तेन्जी १८ औँ पटक सगरमाथामा

डिसी नेपाल
१० जेठ २०७८ २१:०७

सोलुखुम्बु । ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ खोलाखर्कका तेन्जी शेर्पा १८ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पुग्न सफल भएका छन् । सुमी ट्रेक मार्फत सगरमाथा आरोहणमा गएका क्लाइम्बिङ गाइड उनी सात आरोहीको नेतृत्व गर्दै शिखरमा पुगेको कम्पनीले जनाएको छ ।

सोही कम्पनीमार्फत सगरमाथा आरोहणमा गएका लाक्पा दावा शेर्पाका अनुसार उक्त टोली आज बिहान ४ः३० बजे शिखरमा पुग्न सफल भएको हो । अमेरिकी डोन र एरिक तथा बेलायती ज्याकसहित उनीहरुका चार सहयोगी शेर्पा क्लाइम्बिङ गाइड सगरमाथाको चुचुरामा पुगेर फर्केको आधार शिविरबाट क्लाइम्बिङ गाइड लाक्पा दावाले जानकारी दिए । उनीहरु अब तीन दिनमा आधार शिविर आइपुगेर काठमाडौँ फर्कने बताइएको छ ।

आइतबार अनुकूल मौसम हुँदा करिब १५० आरोही शिखरमा पुगेको तथा आज साउथ समिटमा अत्यधिक हावाका कारण केही आरोही मात्रै शिखरमा पुगेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । आइतबार आरोहण गर्न नसकेका केही समूहका आरोही मात्र शिखर पुगेको भए पनि यकिन विवरण भन्न नसकिने उनको भनाइ छ । जोखिम न्यूनीकरणका लागि एकार्काबीच भेटघाट नहुँदा विवरण लिन नसकिएको हो ।

यस्तै सयौँ आरोही अनुकूल मौसमको पर्खाइमा क्याम्प २ मा रहेको बताइए पनि केही दिन आरोहणका लागि मौसम अनुकूल नदेखिएको सम्पर्क अधिकृत श्रेष्ठले बताए । अब मे २८ र २९ मा आरोहण अनुकूल मौसम हुन सक्ने भएकाले सोही समयको पर्खाइमा आरोही रहेको बताइएको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *