गोली चल्दै थियो, साना बच्चा लिएर रुखको बुटामा लुकेर ज्यान जोगाइयो (भिडियोसहित)

डिसी नेपाल
२७ वैशाख २०७८ २०:०४

वासिंगटन डिसी। जसले वरिपरि अन्धाधुन्ध गोली प्रहार गरे उनीसँग घर जोडिएको थियो। उनले आफ्नै घरमा आगो लगाएका थिए अनि छेउछाउका छिमेकीहरु तिर फर्केर स्वचालित हतियारले पर्रर्रर गोली प्रहार गरेका थिए। त्यो त्रासदि सम्झन पनि ठूलै सहास चाहिन्छ तर आँखा अगाडि नाचेको त्यो क्रुर दृश्य आँखाबाट हट्न पनि मान्दैन।

अस्वेत नागरिक उनी छिमेकमा त्यति घुलमिल पनि हुँदैन थिए। त्यसमा पनि अमेरिकी समाजमा मानिसलाई एकअर्कोसँग बोल्न पनि समय पुग्दैन, सबै आआफ्नै काममा व्यस्त हुने गर्छन्।

देखाभेट भइहाल्यो भने यस्सो दाँत देखाएर हाइ हेल्लो गर्ने हो। यी अस्वेत छिमेकीसँग त्यस्तो अवसर पनि कममात्रै जुर्ने गरेको थियो।

ओछ्यानबाट उठ्न नभ्याउंदैको घटना हो यो। अमेरिकाको मेरिल्याण्ड राज्यको उडल्यान सहरमा पर्वत घर भएर केही वर्षदेखि अमेरिका बस्दै आएका दुर्गा न्यौपानेले घर किनेर बसेको डेढ बर्षजतिमात्र भएको थियो। कम्युनिटीमा बसाइ राम्रै नै थियो तर ती छिमेकी जोसँग दुर्गाको घर जोडिएको थियो उनको केही अस्वाभाविक व्यबहार हो कि भन्ने आभास मिल्थ्यो।

तर, यो हदसम्मको हर्कत उनले गर्छन् भन्ने कल्पनाभन्दा बाहिरको कुरा थियो – दुर्गाको परिवारका लागिमात्र होइन पूरै समुदायकै लागि।

मे ८ तारिक शनिवार एकाविहानै भित्तामा राखिएका फोटाहरु हल्लिन थाले। गड्यांग गुडुङ आवाज आउन थाल्यो। यतिबेलासम्म दुर्गा न्यौपाने काममा गइसकेका थिए भने उनकी पत्नी र परिवार घरमै थिए। उनको घरमा भाडा लिएर भर्खरमात्रै बस्न आइपुगेका संखुवासभाका सागर घिमिरे र सर्लाहीका श्याम अधिकारीका लागि पनि यो घटना अप्रत्यासित थियो।

भूइँचालो पनि आएछ कि क्या हो भन्ने लाग्यो। उनीहरु घर छोडेर बाहिर भागे। घरबेटी दुर्गाकी पत्नी दुईजना साना साना बच्चा लिएर बाहिर कुदिन्। उनी छिमेकीको घर दनदनी बलिरहेको देखेर त्यसै पनि आत्तिएकी थिइन्, त्यसमाथि देखेजानेको छिमेकीले अनियन्त्रितरुपमा गोली बर्षाइरहेको थियो। बच्चाहरु लिएर पोथी हाँसले आफ्ना बच्चालाई छोपेजस्तै गरी दुबै बच्चालाई आफ्नो बाहुमा बेरेर उनी नजिकैको घुपीको झ्याम्म परेको बुट्यानमा लुक्न गइन्। गोलीका पर्रा छुटिरहेका थिए, डरको पारो सम्झिसक्नु छैन।

जलेर नष्ट भएको घर।

प्रहरी र अग्नि नियन्त्रक टोली घटनास्थलमा आइपुग्दा परिस्थिति डरलाग्दो भइसकेको थियो। भूइँचालो पो आए छ भनेर आफ्नो कोठा छोडेर बाहिर भागेका सागर श्याम छिमेकीको घरमा आगो लागेको देखेर आफ्नो महत्वपूर्ण डकुमेण्ट र सामान जोगाउन भनेर फेरि घरभित्र पसेका थिए। सामान लिएर गाडीमा राख्न खोज्दा खोज्दै उनीहरुमाथि गोली प्रहार भयो। सागर त्यहीं ढले भने श्यामको हालत पनि उस्तै थियो।

उनीहरुलाई हतार हतार अस्पताल कुदाइयो भने त्यसरी अनियन्त्रित भई गोली बर्षाउने हत्यारा छिमेकीलाई घटनास्थलमा आएको प्रहरीले केही समयको गोली हानाहानपछि घटनानास्थलमै ढाल्न सफल भएको थियो।

यो त्रासदिपूर्ण खवर काम गर्दागर्दै सुनेका नेपाली घरबेटी दुर्गा न्यौपानेले आफन्त साथीभाइलाई गुहार माग्दै दौड्दै आफ्नो घर आइपुगेका थिए। उनी आइपुग्दासम्म उनको घर जलेर खरानी भएको थियो। हमलाकारीले आफ्नो घरमा आफैं आगो लगाएर बाहिर निक्कदै छिमेकीहरुमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो। उसको गोलीबाट एउटा स्पेनिस भाषी परिवार पनि उजाड भएको छ।

यो घटनामा पीडित नेपालीको परिवारको उद्धारमा तत्काल पुगेका बाल्टिमोर एशोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) का महासचिव किरण ढकाल घाइते, र पीडितको सहयोगका लागि खटिएका थिए।

उनको खबरअनुसार बानाका अध्यक्ष सुबोधविलास पन्त र अन्य नेपालीहरु पनि घटनास्थल पुगेर आपत्मा परेका परिवारलाई सान्त्वना दिएका थिए।

‘घटनास्थलको भयावह दृश्य सम्झने पनि मन छैन’, महासचिव ढकाल भन्छन्, ‘अप्रत्यासित भएको यस्तो घटनामा परेर ज्यान गुमाएका नेपाली विद्यार्थी सागरका आफन्त खोज्न निकै समय लाग्यो, उनी पहिला बसेको क्यालिफोर्नियामा समेत सम्पर्क गरी समाजसेवी प्रभु थापाले सागरका आफन्त पत्ता लगाउन मद्दत गर्नुभयो। त्रासदिपूर्ण घटमा परी आफ्नो बासस्थान गुमाउन पुगेका न्यौपानेको परिवारलाई सहयोगी नेपालीको घरमा राख्ने व्यबस्था मिलाइएको छ।’

घटनामा मारिएका सागर

राजदूत खतिवडा र अवैतनिक महावाणिज्यदूत महतको चासो

घटनामा परी ज्यान गुमाएका सागर र घाइते भएका श्यामबारे अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा र अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले चासो राख्दै उनीहरुबारे सोधखोज गरेका छन्।

यसैक्रममा घाइते श्यामलाई भेटेर सिघ्र स्वास्थ्यलाभको कामना गरेको महतले आफ्नो फेसबुकमा स्ट्याटस लेखी जानकारी दिएका छन्। उनले घाइते श्यामको घटनास्थलको बर्णन पनि पोष्ट गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *