सांसद झुक्किएको कि छाडा भएको ? जूम बैठकमा नाङ्गिने सांसदको लाजमर्दो हर्कत दोहोरियो

डिसी नेपाल
१६ जेठ २०७८ १७:०८

काठमाडौं। कोरोनाभाइरसका कारण अनलाइन माध्यमबाट भइरहेका बैठकमा सहभागीहरुले बेलाबेलामा गर्न नहुने काम गरेको क्यामेरामा देखिएका घटनाहरु धेरै भए । त्यस्ता घटनामा पर्नेहरुले माफी मागे र झुक्किएर यस्तो भएको सफाइ दिए । तर, क्यानडाका एक जना सांसदको यस्तो हर्कत दोहोरिएपछि उनले यस्तो काम झुक्किएर गरेका हुन् वा जानीजानी गरेका हुन् भन्ने प्रश्न उठेको छ ।

एक महिनाअघि अनलाइन संसद बैठकमा नाङगै भएर क्यामेराअगाडि आएका क्यानडाका सांसद विलियम अमोसको लाजमर्दो हर्कत दोहोरिएको छ । डेलीमेलको रिपोर्टअनुसार सांसद अमोस अनलाइन बैठकको क्रममा क्यामेराअगाडि कफीको कपमा पिसाब गरिरहेको देखिएका छन् । यो हर्कत उनले झुक्किएर गरेका हुन् वा जानीजानी गरेका हुन् भन्ने कुराको स्वतन्त्र पुष्टि हुन सकेको छैन । सांसद अमोस स्वयंले भने आफूले जानेर यस्तो नगरेको दावी गरेका छन् ।

यी सांसदले एक महिनाको अवधिमै दोस्रो पटक यस्तो हर्कत गरेपछि स्वयं सांसद अमोस मात्र नभइ बैठकमा सहभागी सबैको लागि लज्जाको विषय बनेको छ । क्यानडाको संसदको तल्लो सदन हाउस अफ कमन्सको बैठकमा सांसद अमोसको यस्तो हर्कत देखिएको हो । एक महिना अगाडि पनि यिनै सांसद संसद बैठकको क्रममा क्यामेराअगाडि निर्वस्त्र देखिएका थिए ।

अघिल्लो महिना जस्तै यस पटक पनि सांसद अमोसले आफ्नो यो हर्कतको लागि माफी मागेका छन् । उनले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै लेखेका छन् ‘अघिल्लो रात हाउस अफ कमन्सको कार्यवाहीको क्रममा मैले एक गैर सार्वजनिक काम गरें । मैले बैठकको क्रममा पिसाब गरिदिएँ र पछि मलाई महसुस भयो कि म क्यामेरामै छु ।’ सफाइ दिँदै सांसद अमोसले यो आकस्मिक भएको बताउँदै बिना शर्त माफी मागेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *