अक्सिजन नभएपछि वीरको कोभिड यूनिफाइड अस्पताल सञ्चालनमा आउन सकेन

उपेन्द्र शाही
३१ वैशाख २०७८ १९:५०

काठमाडौं। गत बैशाख २५ गते मन्त्रीपरिषदको बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो। बैठक पछि जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भनेका थिए ‘त्यो ५ सय शैय्याबाट सुरु हुन्छ। पछि विस्तार हुन्छ। त्यसले कोभिडविरुद्धको लडाईंमा देशभरिकै अस्पतालहरूको कमान्ड पनि गर्छ।’

सरकारले देशभरकै अस्पतालको कमान्ड गर्छ भनेको अस्पताल नै अहिले सञ्चालनमा आउन नसक्ने अवस्थामा छ। अस्पतालमा सबै कुरा तयार अवस्थामा छ। अस्पतालमा बेड, स्वास्थ्यकर्मी तयार अवस्थामा भए पनि अक्सिजन नभएकै कारण अस्पताल कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने टुंगो न त अस्पतालसँग छ न त स्वास्थय मन्त्रालय सँग नै।

अस्पताल प्रशासनले अघिल्लो आइतबारदेखि अस्पताल आशिंक रुपमा सञ्चालनमा ल्याउने गरी तयारी थालेको थियो। तर, अरु तयारी पूरा त भयो अहिले अक्सिजन कसरी व्यवस्थापन गर्ने भन्ने कुरो अत्तो पत्तो छैन्।

अस्पतालकी निमित्त निर्देशक डा. शान्ता सापकोटाले जबसम्म अक्सिजनको सुनिश्चिता हुँदैन तबसम्म अस्पताल सञ्चालनमा ल्याउन नसकिने बताएकी छन्।

डिसी नेपालसँग कुरा गर्दै उनले भनिन्,  ‘२ हप्ता अगाडि त्यो भवन पूरा नभएको अवस्थामा हामीले यो कोभिडको लागि डेडिकेटेड गरेर सञ्चालनमा ल्याउने भनेका हौँ। तर, अक्सिजनको यति धेरै हाहाकार हुन्छ भन्ने लागेकै थिएन। हाम्रो अक्सिजन सप्लायर्सले हामीलाई अक्सिजन दिन्छ भनेर शुरु गर्न खोजियो तर, अहिले देशैभरी अक्सिजनको हाहाकार छ। अक्सिजन पाउने बाटो छैन्। जबसम्म अक्सिजन पाउने अवस्था हुँदैन तबसम्म अस्पताल सञ्चालनमा ल्याउन सकिदैँन।’

सरकारले अक्सिजनको व्यवस्था प्लाण्ट राखेर गर्न निर्देशन दिएको छ। तर, त्यसका लागि लामो समय लाग्ने भएकोले त्यसको बारेमा कुनै प्रक्रिया नै शुरु भएको छैन्। डा. सापकोटाले मन्त्रालयले भने जस्तै नयाँ अक्सिजन प्लान्ट तत्काल सञ्चालनमा ल्याउन नसकिने बताइन्।

‘प्लान्ट नै राखे पनि ३–४ महिना लाग्छ।’ उनले भनिन्, ‘सरकारी संस्था हो, पूर्वाधार बाहिरबाट ल्याउनु पर्ने पर्ने हुन्छ। सरकारी संस्था भएकोले त्यसका लागि टेण्डर गर्नु पर्छ। र टेण्डर गरेर जाँदा कमसेकम ३–४ महिना लाग्छ।’

‘यहाँ अर्को विकल्प भनेको सिलिण्डरमार्फत पाइपलाइनमा पठाई अक्सिजन पुर्याउन सकिन्छ। तर, त्यसको लागि प्रयाप्त मात्रामा अक्सिजन र सिलिण्डर आवश्यक्ता पर्छ। त्यसको लागि अक्सिजन सिलिण्डर हामीले सधैँ पाउने सुनिश्चित हुनु पर्छ। विरामी थन्क्याएर उल्टो समस्या हुन्छ। नयाँ भवनमा विरामी राखेर मात्रै रिस्क लिनेमा हामी छैनौँ,’ उनले भनिन्।

यही अवस्थामा अस्पताल सञ्चालनमा आउन सक्ने अवस्था नभएकोले महामारी कम भएपछि अक्सिजनको केही हदसम्म डिमान्ड कम भएमा मात्र अस्पताल सञ्चालनमा ल्याउन सकिने उनले बताइन्।

उनका अनुसार शुरुमा एउटा फ्लोर अर्थात सय बेड सञ्चालनमा ल्याउँदा पनि धेरै विरामीले राहत पाउन सक्छन्। त्यसका लागि दैनिक कमसेकम २ सय सिलिण्डर अक्सिजन सुनिश्चिता हुन जरुरी छ। यदि कसैले अक्सिजन उपलब्ध गराएमा सय बेडको अस्पताल अहिले नै सञ्चालनमा आउने उनको भनाइ छ।

सीसीएमसीले जिम्मा लिएर दैनिक ३ सय सिलिण्डर अक्सिजन उपलब्ध गराउने प्रतिबद्धता जनाएकोमा अहिले त्यसको आधा १ सय ५० सिलिण्डर पाउने गरेको अस्पतालले बताएको छ। उक्त अक्सिजनले पुरानै विडिल्ङमा नपुग भइरहेको अवस्था छ। हाल अक्सिजन व्यवस्थाको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले लिइसकेको छ।

मन्त्रालय भन्छ, ‘नसके हामी गर्छौँ’

अस्पतालको सञ्चालन मितीबारे बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वीर अस्पतालले कहिलेदेखि सञ्चालनमा ल्याउँछ त्यहिले देखि नै सञ्चालनमा आउँने बताए।

उनले भने ‘अक्सिजन राख्नु पर्यो प्लान्ट बनाउनु पर्यो। सरकारले प्लान्टको लागि प्लान्ट दिएर सरकारले गर्नुपर्ने काम सबै गर्दिएको छ। बनाउनु पर्यो नि। अरु सबै ठाउँमा चलाइरहेका छन्।’ अस्पताललाई छिटो बनाउन निर्देशन दिएको बताउँदै उनले काम नगर्ने मनाशायले त्यस्तो भन्न नपाइने बताए।

‘हामी हेर्दै छौँ काम गरेनन् भने हामी के गर्नु पर्ने हो गर्छौँ। चलाउन सक्दिँन भनेर मन्त्रालयको जिम्मा लगाइयोस हामी बाँकी काम गर्छौँ। सकिदैँन भनेर हामीलाई कुनै रिपोर्टिङ नै भएको छैन्।’

वीर अस्पतालको अहिलेको अवस्था

५ सय बेडको अस्पताल सञ्चालनमा आउने कुरा सुनेपछि सर्वसाधारण केही आशावादी भएका थिए। अहिले बेड नपाइने र अक्सिजन नपाइने अवस्थामा अकालमा मानिसहरु आफ्नो मृत्युवरण गरिरहेका छन्।

तर, बनेको अस्पताल, सञ्चालनमा ल्याउन पुरापुर तयार रहेको अस्पताल पनि सञ्चालनमा आउन सकेको छैन् भने, सरकारले कहिले नयाँ अस्पताल बनाएर जनतालाई उपचार गर्ला ?

गरिबहरुको अस्पतालका रुपमा चिनीने नेपालकै सबैभन्दा बुढो अस्पताल वीरमा प्रायः दुर दराजका निमुखा गरिब मान्छेहरु उपचार गराउन पुग्छन।

जहाँ अहिले अस्पतालको आकस्मिक कक्ष पनि कोभिड विरामीले भरिएको छ। हाल वीरमा १ सय ६१ जना कोभिड विरामीको उपचार भइरहेको छ। कोभिड डेडिकेटड ८ लगाएत २३ वटा आइसीयू विरामीले भरिएका छन्। बेड नपाएर विरामी फर्काउनु पर्ने अवस्थामा अस्पताल छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *