चीनसँग छ वास्तविक सूर्यभन्दा १० गुणा शक्तिशाली सूर्य !

डिसी नेपाल
२० जेठ २०७८ १०:३२

काठमाडौं। हाम्रो पृथ्वीलाई तातो र उज्यालो दिने वास्तविक सूर्यभन्दा १० गुणा शक्तिशाली सूर्य चीनसँग छ । यो वैज्ञानिकहरुले बनाएको नक्कली सूर्य हो तर यसले वास्तविक सूर्यले भन्दा धेरैै ताप र प्रकाश दिन सक्छ र यसले हामीलाई पर्ने ऊर्जाको आवश्यकता पनि पूरा गर्न सक्छ । हालै यो कृत्रिम सूर्यको तापमान सक्रिय गराइएको थियो । यस क्रममा यो कृत्रिम सूर्यको तापमान वास्तविक सूर्यको भन्दा १० गुणा बढीसम्म पुगेको थियो । प्रस्ट भाषामा भन्दा १०० सेकेण्डसम्मको लागि यो कृत्रिम सूर्य वास्तविक सूर्यभन्दा १० गुणा बढी तातो रह्यो ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले जनाएअनुसार यो कृत्रिम सूर्यले १०० सेकेण्डको लागि १२० मिलियन डिग्री सेल्सियस तापक्रम हासिल गरेको थियो । यस क्रममा एक पटक यो सूर्यको तापक्रम उच्चतम विन्दूमा पुग्दा यसको तापक्रम १६० मिलियन डिग्री सेल्सियससम्म पुगेको थियो । चिनियाँ वैज्ञानिकहरुका अनुसार यो कृत्रिम सूर्यले १२० मिलियन डिग्री सेल्सियसको तापक्रम प्राप्त गर्नु ठूलो सफलता हो । यससँगै चिनियाँ वैज्ञानिकहरुले यसअघि १०० सेकेण्डको लागि १०० मिलियन डिग्री सेल्सियस तापक्रम हासिल गरेको आफ्नो पुरानो रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेका छन् ।

शेनझेनको साउदर्न युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीको भौतिक विभागका निर्देशक ली मियाओका अनुसार वैज्ञानिकहरुको अबको लक्ष्य यो रिएक्टरलाई एक हप्तासम्म लगातार स्थिर तापमानमा चलाउनु हुन सक्छ । ग्लोबल टाइम्ससँग कुरा गर्दै मियाओले भने ‘यो महत्वपूर्ण सफलता हो । अबको लक्ष्य तापमानलाई लामो समयसम्म स्थिर राख्नु हो । अब यो दिशामा काम गरिनेछ ।’ चीनको पूर्वी अनहुइ प्रान्तमा रहेको यो रिएक्टरलाई अत्याधिक ताप र शक्तिका कारण कृत्रिम सूर्य भनिन्छ । यसलाई गएको वर्षको अन्तिममा तयार गरिएको थियो ।

चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले भनेको छ ‘परमाणु संलयन ऊर्जाको विकास केवल चीनको रणनीतिक ऊर्जा आवश्यकतालाई हल गर्ने एक तरिका मात्र नभइ चीनको ऊर्जा र राष्ट्रिय अर्थव्यवस्थाको भविष्यको निरन्तर विकासको लागि पनि धेरै महत्वपूर्ण छ ।’ चीनका वैज्ञानिकहरुले २००६ देखि न्यूक्लियर फ्युजन रिएक्टरको सानो संस्करण विकसित गर्ने काम गरिरहेका छन् । फ्रान्समा पनि विश्वको सबैभन्दा ठूलो न्यूक्लियर फ्युजन अनुसन्धान परियोजना चलिरहेको छ यो २०२५ मा पूरा हुने अपेक्षा गरिएको छ ।

दक्षिण कोरियाले पनि यस क्षेत्रमा काम गरिरहेको छ । दक्षिण कोरियाको कृत्रिम सूर्य कोरिया सुपरकन्डक्टिङ टोकामक एड्भान्स्ड रिसर्च पनि छ जसले २० सेकेण्डको लागि १०० मिलियन डिग्री सेल्सियस तापक्रम स्थिर राख्न सफल भएको छ । चीनको रिएक्टरलाई सूर्यभन्दा शक्तिशाली यसकारण भनिएको हो किनकि यसको तापक्रम उच्चतम विन्दूमा पुग्दा १२० डिग्री सेल्सियस पुगेको थियो र २० सेकेण्डसम्म स्थिर रहेको थियो । वास्तविक सूर्यको कोरको तापक्रम १५ मिलियन डिग्री सेल्सियस मानिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *