यसकारण शव दाहमा जोगिएको छ सरकारको इज्जत (तथ्यांकसहित)

डिसी नेपाल
१२ जेठ २०७८ ७:०६

काठमाडौं। कोभिडको महामारीमा आफ्ना जनतालाई न्यूनतम आवश्यकतास्वरुप प्राणवायु अक्सिजन दिन नसकेर शिर निहुर्याएको सरकारले मृतकको अन्तिम संस्कारमा भने त्यस्तो बद्नामी सहनु परेको छैन।

पहिलो वेभदेखि नै यो महासंकटसँग लड्न आवश्यक तयारी गर्नु पर्ने नेपाल सरकार जनताहरु अक्सिजन नै पाउन नसकेर भकाभक मर्न थालेपछिमात्र सिलिण्डर भेला पार्दै र अक्सिजन प्लाण्टका लागि विदेशीसँग हात थाप्दै हिँडेको छ।

तर, जनताको मृत्यु रोक्न नसके पनि कोभिडका मृतकको अन्तिम संस्कारको अपजस भने सरकारले अहिलेसम्म बोक्नु परेको छैन छिमेकी देश भारतमा जस्तो।

छिमेकी देश भारतमा गंगा नदीका किनारामा बालुवाले अर्ध छोपिएको अवस्थामा असरल्ल पारेर छोडिएका मानव शवहरुको हृदयविदारक तस्वीर र भिडियोहरुले पूरै संसारलाई नै शोकमग्न बनाएको छ। साथसाथै आफ्नो सरकारप्रति भारतीय जनतामा चरम आक्रोश र निराशा पनि उत्पन्न गराएको छ।

कोभिडको प्रकोप शुरु भएदेखि जेठ १० गतेसम्म सेनाले ६ हजार ७ सय ४५ वटा शवहरु आफैंले दाहसंस्कार गरेको छ।

कोभिडले मृत्यु भएको आवश्यक कागजात प्राप्त भएपछि नेपाली सेनाले ती शवहरुलाई धार्मिक संबेदनशीलताका साथ सम्मानपूर्वक अन्तिम संस्कार गर्दै आएको छ काठमाडौं र देशैभरि।

सैनिक जनसम्पर्क निर्देशनालयको तथ्यांकअनुसार, कोभिडको प्रकोप शुरु भएदेखि जेठ १० गतेसम्म सेनाले ६ हजार ७ सय ४५ वटा शवहरु आफैंले दाहसंस्कार गरेको छ। सबैभन्दा बढी चाप परेको काठमाडौं उपत्यकामा पशुपति आर्यघाटस्थित इलेक्ट्रिक क्रिमिटोरियम मेसिनले मात्र सम्भव नभएपछि सेनाले दाउरा नै प्रयोग गरेरै भए पनि बागमतीको किनारमा शवहरुको अन्तिम संस्कार गर्ने गरेको छ।

कोभिड लागेर नेपालमा ज्यान गुमाउने २९ जना विदेशी नागरिकको अन्तिम संस्कार पनि सेनाले नै गरिदिएको छ। जसमा २५ जना भारतीय नागरिक छन्। त्यसैगरी १ जना अमेरिकन, एक चिनियाँ र एक सुडानी नागरिको अन्तिम संस्कार उनीहरुको धार्मिक परम्पराअनुसार, परिवारको समेत सहमतिमा नेपाली सेनाले गरिदिएको छ।

नेपाली सेनाका अनुसार, जेठ १० गतेसम्मको तथ्यांकअनुसार, काठमाडौं उपत्यकामा मात्र ३३ सय ५५ वटा कोभिडले मृत्यु भएका नेपालीजनको शव सेनाले अन्तिम संस्कार गरेको छ।

त्यसैगरी पूर्वी पृतनाले ६ सय ४० वटा, मध्य पूर्वी पृतनाले २९५ वटा, मध्य पृतनाले ५ सय १३ वटा, पश्चिम पृतनाले ४ सय ८४ वटा, मध्य पश्चिम पृतनाले ६ सय ८९ वटा, उत्तर पश्चिम पृतनाले ४ सय २२ वटा र सुदुर पश्चिम पृतनाले ३ सय २१ वटा शबहरुको अन्त्येष्टि गरेको छ।

सैनिक मुख्यालयका अनुसार, यसरी अन्तिम संस्कार गर्दा विश्व स्वास्थ्य संगठनको मापदण्डलाई जस्ताको तस्तै पालना गरिएको छ। जसमा कोभिडले मृत्युभएका व्यक्तिको शव कसरी छुने, कसरी बेर्ने, कसरी उठाउने र कस्तो पीपीईको प्रयोग गर्ने तथा कसरी जलाउनेसम्मका कुरा उल्लेख गरिएका छन्।

त्यसका अलावा हिन्दू धार्मिक विधिअनुसार, मृतकको शवलाई टाढैबाट भए पनि आफन्तलाई अन्तिम दर्शनको अवसर दिने र विधिपूर्वक जलाउने कुरालाई पनि सेनाले पालना गरेको छ। सेनाले महिलाको शव व्यबस्थपनका लागि महिला सिपाहीलाई पनि खटाउन थालेको छ।

यसरी शब अन्त्येष्टिका लागि कर्णाली र काठमाडौंमै पनि गाउँ गाउँका स्वास्थ्य चौकीमा पुग्न निकै कठिन पर्ने गरेको भए पनि दिनमा झण्डै २ सयभन्दा बढी सैनिकहरुलाई खटाएर कोभिडबाट मृत्यु भएकाहरुको अन्तेष्टि सेनाले गर्दै आएको छ।

कोभिड लागेर नेपालमा ज्यान गुमाउने २९ जना विदेशी नागरिकको अन्तिम संस्कार पनि सेनाले नै गरिदिएको छ। जसमा २५ जना भारतीय नागरिक छन्। त्यसैगरी १ जना अमेरिकन, एक चिनियाँ र एक सुडानी नागरिको अन्तिम संस्कार उनीहरुको धार्मिक परम्पराअनुसार, परिवारको समेत सहमतिमा नेपाली सेनाले गरिदिएको छ।

पीपीई लगाएर हिड्नुपर्ने र लामोबाटो हिडेर स्वास्थ्य केन्द्रबाट त्यस्ता शव उठाई सद्गत गर्नु पर्ने हुँदा गर्मीको मौसममा सो काममा खटिने सैनिकहरु पसिनाले निथ्रुक्क भिज्ने गरेका छन्।

सैनिक स्रोतका अनुसार, यसरी ज्यान हत्केलामा राखेर कोभिडको महामारीमा समुदायमा रोग फैलनबाट रोक्न सेनाले शव आफैंले जिम्मा लिएर परिवारहरुसँगको समन्वयमा अन्तिम संस्कार गर्दै आएको भए पनि सो कार्यमा खटिने सैनिकहरुलाई हालसम्म कुनै प्रोत्साहन भत्ता सरकारले उपलब्ध गराएको छैन।

सौभाग्यबस, कोभिड संक्रमितहरुको अन्तिम संस्कार गर्न खटिएपनि सो कार्यमा खटिने सैनिकहरुमा हालसम्म कोभिडको संक्रमण भने देखिएको छैन। प्राप्त तथ्यांकअनुसार, देशभरका करिब १ लाखको सैनिक शक्तिमा ५ हजार ८ सय २७ सैनिकहरु संक्रमित भएकोमा ५ हजार ४ सय २ जना निको भइसकेका छन् भने ४ सय २० जना अझै सक्रिय संक्रमित छन्।

उनीहरुको विभिन्न स्वास्थ्य केन्द्रहरुमा र होम आइलोसेनमै उपचार भइरहेको छ। हालसम्मको तथ्यांकअनुसार जम्मा ५ जना सैनिकहरुकोकोभिड संक्रमणका कारण मृत्यु भएको छ।

सेनाको शव व्यबस्थापन टोलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सिसिएमसीले लिखित जानकारी दिनुपर्ने प्रोटोकल नेपाल सरकारले तय गरेको थियो। सिसिएमसीले मृतकबारेको लिखित पत्र दिएपछि सम्बन्धित अस्पतालमै पुगेर शव उठाउने र अन्तिम संस्कार गर्ने गर्दछ।

संक्रमितको शव सेनासम्म पुग्नै मुस्किल

तर, सेनासम्म मृतकको शवबारेको पत्र पुग्न भने निकै मुस्किल पर्ने गरेको भोगाइ मृतकका आफन्तहरुको छ। कोभिडको कारण मृत्यु भइसकेपछि सम्बन्धित अस्पतालले सिसिएमसीलाई जानकारी दिनुपर्ने र सिसिएमसीले सेनालाई जानकारी दिएपछिमात्र दाहसंस्कारको प्रक्रिया शुरु हुन्छ।

तर, निजी अस्पतालहरुले पैसा चुक्ता नहुन्जेलसम्म पत्रै नलेखिदिने गरेका कारण आफन्त गुमाएर त्यसै मर्माहत भएका जनतालाई थप पीडित बनाउने गरेको पाइएको छ। कोभिडको उपचार सरकारले निशुल्क गर्दै आएको भए पनि धेरैजसो निजी अस्पतालहरुले अत्यन्त महंगो शुल्क असुल्दै आएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *