घरघरमै पुगेर सङ्क्रमितको उपचार

डिसी नेपाल
२६ वैशाख २०७८ २३:०८

बाँके । नेपालगञ्ज उपमहानगरपालिका ­१ ले होम आइसोलेसनमा बसेका सङ्क्रमितको घरघरै पुगेर उपचार गर्न थालेको छ । वडा कार्यालयले होलस्टिक होम केयर सेन्टरको सहकार्यमा भेरी अस्पतालका फिजिसियन डा पारश श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मीले धम्बोझीका २५ सङ्क्रमितको घरघरमा पुगेर स्वास्थ्य सेवा दिएको छ ।

चिकित्सकसहितको टोलीले सङ्क्रमितको स्वास्थ्य जाँच गरी औषधि तथा एक्सरेलगायत अन्य परीक्षणको सिफारिस गरेपछि वडा कार्यालयले लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने व्यवस्था मिलाइएको वडाध्यक्ष प्रमोद रिजालले बताए । उनका अनुसार अक्सिजन चाहिएमा वडाले घरमै व्यवस्थापन गर्ने, थप उपचार आवश्यक पर्ने सङ्क्रमितलाई उपमहानगरले सञ्चालन गरेका अक्सिजनसहितका आइसोलेसनमा राखिने र गम्भीर बिरामीलाई अस्पतालको आइसोलेसनमा पठाउने गरिएको छ ।

उपचार गर्न जाँदा सङ्क्रमितलाई स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत उपलब्ध गराइन्छ । नेपालगञ्ज­ १ को होम आइसोलेसनमा अहिले करीब १५० जना सक्रिय सङ्क्रमित छन् । उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले वडा नं १ मा शुरु भएको चिकित्सकसहितको स्वास्थ्य टोली होम आइसोलेसन पुगेर उपचार गर्ने सेवा नगरका सबै वडामा विस्तार गरिने बताए ।

यसैबीच उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले नगरवासीले भण्डारण गरेको अक्सिजन ग्यासको खोजी शुरु गरिएको बताए। अस्पतालमा अक्सिजन ग्यासको अभाव भइरहेको बेला नगरवासीले घर तथा कलकारखानामा अक्सिजन सिलिण्डर भण्डारण गरेर नगरका आइसोलेसन र अस्पतालमा अक्सिजन अभाव हुन नदिन खोजी अभियान शुरु गरिएको उनले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *