राजविराजका साना सवारी चालकलाई कोरोनाभन्दा भोकको चिन्ता

डिसी नेपाल
५ जेठ २०७८ १०:११

सप्तरी। बैदेशिक रोजागारीबाट कमाएको पैसाले अटोरिक्सा खरिद गरी जीविकोपार्जन गर्दै आएका राजविराज नगरपालिका – १३ मुसहरनियाका ४१ बर्षीय डोमी रामलाई हिजोआज छाक टार्न मुश्किल भएको छ।

कोरोना भाइरसको दोस्रो लहरमा सङ्क्रमित बिढ्दै गएपछि सप्तरी जिल्लामा बैशाख २५ गते रातिदेखि निशेधाज्ञा जारी भएपछि उनी समस्यामा परेका हुन्।

राममात्र होइन राजविराजमा सञ्चालन भइरहेको १४० अटोरिक्सा चालकहरु अहिले हातमुख जोर्ने समस्या झेलिरहेका छन्। कसैलाई दैनिक गुजारा गर्ने समस्या छ त कसैलाई कोरोनाबाट बच्न नै धौधौ परेको छ।

अटोरिक्सा चालक डोमी रामले टेस्टसम्म पास गरेर आर्थिक स्थिति कमजोर भएकै कारण बैदेशिक रोजगारमा गएका थिए। राम भन्छन्, ‘कमाई राम्रो हुँदा हुँदै २ बर्ष अघि घरमा श्रीमतीलाई सर्पले टोकेर मृत्युु भएपछि साना छोराछोरीको पालनपोषणको जिम्मेवारी आफ्नो काँधमा आएकोले घर फर्किए।’

घर फर्किएका रामले कमाइबाट अटोरिक्सा किनेर चलाउन थालेका हुन्। रामले कमाएको पैसाबाट आधा र आधा कर्जा लिएर अटो किनेर राम्रो आम्दनी गर्दै थिए।

उनी भन्छन्, ‘शुरुको एकबर्षको कमाईले लिएको कर्जा तिरेर घर गुजारा गर्दागर्दै पोहोर साल लकडाउनले आम्दानी गर्न पाइएन। बचेको पैसा र सरसापटले जेनतेन गुजारा चलेको थियो।’ ‘तर अहिलेको निषेधाज्ञाले आर्थिक रुपमा चौपट भइयो,’ रामले भने।

रामको सम्पत्तिको नाममा बस्ने सानो झुपडी बाहेक केही छैन। आफ्नो वृद्ध आमा, दुई छोरा र एक छोरी सहित पाँच जनाको गुजारा अटोबाट आएको आम्दानीले चल्दै आएको थियो। राम भन्छन्, ‘ दिनको पाँचसय देखि हजार रूपैयाँ आम्दानी हुन्थ्यो।’

रामलाई आएको आम्दानीबाट तीन सन्तानको शिक्षा र परिवारको सदस्यलाई गाँस,बाँस,कपास, स्वास्थ्य उपचार गर्न चाहिदो पुगेको थियो। उनी भन्छन्, ‘अहिले भने बन्दले दुई छाक हातमुख जोर्न समस्या भयो।’

राजविराज नगरपालिका १ का ६५ बर्षीय शिवनारायण रजकले ठेला चलाएर गुजारा गरेको ४ दशक भयो। ठेला चालाउने कामको शुरुवात भएसँगै उनले ठेला चलाएका थिए।

ठेला चलाएर नै ६ सन्तान सहित ८ जना परिवारको जीविकोपार्जन गर्दै आएका थिए। रजक भन्छन्, ‘अहिले परिवारको दुई छाक हातमुख जोर्न समस्या भएको छ।’

रकज भन्छन्, ‘मेरो परिवारलाई यतिबेला रोगभन्दा भोकले मर्ने हो कि भनेर चिन्ता बढेको छ।’ परिवार ठूलो भएकोले दिनहुँ कमाउने, कमाएको दिनहुँ खाएर सक्ने बाध्यता रहेकोले एक रूपैयाँ जोगाएर राख्न नसकेकोले समस्या भएको रजकले बताए।

‘किति दिनसम्म निशेधाज्ञा र बन्द हुने हो थाहा छैन । कतिदिन ऋण लिएर खाने?’ उनले प्रश्न गरे। रजककी श्रीमती दुर्गादेवी रजक भन्छिन्, ‘मैले विवाह गरेर आएदेखि दुई छाक हातमुख जोर्न यस्तो समस्या देखेको थिइन।’

उनले थपिन, ‘श्रीमान्को ठेला चलाउने पेशा भएपनि दिनहुँ केही न केही कमाई हुन्थ्यो, खान लगाउन पुग्थ्यो।’ गतवर्ष पनि कोरोनाकै कारण लामो बन्द भएको र रूपैयाँको अभावमा बाँच्नै गाह्रो भएको उनको अनुभव छ । रजकले भनिन,‘यसपालि त झन् टुङ्गो छैन। कोरोनाले मर्नुभन्दा भोकले मर्ने डर भयो। ’

अटो रिक्सा र ठेलामात्र होइन अहिलेको निशेषाज्ञाले बस, ट्रक, टयाक्टर, टेम्पो, माईक्रो, म्याजिक, सिटीरिक्सा, रिक्सामा काम गरेर गुजारा गर्नेको परिवार बिचल्लीमा पर्न थालेका छन्। यो पेशा दिनहुँ कमाई गर्ने र खाने पेशा हो। कुनैपनि बन्द हड्तालमा सबैभन्दा पहिले सवारी साधनलाई लक्षित गरेर बन्द गर्ने प्रवृत्ति छ।

अहिले कोरोना महामारीको रूपमा फैलिएको छ। यसको कहिले नियन्त्रण भएर गाडी खुल्ने हो? कुनै अनुमान गर्न नसकिने यातायात व्यवसायीहरुको गुनासो छ। यस पेशामा आबद्ध भएर जिवीकोपार्जन गर्दै आएका व्यक्तिको लागि नेपाल सरकार, स्थानीय सरकारले अहिलेसम्म कुनै किसिमको राहतको व्यवस्था नगरेकोले उनीहरु छुब्ध छन्।

सरकारले न त सुविधा नै दिन सकेको छ नत खानका लागि कुनै व्यवस्था मिलाएको छ । तरकारीको मूल्य आकाशिएकोले उनीहरु झनै समस्यामा छन्।सानातिना सवारी चालकहरुले दैनिक गुजाराका लागि समेत ऋण लिनु पर्ने अवस्था त छनै तर यस्तो बेला ऋण कसले? कहिले सम्म दिने? भन्ने प्रश्न टडकारो रुपमा उठेको छ।

अटो, टेम्पु व्यावसाय संघ सप्तरीका अध्यक्ष बिजेन्द्र देवले अहिलेको अवस्थालाई अपत्यारिलो महामारी भनेका छन्। देव भन्छन्, ‘यो कहिलेसम्म रहन्छ? यसरी अटो, टेम्पु लगायत यातायातको साधनहरू कहिलेसम्म बन्द रहन्छ भन्ने नै थाहा छैन।’

उनी थप्छन्, ‘अनुमानै गर्न सकिने अवस्था छैन् । कहिले खुल्ने? कहिलेदेखि अवस्था सामान्य हुने?’ सरकारको अटो, टेम्पुमा कामगर्ने मजदुरको पीडा तर्फ ध्यानाकर्षण होस भन्ने उनले माग गरेका छन्।

नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भंसालीले यसपालिको संक्रमणको अवस्था जटिल भएको बताएका छन्। उनले भने, ‘सङ्क्रमण दिनप्रतिदिन बढ्दै गएको छ । सङ्क्रमणकै कारण ज्यान जानेको सख्या दिनप्रतिदिन बढ्दै गएकोले ,सबैको ध्यान उतै छ।’ पहिलो चरणको जस्तो राहत तर्फ योबेला कसैको ध्यान पुगेको उनको भनाइ रहेको छ।

भंसालीले गुनासो गरे, ‘भोकले ज्यान जाने तर्फ स्थानीय सरकारले ध्यान दिएको देखिदैन ।’ उनले थपे, ‘म आफै जिम्मेवार भएर व्यक्तिगत रुपमा सकेको सहयोग गर्दैछु।’ आवश्यक ठानेर लिन आउनेलाई १देखि २ हजारसम्म सहयोग गरेर पठाउने गरेको भंसालीको भनाइ छ।

उनले भने, ‘अर्काको मुख ताक्नुभन्दा पनि सक्नेले आ–आफ्नो ठाउँबाट यसरी नै सहयोग गर्न सके विपन्न ,मजदुरलाई केही राहत हुन्थ्यो।’ स्थानीय सरकारले पनि यस तर्फ तत्काल ध्यान दिनुपर्र्ने उनले बताए।

यतायात ब्यावसायी संघ सप्तरीका सचिव दिनेश साह भन्छन्, ‘ यातायात क्षेत्रमा काम गर्ने कर्मचारीको तलब हुँदैन। दिनदिनै काम गरे बापत पाउने भत्ता नै उसको तलब हो।’ साहले भने, ‘दैनिक काम गरेर खानेलाई समस्या भएको छ ।’ साहको कथन छ, ‘यातायात पूरा ठप्प भएपछि आम्दनीको बाटो बन्द छ।’

लामो समयसम्म सवारीसाधन खुल्ने सम्भावना नदेखिएको तत्काल राहतको लागि पहल गर्न सचिब साहले सरकारसँग माग गरेका छन्।
प्रदेश तथा स्थानीय सरकारले राहतको प्याकेज ल्याएर बितरण गर्नु पर्ने अहिलेको प्रमुख दायित्व भएको साहको भनाई रहेको छ। सचिब साहले भने, ‘सवारीसाधनको ब्याज, करमा सरकारले छुटको व्यवस्था गर्नुपर्दछ।’

सप्तरीका प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणी पोखरेलले अहिलेको समयमा सबैभन्दा ठूलो कुरा ज्यान जोगाउनु नै भएको बताएका छन्। प्रजिअ पोखरेल भन्छन्, ‘बढ्दो संक्रमण रोक्न रोजगार दिने सबारी साधनहरु बन्द गर्नुपर्ने बाध्यता भएको हो।’

उनी भन्छन् , ‘हामी प्राथमिकतामा राखेर काम गर्दैछौं । संक्रमणबाट जनतालाई जोगाउनु हाम्रो प्रमुख प्राथमिकता हो।’ प्रजिअ पोखरेलका अनुसार अहिलेसम्म राहतको लागि त्यस्तो कुनै छलफल भएको छैन। उनले बैठक बसी कस्ले कस्ले के के गर्ने बिषयमा छलफल गरेर प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे।

उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था , प्रतिष्ठान लगायतले यसमा सहयोगका लागि आ–आफ्नो ठाउँबाट पहल गर्न प्रजिअले अनुरोध गरे ।

दोस्रो लहरको कोरोनाको त्रासबीच रोजगार बिना भोकभोकै बसेका विपन्न तथा मजदुरबर्गलाई कोरोनाको उपचारसँगै भोक टार्ने बिकल्पको खाजी तत्काल गर्नु पर्ने माग मजदुरहरुबाट उठीरहेको छ ।

यसअघि सप्तरी जिल्ला मै लकडाउनका बेला खान नपाएर भोकै मर्न बाध्य भएका नागरिकको जस्तै घटना दोहोरिन नदिन यातायात मजदुरहरुले माग गरेका छन्।

( सञ्चारिका समूह, नेपाल )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *