कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न अन्तर्राष्ट्रिय समूदायसँग काँग्रेसको अपील

डिसी नेपाल
३१ वैशाख २०७८ १९:१८

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्न अन्तर्राष्ट्रिय समूदायसँग अपील गरेको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न एक वक्तव्य जारी गर्दै अन्तर्राष्ट्रिय समूदायसँग अपील गरेका हुन्। उनले भनेका छन्, ‘स विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरी दिन हुन पनि अपील गर्दछु।’

सभापति देउवाले स्वास्थय सामाग्री, आइसोलेशन, अक्सिजनलगायतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनले भनेका छन्, ‘म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरि सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको व्यवस्था गर्न माग गर्दछु।’

सभापति देउवाले कोभिड—१९ को संक्रमणले उग्र रुप लिइरहेको भन्दै देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टीलेटर सहितका आईसीयू बेड र औषधिको नितान्त अभाव भएको भन्दै चिन्ता प्रकट गरेका छन्। यस्तो बेला पनि सरकार गम्भीर नबनेको उनको आरोप छ।

सभापति देउवाले भनेका छन्, ‘देशमा व्याप्त यस विषम घडीमा सबै दिदीबहिनी, दाजुभाइमा स्वास्थका मापदण्ड अपनाउन, आफु र आफ्नो परिवारलाई सुरक्षित राख्न हार्दिक अनुरोध गर्दछु। देशभरिका नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गर्दछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *