आजदेखि काभ्रेका थप पाँच स्थानीय तह ‘शिल’

डिसी नेपाल
८ जेठ २०७८ ८:३२

काभ्रे । पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि सङ्क्रमणको उच्च जोखिम रहेको जनाउँदै काभ्रेपलाञ्चोकका थप पाँच स्थानीय तहले आजदेखि आफ्नो क्षेत्र ‘शिल’ गरेका छन्। धुलिखेल नगर, पनौती नगर, पाँचखाल नगरपालिका, रोशी र भुम्लु गाउँपालिकाले आजदेखि स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाएका हुन्।

जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना सङ्क्रमणदर उच्च सङ्ख्यामा रहेको जनाउँदै बनेपा नगरले आइतबारदेखि नै एक हप्ताका लागि आफ्नो क्षेत्र शिल गरेको थियो। उसले मर्निङवाकसमेत गर्न दिएको छैन। “अन्य स्थानीय तहभन्दा बनेपामा सङ्क्रमण उच्च रहेपछि औषधि पसल र अस्पतालबाहेकका सबै सेवा बन्द गर्नुका साथै मर्निङवाकसमेत प्रतिबन्ध लगाउनुप¥यो”, बनेपा नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताए। बनेपा जिल्लाको प्रमुख शहर हो।

पाँचखाल नगरले बन्दमा मदिराजन्य पसल सञ्चालन गरे छ महिना अनुमति खारेज गरी रु ५० हजार जरिवानासमेत गर्ने जनाउँदै आजदेखि एक साता नगर शिल गरिएको घोषणा गरेको छ। धुलिखेल र पनौती नगरले अत्यावश्यक सेवा र औषधि पसलबाहेकको सबै सेवा आज राति १२ बजेदेखि चार दिनका लागि बन्द गरेको जनाएका छन्। रोशी गाउँपालिकाले पनि अत्यावश्यक सेवाबाहेक गए राति १२ बजेदेखि आगामी बुधबार राति १२ बजेसम्म पाँच दिन शिल गरेको छ भने भुम्लु गाउँपालिकाले आजदेखि एक साताका लागि शिल गरेको जनाएको छ।

साथै शिल गरिएका स्थानीय तहले फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउनेसमेत निर्देशन दिएका छन्। सूचना विभागबाट जारी प्रेस पासवहाक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयले गत आइतबारदेखि जिल्लामा एक साता निषेधाज्ञा थप गरेको छ। काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन्। केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन्।

यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा १९७ मा कोरोना सङ्क्रमण पुष्टि भयो । अघिल्लो दिन ५९२ तथा बिहीबार २८२ मा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले जनाएको छ । साथै दैनिक ५० को हाराहारीमा कोरोना सङ्क्रमणमुक्त हुने गरेका छन् भने सरदर चारको मृत्यु हुने गरेको केन्द्रको तथ्याङ्कले देखाएको छ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार ४६९ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा २८ दशमलव ४७ प्रतिशत अर्थात् ७०३ सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये धुलिखेलमा ५४७, पनौतीमा ४९६, पाँचखालमा १६२, नमोबुद्धमा ११०, मण्डनदेउपुरमा १४२ तथा रोशी गाउँपालिकामा ६३, चौँरीदेउरालीमा २९, तेमालमा २८, भुम्लु ६७, खानीखोलामा ३९, बेथानचोकमा ४१ र महाभारत गाउँपालिकामा ४२ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ । कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् दुई हजार ३५० सङ्क्रमित होमआइसोलेशनमा उपचाररत छन्। हालसम्म जिल्लाका ९९ कोरोना सङ्क्रमितको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *