कोरोना कहर : उठ्न नसक्नेगरि थला प-याे पर्यटन व्यवसाय

फुर्पा शेर्पा
६ जेठ २०७८ ९:२३

काठमाडौं। नेपालमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको छ। संक्रमण रोकथाम र नियन्त्रणको लागि स्थानीय सरकारहरुले ७३ बढी जिल्लामा निषेधाज्ञा जारी गरेका छन्। उद्योग, कलकारखाना, यातायात, होटेललगायत सम्पूर्ण व्यापार व्यवसाय बन्द छन्। पर्यटन व्यवसाय पनि ठप्प भएको छ।

हुन त पहिलो लहरको कोरोना संक्रमणको अवस्था सामान्य बन्न थालेसँगै नेपालमा पर्यटकको संख्या बढ्न थालेको थियो। फेब्रुअरी महिनाको तुलनामा मार्च महिनामा नेपालमा बढी अर्थात् १४ हजार ९ सय ७७ जना विदेशी पर्यटक हवाईमार्गबाट भित्रिएका थिए।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण त्रासका कारण सरकारले गत वर्षको चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो। त्यसपछि ठप्प भएको पर्यटक पछिल्लो समय क्रमशःबढ्ने क्रममा रहेको थियो।

भाइरसको प्रभावले थलिएर पुर्नजिवीत हुन लागेको पर्यटन क्षेत्र पुनः निषेधाज्ञाका कारण उठ्नै नसक्ने अवस्थामा त पुग्ने होइन भन्ने चिन्ता व्यवसायीहरुले गरेका छन्।

टान पश्चिमान्चल क्षेत्रीय संघ, पोखराकाअध्यक्ष सुशीलराज  पौडेलका अनुसार २०१९ को डिसेम्बरदेखि अप्ठ्यारो अवस्था पार गर्दै २०२१ को सुरुवातीमा आएर पर्यटन व्यवसायले गति लिएको थियो। तर, पुनःदोस्रो लहरको कोरोना र निशेधाज्ञाले त्यही नाजुक अवस्थामा पुर्याएको छ।

अध्यक्ष पौडेलले भने, ‘अघिलो वर्ष लकडाउन भएपछि नेपाल आएका पर्यटकहरुलाई पनि हतार हतार आफ्नो देश फर्काउनु पर्यो, त्यसबेला पर्यटन व्यवसाय शून्य भएको थियो। बिस्तारै सबै सामान्य हुँदै थियो, भ्याक्सिन आयो सबैमा आशा पलाएको थियो। तर, फेरि उस्तै भयो।’
उनका अनुसार पर्यटन व्यवसायीलाई कोरोनाले आन्तरिक पर्यटकलाई बढावा दिनुपर्छ भन्ने सिकाएको छ । आन्तरिक पर्यटक बढाउनका लागि भर्चूअल् मिटिङहरु गरेको उनले बताए।

अध्यक्ष पौडेलले भने, ‘यो स्प्रिङ सिजनमा केही बुकिङ आउन थालेको थियो, नेपाल सरकारले पनि सबैभन्दा अघि माउन्टिनिरिङ् क्षेत्रलाई खोलेको थियो। त्यसले पनि हामीलाई आशावादी बनाएको थियो।’

उनका अनुसार सन् २०१९ देखि २०२० मा पर्यटन क्षेत्रको अवस्था शून्यमा आएको थियो भने २०२१ को सुरुमा पर्यटकको आगमनले गति लिदै थियो। यो समयमा बहरानका राजकुमार पनि नेपाल आएर सगरमाथाको सफल आरोहण गरेका छन्। नेपाली आरोहणहरुले गरेको केटु आरोहण र महिला आरोहीहरुले गरेको आरोहणले विश्वमा राम्रो सन्देश गएको छ।

दुखेसो गर्दै उनले भने, ‘फेरि यो भाइरसले गर्दा शून्यबाट पनि हामी माइन्समा आयाैं। अब चाँहि उठ्न नसक्ने गरि थला परेको हो कि भन्ने भयो।’
उनले थपे, ‘पर्यटनलाई जति निजी क्षेत्रले धान सक्थ्यो धान्यो, अब निजी क्षेत्र नै थला परिसकेको छ। हामीले गरेको लगानी उठ्न नसक्ने गरी थल्यो, बैंकको ब्याज तिर्न नसक्ने अवस्थामा छौं।’

तिर्न पर्ने सबै सवारी साधन करदेखि लिएर जरिवाना, अतिरिक्त शुल्कसमेत सरकारलाई तिर्यौ तर अब सरकारले पर्यटन व्यवसायीलाई बचाउनु पर्छ भन्दै उनले थपे, ‘पर्यटन व्यवसाय क्षेत्रलाई अब संकटकाल घोषण गर्नु पर्छ।’

रिजनल होटल एसोसिएशनका अध्यक्ष दिपक भट्टाराइले पहिलो लहरको कोरोना माहामारी पछि बिस्तारै उठ्न थालेको चितवनका होटेलहरु सबै बन्द रहेको जनाए। बिस्तारै उठ्न थालेको व्यवसाय फेरि निषाधाज्ञाले धेरैले व्यवसाय नै छोड्न बाध्य भएको उनले गुनासो गरे।

उनले भने, ‘धेरै जसो व्यावासायीहरु होटेल बिक्री गर्नु पर्छ भन्नेमा छन्। अब यस्तै अवस्था रहे धेरै व्यवसायीहरुको मनसाय अरु नै व्यवसाय गर्ने हुन्छ।’

व्यापार व्यवसाय विस्थापित हुनबाट बचाउन सरकारले विशेष ध्यान दिनु पर्ने भन्दै उनले भने, ‘हाम्रो मुख्य माग भनेको बैंकको ब्याजमा सहुलियत दिनु पर्यो। २०२० मा सरकारले २० लाख पर्यटक भित्र्याउने भनेको थियो, त्यसकारण सबै व्यवसायीहरुले होटेल सुचारु गरे, लगानी गरे। तर, अहिले कोरोनाले गर्दा थला परे। अहिलेको अवस्थामा बैंकको ऋण तिर्न सक्ने अवस्था छैन्। त्यसैले व्यवसायीहरुलाई सरकारले सुविधा दिनुपर्छ।’

उनले ९९ प्रतिशत होटेलहरु बैंकको ऋणबाट चलेको जानकारी गराए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *