सगरमाथा चढेर सम्पूर्ण बहराइनी नागरिकलाई गौरवान्वित गराउँदा गर्व महसुस गरेको छु : बहराइन राजकुमार

फुर्पा शेर्पा
२ जेठ २०७८ ८:५६

काठमाडौं। विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मंगलबार बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहित रोइअल् बडिगार्डले पाइला टेकेका छन्।

कोरोना माहामारीपछि कोही सगरमाथाको चुचुरोमा पुगेको यो दोस्रो पटक हो। सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर भएपछि भएको यो दोस्रो आरोहणसमेत हो।

राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहितको टोलीले मंगलबार बिहान ६ बजेर ४५ मिनेटमा सगरमाथामा पाइला टेकेका हुन्।
बहराइनी राजकुमार खलिफाले आफ्नो जीवनमा अहिलेसम्म गरिएको सबैभन्दा गाह्रो काम भनेको सगरमाथाको चुचुरोमा पुग्नु भएको बताए।

आफूले सगरमाथाको फोटो र भिडियोहरु फिल्ममा देखेका तर अहिले आफ्नै आँखाबाट देख्न पाउँदा निकै खुसी महसुस भएको प्रतिक्रिया दिए। सगरमाथाको चुचुरोमा पुगेर डिसी नेपालसँग कुरा गर्दै राजकुमार खालिफाले भने, ‘नेपाल एकदम सुन्दर छ र नेपाली धेरै राम्रो लाग्यो।’

तीन वर्ष पहिले बहराइन रोयल गार्ड टोली विश्वको सर्वोच्च शिखरमा पुग्ने मिशनसहित गठन गरिएको थियो। बहराइनी राजकुमार अल खलिफासहितको टोली पहिलो पटक सेप्टेम्बरमा आइपुगेको थियो।

उनीहरुले सगरमाथाको शिखर चुम्ने तयारीमा लोबुचे शिखर र माउन्ट मनास्लुलाई सफलतापूर्वक स्केल गरेका थिए।राजकुमार खलिफाले सथरमाथाको सफल आरोहणपछि डिसी नेपालका लागि फुर्पा शेर्पासँग गरेको कुराकानीको सम्पादित अंशः

संसारको सबभन्दा अग्लो चुचुरामा उभिँदा तपाईंले कस्तो महसुस गर्नु भयो?

मैले अहिलेसम्म गरेको कामहरु भन्दा यो फरक र गाह्रो काम हो। सगरमाथा फोटो, भिडियोहरु र फिल्ममा देखेको थिएँ तर अहिले आफ्नै आँखाबाट सगरमाथाको चुचुरोबाट निलो आकाश, बादल देख्न पाउँदा निकै खुसी लाग्यो। निकै सुन्दर बादल र आकाशको रंगहरू मार्फत हिमालहरूको दृश्य देखे। मनै लोभ्याउने दृश्य दख्न पाउँदा मन नै आनन्द भयो।

सगरमाथा आरोहण लामो प्रशिक्षणपछि सफल हुनुभयो, यो खुसीका अनुभवहरु कसलाई सुनाउन चाहनु हुन्छ?

हामीले सगरमाथाको आरोहण गर्न अघि लोबुचे शिखर र माउन्ट मनास्लु सफलतापूर्वक स्केल गरेका थियौं। अहिले सगरमाथाको पनि सफलतापूर्वक आरोहण गर्यौं। लोबुचे शिखर र माउन्ट मनास्लुदेखि लिएर बेसक्याम हुँदै सगरमाथासम्मको यात्रा म सबैलाई र बहराइनमा यो अनुभव बाँड्न चाहन्छु।

 

मलाई पक्का विश्वास छ कि प्रत्येक टोलीका सदस्यहरुसँग पनि रमाइलो अनुभव छ। साथै म बहराइनमा नेपालको बारेमा साझेदारी गर्ने छु, कस्तो रमाइलो र राम्रो ठाउँ छ नेपालमा भनेर। हामीले सगरमाथा आरोहण गर्दाको अनुभव र विश्वको चुचुरोमा पुग्दा र त्यहाँ बस्दाको अनुभव र साहसिक अभियानको बारेमा बताउने छु।

सगरमाथाको चुचुरोमा पुगेलगत्तै तपाईँले कसलाई सम्झनु भयो?

मैले मेरो देश बहराइन, पत्नी, परिवार र साथीहरूलाई सम्झेको थिएँ।

सगरमाथाको शिखरमा बहराइनको झण्डा राख्दा तपाईंलाई कस्तो महसुस भयो?

सगरमाथाको शेखरमा बहराइनको झण्डा राख्न पाउँदा धेरै खुसी लाग्यो। यो वर्षको पहिलो अन्तर्राष्ट्रिय टोली हामी भयौं जसले सगरमाथाको नयाँ उचाईमा (८८४८.८६ मीटर) शिखरमा पुग्नु सफल भयौं। जुन हामीले बोनसको रुपमा पायौं।

बहराइनको झण्डा सगरमाथामा राख्न सफल भएकोमा मलाई धेरै खुशी, गर्व महसुस भएको छ। म मात्र नभएर सम्पूर्ण बहरेनीहरु खुशी, गर्व गर्ने छन्।

अब अन्य पर्वतारोहीहरुलाई के सन्देश दिन चाहनु हुन्छ?

हामीलाई तपाईंहरुले समुदायको अंगको रुपमा सहभागी गराउनु भएकोमा धन्यवाद दिन चाहन्छु। छोटो अवधिमा लोबुचे शिखर र माउन्ट मनास्लुको यात्रा र सगरमाथा आरोहणको अनुभव र आरोहीहरूको अनुभवहरु लिन पाउँदा निकै राम्रो लागेको छ।

आरोहीहरु धेरै राम्रा छन्, जब हामी उनीहरूसँग कुरा गयौं उनीहरू अत्यन्त नम्र भएको महसुस हामीले गर्यौं। विश्वकै सबैभन्दा राम्रो र चर्चित आरोहीहरु भएतापनि उनीहरुमा घमण्ड भने थिएन। हामीले उनीहरुको अनुभव सुन्यौं, भेट्यौं पनि। अब बहराइनका सबैलाई थाहा छ सगरमाथा स्केल गर्ने हाम्रो सफलताको बारे।

तपाईँहरु कति समयसम्म सगरमाथाको चुचुरोमा बस्नु भयो?

लगभग ३० मिनेट जति बस्यौं र केही तस्वीरहरू खिचियौं। सगरमाथाको चुचुरोबाट वरिपरिको दृश्यहरु अवलोकन गयौं। अब म यो स्मृतिलाई कहिल्यै बिर्सन सक्दिन।

तपाईँले सगरमाथाको सफल आरोहण गरेपछि बहराइनका राजाले फोन गर्नु भएको हो?

मलाई राजा हमद बिन ईसा अल खलीफाले फोन गर्नु हुँदै अभिवादन र शुभकामना व्यक्त गर्नु भयो। उहाँले हामीलाई बहराइनमा हेर्न आतुर रहेका समेत बताउनुभयो। सम्पूर्ण बहराइनी नागरिकलाइ विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर गौरवान्वित गराउन पाएकोमा म अत्यन्तै गर्व महसुस गरेको छु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *