तनहुँमा १ सय शय्याको आइसोलेशन कक्ष स्थापना

डिसी नेपाल
२६ वैशाख २०७८ ७:५३

तनहुँ । कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै तनहुँका १० पालिकामध्ये सात पालिकाले १०० शय्या क्षमताको आइसोलेसन कक्ष स्थापना गरेका छन्। कोरोना सङ्क्रमितलाई सुरक्षित स्थानमा राखेर उपचार गर्नका लागि तनहुँका अधिकांश पालिकाले व्यवस्थित आइसोलेशन कक्ष स्थापना गरेका हुन्। जिल्लाको शुक्लागण्डकी नगरपालिकाले दुई स्थानमा गरी ६५ शय्याको आइसोलेशन कक्ष निर्माण गरेको नगर उपप्रमुख सविता रसाइलीले जानकारी दिइन्। नगरपालिका क्षेत्रमा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या न्यून रहेकाले आवश्यक देखिए क्षमता वृद्धि गर्दै जाने योजना रहेको उनले बताइन्।

ऋषिङ गाउँपालिकाले १०, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाले पाँच/पाँच शय्याको आइसोलेशन कक्ष स्थापना गरेको बताएका छन्।

व्यास नगरपालिका, भानु नगरपालिका र बन्दिपुर गाउँपालिकाले आइसोलेशन कक्ष निर्माण गरेका छैनन्। व्यास–१ कराङकाठस्थित क्षत्री समाजको भवनमा ६३ जना क्षमताको क्वारेन्टिन कक्ष निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए। नगरपालिकाका १४ वटै वडामा रहेका आमा समूह, सामुदायिक भवन र खाली जग्गामा आइसोलेशन कक्ष निर्माण गर्न नगरपालिकाले निर्देशन गरिसकेको उनले जानकारी दिए।

भानु नगरपालिकाले गत वर्ष शारदा लोहनी विद्यालयमा २५ शय्या क्षमताको क्वारेन्टिन बनाएकाले अहिले पनि त्यसैलाई कायम गर्ने गरी प्रक्रिया अघि बढाउन लागेको नगर उपप्रमुख आशा थापाले जानकारी दिइन्। पालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएको अवस्थामा तत्कालै आइसोलेशन कक्ष स्थापना गर्ने तयारीमा रहेको उनले बताइन्।

बन्दिपुर गाउँपालिकाले आइसोलेशन कक्ष निर्माणका लागि प्रक्रिया अघि बढाएको जनाएको छ। गाउँपालिकाभित्र सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिँदै आएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिए। देवघाट गाउँपालिकाले प्रत्येक नाकामा हेल्थ डेस्क राखेर उच्च सर्तकता अपनाउँदै आएको छ । एम्बुलेन्स भाडामा लिएर तयारी अवस्थामा राखिएको र प्रत्येक सामुदायिक वनको पैसाले बिरामी ओसारपसार गर्दा लाग्ने भाडा बेहोर्नुपर्ने निर्णय गरिएको छ । गाउँपालिकाभित्र रहेका माध्यमिक तह र स्वास्थ्य चौकीलाई आइसोलेशन कक्ष बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *