कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड १९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देश सहितको माइकिङ, सवारी साधनहरूको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शन लगायतका कार्यक्रमहरू मार्फत भीडभाड नगर्न, अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागि मास्क तथा स्यानिटाइजरको सहि प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध समेत गरेको छ ।

कार्यक्रमलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिव्रता दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *