उपत्यकामा कोरोना संक्रमितको चाप घटेको हो ?

तर्कबहादुर थापा
११ जेठ २०७८ ७:२५

काठमाडौं। उपत्यकामा विगत १० दिनको तुलनामा कोरोनाका सक्रिय संक्रमितको संख्या घटेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत जेठ १ गतेदेखि १० गतेसम्म दैनिक कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै आएको देखिन्छ।

जेठ १ गते उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४२ हजार २ सय २५ थियो भने जेठ १० गते त्यो संख्या घटेर २८ हजार ७ सय ८३मा पुगेको छ। औषतमा दैनिक १ हजार ५ सयका दरले सक्रिय संक्रमित घटेको उक्त तथ्यांकले देखाउँछ।

उपत्यकाका विभिन्न अस्पतालहरुमा कार्यरत डाक्टरहरुका अनुसार पनि अहिले कोरोना संक्रमितको सक्रिय संख्यामा केही कमी आएको अनुमान लगाउन सकिन्छ। उनीहरु एकदुई हप्ता पहिलाको तुलनामा अहिले अस्पतालहरुमा पनि विरामीहरुलाई बाहिर राखेर उपचार गर्नु नपरेको बताउँछन्।

एकै पटक ह्वात्त बढ्ने सम्भावना कम छ : डा. शेरबहादुर पुन

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका डा. शेरबहादुर पुन करिव २ हप्तादेखि कोरोना संक्रमित हुनेको दर स्थिर रहेको बताउँछन्। डिसी नेपालसँग कुरा गर्दै डा. पुनले अब केही दिन संक्रमित दर ह्वात्त नबढ्ने बताए।

उनले भने, ‘अहिले सक्रिय संक्रमित हुनेहरु सम्पूर्ण आफ्नै घर भित्रका भए। जतिलाई हुनु पर्ने थियो भयो। अहिले अस्पताल खाली भयो भन्न खोजेको त हैन, तर जुन पहिलाको चाप थियो त्यो चाप कम भएको छ। केहिदिन अघिसम्म अस्पतालको बाहिरै राखेर उपचार गर्नु पर्ने जुन अवस्था थियो अहिले त्यो देखिँदैन।’

अहिले सक्रिय संक्रमित हुनेहरु सम्पूर्ण आफ्नै घर भित्रका भए। जतिलाई हुनु पर्ने थियो भयो। अहिले अस्पताल खाली भयो भन्न खोजेको त हैन, तर जुन पहिलाको चाप थियो त्यो चाप कम भएको छ। केहिदिन अघिसम्म अस्पतालको बाहिरै राखेर उपचार गर्नु पर्ने जुन अवस्था थियो अहिले त्यो देखिँदैन।

अहिले भएको निषेधाज्ञाको कारण बाहिर मान्छेहरुको भीडभान भएकाले पनि कोरोना संक्रमणको ग्राफ स्थिर रहेको हुनसक्ने डा पुनको भनाइ छ। पुनका अनुसार अब उकालो भन्दा पनि ओरालो लाग्ने अवस्था आएको हो। उनले भने, ‘धेरै भन्दा धेरैलाई कोरोना संक्रमण भइसकेको छ। अब यो ग्राफ उकालो भन्दा पनि ओरालो लाग्छ भन्ने मेरो बुझाइ हो। तर, त्यसका लागि अझै केही हप्ता लाग्छ। हामीले केही हप्तासम्म आफूलाई अहिलेको स्थितिमा राख्न सकेको खण्डमा दोश्रो लहरको ग्राफ पनि ओरालो लाग्छ।’

पहिलेको झै आइसीयू र एचडियूको लागि फोन आउँदैन : डा.सुमनबाबु मरहठ्ठा

सिभिल अस्पताल काठमाडौंका डा. सुमनबाबु मरहठ्ठाम पनि पछिल्ला केही दिन यता कोरोना संक्रमित हुनेको संख्यामा कमी आएको बताउँछन्। सिभिलमा अहिले पनि बेडहरुमा कोरोनाका बिरामीहरु भरिएकै भए पनि आइसीयू र एचडियूको लागि आउने फोनमा भने कमि आएको उनको बुझाइ छ।

उनले भने, ‘हाम्रो अस्पतालको क्षमता अनुसार विरामीहरु पूर्ण हुनुहुन्छ। बेडहरु कुनै पनि खाली छैनन्। तर, एक दुई हप्ता पहिला जुन तरिकाले फोन आँउथ्यो। आइसीयू, एचडियू खाली छ कि भनेर त्यो कमी भएको छ। यसबाट अनुमान लगाउन सकिन्छ करिव २ हप्ता पहिलाको भन्दा अहिले कोरोनाको संक्रमण दरमा कमी आएको छ।’

पहिला अस्पतालमा अक्सिजनको कमी भए पनि अहिले भने केही हल भएको उनको भनाइ छ। ‘पहिला कहिलै ३०, कहिलै ६० सिलिण्डरमा दिन्थ्यो सरकारले। अहिले दिनमा १२५ सिलिण्डर ल्याउन पाउने चिठी बनाइ दिएको छ। एकै पटक त पाइँदैन। दुई वटा प्लाण्टहरुमा पटकपटक गरी त्यो संख्यामा सिलिण्डर पाउन थालेपछि अहिले त्यो समस्यालाई पनि सम्बोधन गर्न सकिएको अवस्था छ।’

जति आउँछन् जटिल केस मात्र आउँछन् : डा. सुनिल ढुङ्गेल

भक्तपुर अस्पतालका फिजिसियन डा. सुनिल ढुङ्गेल पछिल्लो दुई साता यता अस्पतालमा विरामीको फ्लो कम भएको बताउँछन्। अस्पतालमा भएको आइसीयू, एचडियू र इमरजेन्सीमा पछिल्ला केही दिन विरामीको उपस्थिति कम भएको उनको भनाइ छ।

उनले भने, ‘पछिल्लो समय जति आउँछन्। बढी अटिल भएका बिरामीमात्र आउने गरेका छन्। एक दुई हप्ता पहिलाको जस्तो विरामीको फ्लो छैन। अक्सिजनमा पनि पछिल्ला दिनहरुमा त्यति समस्या छैन। सहज नै छ भन्नु पर्छ।’

समग्रमा कोरोना संक्रमित हुनेको दर घटेको भन्न नमिल्ने उनको भनाइ छ। उनी काठमाडौं उपत्यकामा केही हप्ता पहिलाको विरामीको अस्पताल आउने संख्यालाई मात्र न्यून भएको भन्न मिल्ने बताउँछन्।

‘सबै निको भयो भन्नै होइन। सबै निको हुन अझै केही हप्ता लाग्न सक्छ। तर, केही हप्ता पहिला जुन अस्पताल आउने विरामीको चाप थियो त्यो चाप मात्र न्यून भयो भन्ने हो।’

कोरोना महामारीको दोश्रो लहर कम हुन अझै पनि केही हप्ता लाग्ने उनको भनाइ छ। ति केही हप्तासम्म सबैले आ–आफ्नो तर्फबाट अपनाउनु पर्ने सुरक्षाका उपाएहरु अपनाइराख्न पनि उनले अनुरोध गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *