महिलाले कपडा धुँदा ३ अर्ब रुपैयाँ एकैपटक स्वाहा पारेपछि…

डिसी नेपाल
३ जेठ २०७८ १४:५७

काठमाडौं। अमेरिकाकी एक महिलाले कपडा धुने क्रममा ३ अर्ब रुपैयाँ स्वाहा पारिन् । अहिले ती महिला त्यो पैसा पाउन दौडधुप गरिरहेकी छिन् । घटना अमेरिकाको क्यालिफोर्नियाको हो । ती महिलाले २६ मिलियन डलर बराबरको लट्री जितेकी थिइन् । तर, ती महिलाले त्यो लट्रीको टिकट कपडासँगै धोइन् । उनीसँग लट्रीको टिकट नभएका कारण अहिलेसम्म उनले त्यो पैसा पाउन सकेकी छैनन् । गएको नोभेम्बरमा उनले त्यो टिकट किनेकी थिइन् ।

सीबीएस न्यूजको रिपोर्टअनुसार हालै त्यो लट्री नम्बरमा पैसा परेपछि ती महिला पैसा लिन गइन् तर उनीसँग टिकट थिएन । महिलाका अनुसार उनले गल्तीवश टिकट भएको कपडा लन्ड्रीमा राखेकी थियन् र कपडासँगै त्यो टिकट पनि धोइएर खराब भएको थियो । उनी बिना पैसा कम्पनीमा पैसा लिन पुगेकी थिइन् । महिलासँग लट्री टिकट नभएपछि कम्पनीले उनलाई पैसा दिन नमिल्ने भयो । तर, महिलासँग लट्रीको टिकट नभए पनि त्यो टिकट उनी आफैंले किनेको प्रमाणित गर्न सक्ने आधारहरु भने थिए ।

उनले आफैंले टिकट किनेको प्रमाणित गर्नको लागि दिएका आधारहरुमा विचार गरेपछि भने कम्पनी पनि अलमलमा पर्यो । महिलाले लट्रीको टिकट नम्बर पहिले नै नोट गरेर राखेकी थिइन् । महिलाले आफूले टिकट नम्बर पहिले नै नोट गरेको भन्दै स्टोरमा गएपछि यो कुरा कम्पनीका म्यानेजरसम्म पुग्यो । म्यानेजरले यसको जाँच गर्दा त्यो नम्बरको टिकट बेचिएकै दिन ती महिला टिकट किनिरहेकी सीसीटिभीमा देखिइन् । रेकर्डका अनुसार ज्याकपट नम्बर भएको त्यो टिकट त्यही दिन र त्यही स्टोरबाट बेचिएको थियो जहाँबाट महिलाले किनेकी थिइन् । पटक पटक टिकट किनिरहेका कारण त्यो स्टोरका कर्मचारीले पनि महिलालाई चिन्थे ।

महिलाको दावीपछि अब कम्पनी दुविधामा फसेको छ । लट्री कम्पनीकी प्रवक्ता क्याथी जोनसरका अनुसार कम्पनीले महिलाको दावीलाई सही मान्न सक्दैन तर अस्वीकार गर्न पनि सक्दैन । कम्पनीको तर्फबाट जाँच भइरहेको छ । महिलाको पक्षमा केही प्रमाण छन् त्यसैले यसको जाँच भइरहेको छ । यदि महिलाको दावी सही प्रमाणित भएमा उनले पैसा पाउन पनि सक्छिन् तर उनले पैसा पाउँछिन् किपाउँदिनन् निश्चित छैन । यदि महिलाको दावी सही प्रमाणित भएन र कसैले लट्रीमाथि दावी गरेनन् भने यो पैसा क्यालिफोर्नियाको एक स्कुललाई दान दिइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *