डाक्टरले आफ्नै वीर्यसँग धाँधली गरे, घटनाको ४० वर्षपछि अहिले हल्लाखल्ला

डिसी नेपाल
१९ जेठ २०७८ १२:४०

काठमाडौं। अमेरिकाको न्यूयोर्क सहरमा ‘मेडिकल बलात्कार’को निकै विचित्र घटनाको खुलासा भएको छ । यहाँकी एक महिलाले घटनाको ४० वर्षपछि डाक्टरमाथि मेडिकल बलात्कारको आरोप लगाएकी छिन् । महिलाका अनुसार त्यतिबेला उनलाई गर्भधारणका लागि समस्या भइरहेको थियो त्यसैले उनी यसको समाधानको लागि डा. मार्टिन ग्रिनबर्गकहाँ गएकी थिइन् । त्यतिबेलै डाक्टरले आफूलाई मेडिकल रुपमा बलात्कार गरेको भन्दै बियांका वोस नामकी यी महिलाले डा. ग्रिनबर्गविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।

अदालतमा पेश गरेको दस्तावेजमा बियांकाले उल्लेख गरेअनुसार १९८३ मा गर्भधारणसम्बन्धी सेवाका लागि उनी डा. ग्रिनबर्गकहाँ गएकी थिइन् । त्यतिबेला बियांकालाई गर्भधारण गर्नको लागि कुनै वीर्य दाता चाहिएको थियो । तर, डाक्टरले उनको सहमति र जानकारी बिना बियांकालाई आफ्नै शुक्रकिटबाट गर्भवती बनाइदिए । यो कुरा बियांकाले अहिले थाहा पाएकी छिन् । उजुरीमा बियांकाले लेखेकी छिन् ‘केही मानिसहरु यो भयानक कृत्यलाई मेडिकल बलात्कार भन्छन् । ग्रिनबर्गले जानीजानी गरेको यो जघन्य काम अनैतिक, अस्वीकार्य र अवैध छ ।’

बियांकाका अनुसार उनकी छोरी रोबर्टाले अहिले आफ्नो डिएनए प्रोफाइल फेला पारेपछि डाक्टरको कर्तुतको खुलासा भएको हो । बियांकाले अदालतमा पेश गरेको दस्तावेजमा आफूले डाक्टरलाई अन्जान वीर्यदाता खोजिदिन भनेको उल्लेख गरेकी छिन् । यसको लागि ग्रिनबर्गले उनीसँग १०० डलर शुल्क पनि लिएका थिए । डाक्टरले उनीसँग वीर्यदाताको जाति वा धर्मलाई लिएर बियांकाको कुनै प्राथमिकता छ कि भनेर सोधेका थिए । डाक्६रले वीर्यदाता यहुदी भएमा सकस्या हुन्छ कि हुन्न भनेर पनि सोधेका थिए र बियांकाले कुनै फरक नपर्ने बताएकी थिइन् ।

एनबीसी न्यूजसँग कुरा गर्दै बियांकाले बताएअनुसार उनलाई त्यतिबेला वीर्यदाता डाक्टरकै कुनै मेडिकल विद्यार्थी होला जस्तो लागेको थियो तर वास्तविकता अर्कै थियो । यसपछि बियांकाले १९८४ मा छोरी जन्माइन् । बियांकाका अनुसार डाक्टरले उनलाई आफ्नै वीर्यको प्रयोग गर्ने बताएका थिएनन् । डाक्टरले वीर्यदाता कुनै अन्जान व्यक्ति हुने बताएका थिए र उनले डाक्टरले आफ्नै वीर्य प्रयोग गर्न नसक्ने पनि बताएका थिए । यस विषयमा डा. ग्रिनबर्गको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

खासमा बियांकाकी छोरी रोबर्टा आफ्नो परिवारको इतिहासबारे जान्ने कोसिस गरिरहेकी थिइन् । यही क्रममा उनले आफ्ना जैविक पिताको बारेमा जानकारी पाइन् । रोबर्टाको डिएनए प्रोफाइलमा उनका जैविक पिताको नाम मार्टिन ग्रिनबर्ग उल्लेख थियो । आफ्नो मेडिकल इतिहास जान्नको लागि रोबर्टाले पटक पटक डा. ग्रिनबर्गसँग सम्पर्कै गर्ने कोसिस पनि गरेकी थिइन् तर डा. ग्रिनबर्गले कुनै जवाफ दिएनन् । बियांकाले यस विषयमा डा. ग्रिनबर्गसँग ७५ हजार डलर क्षतिपूर्ति मागेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *