गाउँपालिकाका सबै सवारी साधन सङ्क्रमित बोक्न प्रयोग गरिने
बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिकाले आफूसँग रहेका सबै सवारी साधन कोरोना नियन्त्रणमा प्रयोग गर्ने जनाएको छ। गाउँपालिकाले शनिबार एक सूचना जारी गर्दै अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीसहित सबै कोरोना नियन्त्रणमा प्रयोग गर्ने निर्णय भएको जनाएको छ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीका अनुसार गाउँपालिकामा एक एम्बुलेन्स, एक टिपर, एक बोलेरो जिप र एक कार रहेका छन्। यसअघि गाउँपालिकामा सङ्क्रमित बिरामी बोक्नका लागि एम्बुलेन्स मात्रै प्रयोग गरिएको थियो । महामारीले भयावह रूप लिँदै गएकोे भन्दै गाउँपालिकाले आफ्ना सम्पूर्ण सवारी साधनलाई सङ्क्रमित बोक्नका लागि प्रयोग गर्ने निर्णय गरेको हो।
यस्तै, पालिकाले प्रत्येक वडामा कोभिड सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुलाई सम्पर्क व्यक्तिका रूपमा तोकेको छ। पालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत एक चिकित्सकसहित ११ स्वास्थ्यकर्मीलाई सम्पर्क व्यक्ति बनाइएको हो। निमित्त प्रमुख प्रशासकीय अधिकृत धामीका अनुसार कोरोनाबाट कुनै व्यक्ति सङ्क्रमित भएमा आवश्यक परामर्श र सल्लाहका लागि सम्पर्क व्यक्ति तोकिएको हो।
यसैबीच गाउँपालिकाले अक्सिजन सिलिण्डरसहितको आइसोलेशन कक्ष स्थापना गर्ने तयारी थालेको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथका अनुसार पालिकाको दुई स्थानमा गरी अक्सिजनसहितको १२ शय्याको आइसोलेशन कक्ष निर्माण शुरु गरिएको छ।
वडा नं ३ स्थित श्रीकोट स्वास्थ्य चौकी र वडा नं ५ को न्वाली स्वास्थ्य चौकीलाई आइसोलेशन कक्ष बनाउने तयारी भएको हो । कोरोना सङ्क्रमित भएर गम्भीर बिरामी भएमा स्थानीयस्तरमै उपचारको लागि तयारी भएको नाथको भनाइ छ।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment