प्यालेस्टाइनको हमासपछि लेबनानबाट पनि इजरायलमाथि आक्रमण

डिसी नेपाल
४ जेठ २०७८ १७:३३

काठमाडौं। इजरायल र प्यालेस्टाइनको चरमपन्थी हमास समूहबीच चरम संघर्ष चलिरहेका बेला लेबनानतर्फबाट पनि इजरायलमाथि आक्रमण भएको छ । सोमबार करिब मध्यरातको समयमा लेबनानबाट उत्तरी इजरायलतर्फ ६ रकेट प्रहार भएको छ । तर, यी रकेटले सीमा पार गरेर इजरायलतर्फ आउन नसकेर लेबनानमै खसेको इजरायली डिफेन्स फोर्सलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले जनाएको छ । यसको जवाफमा इजरायलले पनि लेबनानतर्फ २० भन्दा धेरै रकेट हानेको बताइएको छ ।

लेबनानतर्फबाट भएको आक्रमणमा कोही हताहत भएको जानकारी भने छैन । लेबनानतिरबाट रकेट आक्रमण भएपछि उत्तरी इजरायलको सीमावर्ती क्षेत्रमा साइरन बज्न थालेका थिए । त्यसपछि इजरायली सुरक्षाबलले सीमासँग जोडिएका ४ किलोमिटर क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सारेको थियो । लेबनानी सैन्य सूत्रले समाचार एजेन्सी एएफपीलाई दक्षिणी लेबनानको शेबा फर्म क्षेत्रबाट केही रकेट प्रहार भएको बताएको छ । इजरायलका सैन्य प्रवक्ता हिदाइ जिल्बरम्यानले मंगलबार बिहान आफूहरुलाई यो आक्रमण कुनै प्यालेस्टाइनी गुटले गरेको जस्तो लागेको बताए ।

इजरायली सुरक्षा बलले लेबनानको तर्फबाट यस प्रकारको आक्रमण जारी रहने आशंका गरेको छ किनकि इजरायली सेनाले गाजामा लगातार आक्रमण गरिरहेको छ । अहिले इजरायली सेनाले २०१४ मा जस्तै हवासमाथि निरन्तर हवाइ आक्रमण गरिरहेको छ । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघको अन्तरिक बलले पनि दक्षिणी लेबनानको राशा अल फौखर आसपासबाट रकेट हानिएको पुष्टि गरेको छ । लगत्तै राष्ट्रसंघीय बलले तत्काल लेबनानी र इजरायली सेना प्रमुखलाई सम्पर्क गरेर संयम राख्न भनेको थियो । पछिल्लो एक हप्तामा सीमापारी लेबनानबाट इजरायलमा रकेट आक्रमण भएको यो दोस्रो घटना हो ।

बिहीबार लेबनानबाट उत्तरी इजरायलमा ३ रकेट प्रहार भएका थिए तर ती रकेट भूमध्य सागरमै खसे । लेबनानका हिजबुल्लाह लडाकुसँग इजरायल २००६ देखि लडिरहेको छ । यो गुटको दक्षिणी लेबनानमा पकड बलियो छ र उनीहरु इजरायलमाथि आक्रमण गरिरहन्छन् । लेबनानमा साना प्यालेस्टाइटी गुट पनि छन् जो इजरायलमाथि आक्रमण गरिरहन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *