सगरमाथामा आजकै दिन बनेको थियो इतिहास तर विश्वले थाहा पाउन ४ दिन लाग्यो

डिसी नेपाल
१५ जेठ २०७८ १०:२०

काठमाडौं। २९ मे १९५३ को दिन दिउँसो ११ बजेर ३० मिनेटको समय । नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका आरोही एडमण्ड हिलारी यही मिति र समयमा सगरमाथाको शिखरमा पुगेका थिए । सगरमाथाको शिखरमा मानव पाइला परेको त्यो पहिलो पटक थियो । सगरमाथामा त्यो दिन इतिहास त बन्यो तर विश्वको सर्वोच्च स्थानमा बनेको यो अद्भूत इतिहासबारे विश्वले थाहा पाउन भने अझै ४ दिन पर्खिनुपरेको थियो ।

यो घटनालाई विश्वले ऐतिहासिक उपलब्धीको रुपमा स्मरण गरिरहन्छ । आज यो इतिहास बनेको ६८ वर्ष पूरा भएको छ । यो अभियान बेलायतले संचालन गरेको थियो । विश्वले यो ऐतिहासिक उपलब्धीको जानकारी ४ दिनपछि २ जूनका दिन मात्र पायो । जुन दिन विश्वले सगरमाथामा पहिलो पटक मानव पाइला परेको जानकारी पायो त्यही दिन बेलायतले पनि औपचारिक रुपमा नयाँ महारानी पायो । त्यस दिन अर्थात २ जूनका दिन बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेक थियो ।

८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा विश्वको सर्वोच्च शिखर हो । निकै चिसो मौसम, सीधा चढाइ र हिउँको तुफानका कारण यो शिखरमा पुग्ने कैयौं प्रयासपछि पनि कोही मानिस पुग्न सकेका थिएनन् । १९२१ मा बेलायतले नै एक अभियान अन्तर्गत पर्वतारोहीको एक दल सगरमाथामा पठाएको थियो तर एक भयानक हिउँको तुफानले यो दलको बाटो रोकिदियो । पूरै दल मिशन अधुरै छोडेर फर्कियो । यो प्रयासले सफलता त पाएन तर दलमा सहभागी जर्ज ले मेलरीले आरोहणको प्रयासका क्रममा शिखरसम्म पुग्ने केही सजिलो बाटो देखेका थिए ।

अर्को वर्ष मेलरी फेरि सगरमाथा आरोहण गर्न गए । यस पटक उनी २७ हजार फिटको उचाइसम्म पुगे तर फेरि मौसमले साथ दिएन । यसैगरी सगरमाथा आरोहण गर्ने प्रयास जारी रहे । १९५२ मा तेन्जिङ नोर्गे २८ हजार २१० फिटको उचाइसम्म पुगेका थिए तर अझै पनि शिखर टाढा नै थियो । अर्को वर्ष बेलायतले कर्णेल जोन हन्टको अगुवाइमा एक दल सगरमाथामा पठाउने तयारी गर्यो । तेन्जिङ नोर्गे र एडमण्ड हिलासी यो दलका सदस्य थिए । यो दललाई पूरै तयारीका साथ सगरमाथा आरोहणका लागि पठाइयो ।

१९५३ को अप्रिलमा दलले आरोहण सुरु गर्यो । यो दल २६ हजार फिटको उचाइसम्म पुगेको थियो । अगाडिको बाटो अझै कठिन थियो । २६ मेमा दलका सदस्यहरु चार्ल्स इभान्स र टोम बोर्डिलनले अन्तिम आरोहण सुरु गरे । शिखरभन्दा करिब ३ सय फिट तल पुग्दा अक्सिजन मास्कमा खराबी आएपछि उनीहरु फर्किनुपर्यो ।

२८ मेका दिन तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले आरोहण सुरु गरे । दिनभर आरोहणपछि उनीहरुले २७ हजार ९ सय फिटको उचाइमा हिउँको तुफान र चिसोमै रात बिताए । बिहान फेरि आरोहण सुरु गरे । बिहान ९ बजेसम्म उनीहरु उत्तरी चट्टानसम्म पुगेका थिए । यी दुई आरोही र सगरमाथाको शिखरबीच अब ४० फिट अग्लो हिउँको चट्टान उभिएको थियो । हिलारी डोरीको सहयोगमा चट्टानको बीचको एक दरार हुँदै माथि गए । उनले त्यहाँबाट डोरी फ्याँके । तेन्जिङले त्यही डोरी समातेर माथि गए । बिहान साढे ११ बजे उनीहरु विश्वको सर्वोच्च शिखरमा थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *