नेपालमा सहयोग जुटाउन एनआरएनए अमेरिकाको अधिवेशन रोक्न माग – Dcnepal

नेपालमा सहयोग जुटाउन एनआरएनए अमेरिकाको अधिवेशन रोक्न माग

काठमाडौं । अमेरिकाको विभिन्न शहरमा बस्ने नेपालीले नेपालमा नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहर तीव्र भइरहेका बेला गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका शाखाको अधिवेशन स्थगित गर्न माग गरेका छन् ।

एनआरएनए अमेरिकाको सदस्यसमेत रहेका गैर आवासीय नेपालीले नेपालमा तीव्र सङ्क्रमण फैलिएका बेला अधिवेशन रोकेर नेपालमा कोरोना पीडितका लागि स्वास्थ्य सामग्री एवं राहत जुटाउन सहयोग गर्न नेतृत्वसँग माग गरेका हुन् । एनआरएनए अमेरिकाका १० जना साधारण सदस्यले विज्ञप्ती निकाली हाललाई अधिवेशन स्थगित गर्नुपर्ने माग गरेका हुन् ।

विज्ञप्ति प्रकाशित गर्नेमा महेन्द्र सुवेदी, अशोक खड्का, विजय खड्का, रविन्द्रबहादुर सिंह, अर्जुन लामा, दिनेश लामा, दिपेन्द्र तिमल्सिना, राजेश शर्मा, आदित्य खड्का र सन्देश खड्का रहेका छन् । उनीहरुले विज्ञप्तीमार्फत पछि उपयुक्त समयमा अधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

अर्को साता हुने अधिवेशनका लागि प्रचारप्रसार तीव्र भएको भन्दै विज्ञप्तिमा प्रचारप्रसारको खर्च नेपालमा स्वास्थ्य सामग्री जुटाउनमा खर्च गर्नुपर्नेमा जोड दिइएको क्यालिफोर्नियामा रहेका नेपाली युवा महेन्द्र सुवेदीले जनाएका छन् ।

नेपालमा महामारी तीव्र रुपमा फैलिएका बेला अमेरिकामा मात्र नभई संसारका जुनसुकै कुनामा रहेका नेपाली र तिनका संस्था सहयोग जुटाएर नेपालीलाई बचाउने अभियानमा लाग्नुपर्नेमा जोड दिइएको उनले सुनाए ।

एनआरएनए राजनीतिक नभई सामाजिक संस्था भएकाले अहिलेको विषम परिस्थितिमा अधिवेशन गर्नुपर्ने आवश्यकता नरहेको विज्ञप्तिमा उल्लेख छ । मानवीय संवेदनशीलतालाई ध्यान दिँदै यतिबेला सबैले सहयोग जुटाउन सक्दो लाग्नुपर्नेमा विश्वभर फैलिएका नेपालीसमक्ष आह्वान गरिएको छ । रासस

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो