नगरवासीलाई चरणबद्ध खोप दिँदै धुलिखेल

डिसी नेपाल
१३ जेठ २०७८ ७:१५

काठमाडौं । धुलिखेल नगरपालिकाले थप ५ हजार जना नगरवासीलाई खोप लगाउने पहल गरिरहेको छ। नगरभित्र रहेका नागरिकलाई प्राथमिकताको आधारमा पहिलो र दोश्रो चरणको खोप लगाइसकेको भए पनि थप ५ हजारलाई खोप लगाउने पहल भएको नगर प्रमुख अशोक कुमार ब्याञ्जुले जानकारी दिए।

‘हामीले पहिलो चरणमा ६ हजार ९ सय ९५ जनलाई खोप लगाएका थियौं’ नगर प्रमुख ब्याञ्जुले डिसी नेपाललाई भने, ‘दोश्रो चरणमा पनि २ हजार ३ सय जनालाई लगाइसकिएको छ। ४ सय जना लगाउने क्रममा हुनुहुन्छ। अब अर्को चरणको ५ हजार जनाका लागि पहल भइरहेको छ।’

नगरबासीको स्वास्थ्यलाई पहिलो प्राथामिकतामा राखेर काम गरिरहेको प्रमुख ब्याञ्जुको भनाइ छ। उनले आफू नगरबासीको सेवाका लागि नगर प्रमुख जस्तो पदमा बसेको भन्दै उनीहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेकाे जानकारी दिए।

पहिलो लहरको कोरोना संक्रमणलाई उदाहरणीय तरिकाले शून्यतामा झारेको धुलिखेल नगरपालिकाले दोश्रो लहरसँग पनि डटेर लडिरहेको उनले बताए। ‘आवश्यक्ता अनुसार निषेधाज्ञा, सील गर्ने लगाएतका टुल्सहरु प्रयोग गरेका छौं’, प्रमुख ब्याञ्जुले भने, ‘दोश्रो लहरका लागि डटेर लागेका छौं। अहिलेसम्म अक्सिजन सहितको आइसोलेसन् सेवा, धुलिखेल अस्पतालको व्यवस्थापनको काम लगायत कोभिडको दोश्रो लहरले धेरै प्रभाव नपार्ने गरी काम गरिरहेका छौं र खोप पनि चाडैँ नै व्यवस्था गर्ने छौं।’

पहिलो चरणमा ४ हजार ४ सय ५९ जनालाई नगरपालिकाबाट र २ हजार ५ सयजनालाई धुलिखेल अस्पतालबाट खोप लगाइएको हो। यस्तै, दोश्रो चरणमा पनि २ हजार ३ सय २ जनालाई नगरपालिकाबाट खोप प्रदान गरिएको छ भने ४ सय जना खोप लगाउने प्रक्रियामा रहेका छन्।

नगरमा भारतबाट आएको कोभिसिल्ड र चीनबाट आएको भेरोसेल दुबै प्रकारको खोप लगाएको नगर प्रमुख ब्याञ्जुले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *