ल्होत्से र पुमरी आरोहण शुरु, ६ नेपाली पुगे ल्होत्सेको शिखरमा

डिसी नेपाल
२७ वैशाख २०७८ २०:२६

काठमाडौं । सोलुखुम्बुको खुम्बुस्थित सगरमाथा क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) हिमाल आरोहण शुरु भएको छ । आरोहणको बाटो बनाउन डोरी टँगाइ (रोप फिक्सिङ) का लागि गएका छ सदस्य आरोही आज साँझ ६ः४५ मा ल्होत्से चुचुरामा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले जनाएको छ । ल्होत्से आरोहणका लागि १४ आरोही समूहका ९६ महिला र २९ पुरुष आरोहीले आरोहण अनुमति लिएका छन् ।

विभागका निर्देशक मीरा आचार्यले वसन्त यामको ल्होत्से आरोहण पनि औपचारिक रुपमा शुरु भएको बताइन् । त्यसैगरी पुमरी (७,१६१ मिटर) हिमालको सफल आरोहण पनि भएको छ । चार नेपाली र दुई भारतीयले आज अपराह्न हिमाल आरोहण गरेको विभागले जनाएको छ । चालु याममा पुमरी आरोहणमा नौ आरोहीलाई अनुमति दिइएको छ ।

वसन्त याममा सगरमाथासहितका विभिन्न हिमालको आरोहण जारी छ । सगरमाथा आरोहण यही वैशाख २४ देखि शुरु भएको थियो । कीर्तिमानी कामीरिता शेर्पा नेतृत्वको १२ जनाको शेर्पा आरोही समूहले सगरमाथाको चुचुरामा डोरी टाँग्ने कार्यसँगै व्यावसायिक आरोहण शुरु भएको हो ।

संस्कृति मन्त्रालयका अनुसार वसन्त यामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ जना आरोहीले आरोहण अनुमति लिएका छन् । तीमध्ये सगरमाथाका मात्रै सर्वाधिक ४३ आरोही समूहका ४०८ आरोही छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *