तत्काल खोपको सुनिश्चितता गर्न प्रधानमन्त्रीको निर्देशन

डिसी नेपाल
११ जेठ २०७८ २०:१२
136
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सबै नागरिकलाई खोपको सुनिश्चितता हुनेगरी काम गर्न स्वास्थ्य र परराष्ट्रमन्त्रीलाई निर्देशन दिएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशअनुसार बनेको कोभिड–१९ निर्देशक समितिको पहिलो बैठकमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढंगले काम गर्न कोभिड–१९ व्यवस्थापन केन्द्रलाई (सीसीएमसी) निर्देशन दिएका छन् ।

ओलीले कोभिड–१९ नियन्त्रण सम्बन्धी र सार्वजनिक खरिद ऐन सम्बन्धी अध्यादेशले सम्पूर्ण प्रक्रियागत जटिलताहरूको समाधान गरेको भन्दै स्थानिय तहसम्मै तदारुकताका साथ काम अघि बढाउन कोभिड–१९ व्यवस्थापन केन्द्र(सीसीएमसी) लाई निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले जनताको जीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्ने छुट कसैलाई नभएको समेत बताए। सरकारले हालै ल्याएको कोभिड १९ सम्बन्धी अध्यादेश बमोजिम गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति र स्रोत साधन सरकारले तत्कालै उपलब्ध गराउने समेत उनले बताए । प्रधानमन्त्रीले केन्द्रबाट संक्रमणको सम्पूर्ण तथ्य तथ्याङ्क हासिल गरी उपचार सेवाको अवस्था, चिकित्साकर्मी र स्वास्थ्य उपकरणको उपलब्धताबारे अध्यावधिक जानकारी लिने र कमी भएका स्थानमा आपूर्ति गर्नका लागि संयोजन हुनुपर्ने बताए ।

‘‘पालिका पालिकासम्म समन्वय गरी कति संक्रमित छन्, होम आइसोलेशनमा कति बसेका छन् ? कति जँचाउन आएका छन् कति आएका छैनन् तिनको अवस्था के छ भन्ने सम्मको पूर्ण जानकारी देखि हामीसँग खोप कति छ भन्ने कुराको जानकारी लिएर कुनै कुराको पनि अभाव हुन नपाओस् भन्नेतर्फ ध्यान दिनुपर्छ ।’’ उनले भने ।

विगतमा अक्सिजनको आपूर्तिलाई सरकारले विमानबाट सिलिण्डर मगाएर समेत उच्च महत्व दिएको प्रधानमन्त्रीले उल्लेख गरे । अहिले विभिन्न मित्र राष्ट्रहरुबाट अक्सिजन सिलिण्डर मात्र नभई अक्सिजन प्लान्ट जहाजकै बाटोबाट ल्याउने, लिक्विड अक्जिजन सिलिण्डर कै व्यवस्था गर्न पनि सरकार लागिपरेको उल्लेख गरे । यसबाट अक्सिजनको आपूर्तिमा दोस्रो लहरको सुरुवाती अवस्था भन्दा अहिले उल्लेख्य सुधार आएको समेत प्रधानमन्त्रीले बताए ।

बैठकमा कोरोना–१९ व्यवस्थापन केन्द्रका पदाधिकारी उपस्थिति थियो । सोमबार सरकारले कोरोना व्यवस्थापन केन्द्रका प्रमुखमा अवकासप्राप्त रथी बालानन्द शर्मालाई नियुक्त गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *