‘छन्दमा लेख्नेले गद्य कवि र गद्यमा लेख्नेले छन्द कविको विरोध गर्छन्’ – Dcnepal

‘छन्दमा लेख्नेले गद्य कवि र गद्यमा लेख्नेले छन्द कविको विरोध गर्छन्’

नेपाली साहित्यमा पूर्णकालीन र पत्रकारितामा अल्पकालीन निपूर्ण नाम हो प्रोल्लास सिन्धुलीय ।

कविता, उपन्यास, कथा, निबन्ध, गीत, गजलजस्ता बहुविधामा कलम चलाएका उनका ५ कवितासङ्ग्रह– ‘बाहिर एकमुठी तुसारो छ’ (२०५३), ‘शब्दहरूको नेपथ्य’ (संयुक्त, २०५६), ‘चुपचापको अन्त्य’ (२०६१), ‘झण्डालाई डिभी पर्यो भने के हुन्छ ?’ (२०६९), ‘जन्मजात बाहुनको विज्ञप्ति’ (२०७४), बालचित्रकथा÷सङ्ग्रहका ५ कृतिका साथै ‘आँखाभरि भुइँकुहिरो’ (गजलसङ्ग्रह, २०५९), ‘हिँड्दै थिएँ उकालीमा’ (गीतसङ्ग्रह, ०६९), ‘कल्पना पाण्डेः दूध हालेको चिया खान्छे’ (यात्रा–निबन्धसङ्ग्रह, २०७१), ‘टाउको नभएको तस्वीर’ (लघुकथासङ्ग्रह, ०७३), ‘शून्य डिग्री’ (उपन्यास, २०७३), ‘भग्न दैनिकी’ (दैनिकी, २०७५) प्रकाशित छन् ।

भैरव अर्यालको जीवनीमा आधारित आख्यान ‘भग्न भैरव’को अन्तिम तयारीमा लागेका उनका ‘बागबजार बोल्दैन’ (कथासङ्ग्रह), ‘गैयाँटार गमक’ (उपन्यास) र ‘शहरको वृद्धालय’ (कवितासङ्ग्रह) पनि प्रकाशनको सङ्घारमा छन् ।

साहित्यका विभिन्न विधामा कलम चलाउने सिन्धुलीय साहित्यलाई ‘पैसा कमाउने पेशा हो कि होइन ?’ भनेर प्रश्न गर्नु नै अनावश्यक ठान्छन् । साहित्य सामाजिक सेवायुक्त कार्य भएको उनको धारणा छ ।

कविताको संरचना अर्थात् छन्द र गद्य विषयमा कुरा उठ्दा कविले कविको विरोध गरेको उनी देख्दैनन् । उनी भन्छन्, “छन्दमा लेख्नेले गद्यकविको र गद्यमा लेख्नेले छन्दकविको उछित्तो काढ्ने गरिएको देखिन्छ । तर, छन्द वा गद्यमा कविता लेख्नेले एकअर्काको विरोध गरेको देखिँदैन ।” कविता लेख्नै नजान्ने तर कवि हौँ भन्ने भ्रम पाल्नेले मात्र विभिन्न बहानामा विरोध र समर्थन गरिरहेको उनको बुझाइ छ ।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय साहित्यसित प्रतिष्पर्धा गराउन कसरी सकिएला ? यस विषयमा अलग्गै र व्यापक बहस हुनुपर्ने उनको भनाइ छ ।

एक पत्रकार, कवि, आख्यानकार, निबन्धकार वा भनौँ बहुविधामा कलम चलाउने साहित्यकार सिन्धुलीयसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंशः

यो महामारीमा दिनहरू कसरी व्यतित हुँदै छन् ?

यस बीचमा म आफैँ बिरामी भएँ । ढाडको समस्याले बेडबाट उठ्नै नसक्ने भएर घरमा बस्दा बाहिर निषेधाज्ञा भएको थियो । मेरा लागि दोहोरो भयो, बाहिर जान नसक्ने र नपाउने । लेख्ने मान्छेलाई फुर्सद चाहिन्छ, म पनि फुर्सद खोजिरहन्थे । यो त्यस्तै खालको समय आएको थियो । तर, आफ्नै स्वास्थ्यको कारण मैले त्यो समय सदुपयोग गर्न पाइनँ ।

साहित्यिक लेखनमा कोरोनाको प्रभाव कस्तो पर्यो ?

सुतेरै भए पनि धेरथोर अध्ययन गर्न सक्ने अवस्था मेरो थियो । तर, आफन्त, साथीभाइ, नातेदारहरू अप्ठ्यारोमा परिरहेको बेला लेख्ने, पढ्ने जाँगर पनि त्यसै सेलाउँदो रहेछ । मैले लेख्न त कुरै छाडौँ, राम्रोगरी पढ्न पनि सकिनँ । साथीहरूले लेखिरहेको देख्छु, तर खासै गम्भीर लेखन गर्न सकिरहेझैँ लाग्दैन । लेखनमै समर्पित हाम्रा लागि एकदमै अप्ठ्यारो परिस्थितिको निर्माण भयो । अन्य क्षेत्रमा परेजस्तै साहित्यमा पनि यसको नराम्रो प्रभाव परेको छ ।

तीन सालअघि ३५ दिन क्वारेन्टाइनमा बसेको जस्तै गरी मैले भैरव अर्यालको जीवनीलाई आख्यानीकरण गरेको थिएँ । त्यो पाण्डुलिपि पढेर अर्यालनिकट एवम् विशिष्ट आख्यानकारहरूले दिनुभएका सुझाव, सल्लाहअनुसार परिमार्जन गर्दै यही समयमा मेरो तर्फबाट फाइनल गरेको छु । महामारीमा गर्न सकेको भनेको यत्ति हो ।

साहित्य लेख्नका लागि वातावरण कस्तो चाहिन्छ ?

लेखन भनेको गम्भीर कार्य हो । गतिलो लेख्ने हो भने गम्भीरतापूर्वक विचार गरेरै लेख्नुपर्छ । सिकारु हुँदा आज दिनभरिमा ५ वटा कविता लेख्नुपर्छ भनिन्थ्यो र लेखिन्थ्यो पनि । त्यो बेलामा लेखनप्रति त्यति ठूलो दायित्व पनि हुन्थेन । जब गम्भीरताका साथ साहित्य लेख्नुपर्छ भन्ने बुझ्दै गइयो, वर्षमा ५ वटा कविता लेख्न पनि मुस्किल हुन थाल्यो ।

भन्न त साथीसङ्गीहरू ‘मध्यरातमा फुर्यो’, ‘हिँड्दाहिँड्दै फुर्यो’ इत्यादि भन्छन् । तर, त्यो अलि सतही भयो कि ? वा, मैले पो त्यसरी लेख्न जानिनँ कि भन्ने लाग्छ ।

लेख्नलाई एकान्त चाहिन्छ भनेको त सुन्नुभएकै होला । त्यो भनेको अहिलेको जस्तो त्रासदीपूर्ण एकान्त होइन, मनको एकान्त हो । मनमा शान्ति छैन भने जतिसुकै फुर्सद वा एकान्तमा पनि लेख्न सकिँदोरहेनछ ।

बाहिरको शान्ति भन्दा पनि मनको शान्तिका बीच राम्रो लेखिन्छ । मेरो कुरा गर्नुहुन्छ भने म एकसूत्रीय मान्छे हुँ । लेख्ने बेलामा लेख्ने कुरामा मात्रै मेरो ध्यान हुन्छ, अन्य सबै बिर्सन्छु । तर, भनेँ नि— अहिलेको समय मनमा शान्ति हुने समय होइन । त्यसैले यो समय लेख्न, पढ्न उर्वर समय होइन ।

हामीकहाँ अध्ययनको एकदमै धेरै कमी छ । अलिअलि जानेको भरमै लेख्न थालिहाल्छौँ । हल्काफुल्का प्रतिक्रिया पाएर त्यसैलाई नै पूर्णलेखन ठान्छौँ । हिजोकाले के र कस्तो लेखेका थिए भन्ने कुरा मज्जाले अध्ययन गरेपछि मात्र राम्रो लेखन के हो र नराम्रो के हो थाहा हुन्छ । जब राम्रो र नराम्रो थाहा हुन्छ तब लेखनमा गुणस्तर आउने हो । ७ वटा उपन्यास नपढी उपन्यास लेख्न थाल्छौँ, ७ वटा कविता नपढी कविता लेख्न सुरु गर्छौँ । अलिकति पनि मिहिनेत नगरेरै लेखक बन्न पाइने भएपछि मान्छेहरू त लेखनमा थुप्रै आउने भए, सङ्ख्याको हिसाबले पनि साहित्य बढ्ने नै भयो ।

नेपालमा साहित्य लेखेरै बाँच्न सक्ने दिन कहिले आउला ?

मान्छेले सबै काम पैसा कमाउनकै लागि गरेका हुँदैनन् । उदाहरण दिएरै उत्तर दिएँ भने बुझ्न सहज हुन्छ होला । एउटा बच्चाबच्ची भएको घरको कुरा गरौँ न ! बच्चाहरूको बाबुआमाले होस्टेलको वार्डेनको भन्दा बढी खटेर स्याहारसुसार गर्छन् । अझ कमाएर ल्याउने त छँदै छ । तिनले त्यसो गरेवापत आयआर्जन हुन्छ कि हुँदैन सोच्दैनन् ।

अब तिनलाई आफ्ना बच्चा स्याहारेवापत महिना मरेपछि कति आर्जन भयो ? भनेर सोध्ने कि नसोध्ने ? अब यहाँको प्रश्नको उत्तरमा आएँ, साहित्य पनि पैसा कमाइ हुन्छ कि हुँदैन भनेर सोध्ने विधा होइन ।

यहाँले यसो भनिरहँदा साहित्यकारहरू नै यो हाम्रो पेशा हो, हाम्रो सीप हो । हामीले पनि हाम्रो सीपलाई बिक्री गरेर कमाउन पाउनुपर्छ भन्ने धारणा राख्नुहुन्छ नि !

‘जहाँबाट जसरी भए पनि पैसा आओस्’ भन्नेले राख्ने धारणा हो त्यो । अहिले धेरै मान्छेहरू पैसा प्राप्त नहुने हो भने समाजसेवासमेत गर्दैनन् । ५ प्रतिशत जतिमात्र मान्छे होलान्, जो पैसा नआए पनि समाजसेवा गरिरहन्छन् । पैसावादी यस्तै सोचहरूले साहित्यिक क्षेत्रका मान्छेलाई पनि प्रभाव पारेको हो ।

साहित्यसँगै जोडिएर आउने धेरथोरै आयआर्जनले कसैको पनि जीविका चल्दैन । हुन त धेरथोर हुन्छ होला तर, त्यो समय, मेहेनत र दिमागलाई आयआर्जन नै गर्ने क्षेत्रमा लगाएको भए उसले त्यो भन्दा धेरै गुणा बढी पैसा कमाउन सक्थ्यो भने साहित्यबाट उसले कमाएको कसरी मान्ने ? त्यसैले यो विधामा कमाइ कति हुन्छ ? भनेर सोध्नु र सोच्नु नै हुँदैन जस्तो मलाई लाग्छ ।

नेपाली साहित्यमा गुणस्तर पुगेन, लेखन आवरणमा मात्र सीमित भयो, अध्ययन, अनुगमन पुगेन भन्ने पनि छ । त्यो पनि समस्या हो ?

हामीकहाँ अध्ययनको एकदमै धेरै कमी छ । अलिअलि जानेको भरमा लेख्न थालिहाल्छौँ । हल्काफुल्का प्रतिक्रिया पाएर त्यसैलाई नै पूर्णलेखन ठान्छौँ । हिजोकाले के र कस्तो लेखेका थिए भन्ने कुरा मज्जाले अध्ययन गरेपछि मात्र राम्रो लेखन के हो र नराम्रो के हो थाहा हुन्छ । जब राम्रो र नराम्रो थाहा हुन्छ तब लेखनमा गुणस्तर आउने हो ।

राम्रो होस् भनेर त कसैले लेख्दैन । हामी ७ वटा उपन्यास नपढी उपन्यास लेख्न थाल्छौँ, ७ वटा कविता नपढी कविता लेख्न सुरु गर्छौँ । अलिकति पनि मिहिनेत नगरेरै लेखक बन्न पाइने भएपछि मान्छेहरू त लेखनमा थुप्रै आउने भए, सङ्ख्याको हिसाबले पनि साहित्य बढ्ने नै भयो । तर, स्तरचाहिँ अघि बढ्नै सकेन ।

अरूले महान् भनेकै भरमा हामीले अग्रजलाई महान् भन्यौँ । तर, ती कसरी महान् बने ? आफूले खोजी गरेनौँ । एउटा उदाहरण लिऊँ— नेपाली साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई विशिष्ट प्रतिभा मानिन्छ । तर, उहाँ विशिष्टै हो भन्न सक्ने गरी उहाँको बारेमा कति पढेका छौँ त हामीले ? सायद धेरैले उहाँका २/४ वटा चर्चामा रहेका श्लोक र पाठ्यक्रममा भएका किताबबाहेक पढेकै छैनौँ ।

हिजोको पुस्ताले साहित्यलाई एक उचाइमा पुर्याएका छन् । तर, हामी त्यो उचाइको अध्ययन नै नगरी पुनः तलबाटै लेखनयात्रा थालिरहेका हुन्छौँ । अग्रजले निर्धारण गरिसकेको स्तरलाई अध्ययन, मनन गरेर त्यसभन्दा माथिको यात्रा गर्नुपर्नेमा हामीलाई त अग्रजकै साहित्यको हाराहारीमा आउनु नै हम्मेहम्मे परिराखेको छ ।

हामीले विश्वसाहित्यसँग प्रतिस्पर्धा गर्न नसक्नुको कारण के होला ?

यहाँ नयाँ पुस्ताको लेखनमा समालोचकीय दृष्टि परेको छैन । ५० सालअघिकै रचनाको सेरोफेरोमा विज्ञहरू अल्झिरहेका छन् । आजकल कस्तो लेखिन्छ ? अन्तक्रिया हुने, बहस–समालोचना हुने गरेकै छैन । त्यसो हुँदा आफूले कस्तो लेखिराखेका रहेछौँ ? बुझ्ने र परिष्कारको प्रयत्न गर्ने वातावरण पाइराखेका छैनौँ । जसका कारण आफूले गरिराखेको कर्म राम्रो हो कि होइन ? अथवा, राम्रो गर्न केकसो गर्ने हो ? हामीलाई पत्तै हुँदैन । यसको अर्थ ५० सालअघिका नेपाली साहित्यसितै प्रतिष्पर्धा गर्ने अवसर पाइरहेका छैनौँ भने यस्तोमा विश्वसाहित्यसँग लड्न, भिड्न, दाँजिन सक्ने अवस्थामा नपुग्नु कुन ठूलो कुरो भयो र ?

अर्को कुरा भाषिक समस्या पनि हो । हामी अन्तर्राष्ट्रिय भाषाको पहुँचमा छैनौँ । राम्रो लेख्ने मान्छेहरू पनि कामचलाउ अङ्ग्रेजी भाषाको भरमा छौँ । यस्तोमा कसैले जान्ने पल्टेर अनुवाद गरिदिए भने पनि प्रायः ती रमेश विकलको ‘लाहुरी भैँसी’लाई ‘द सोल्जर्स बफेलो’ टाइपका हुन्छन् ।

कहाँको लाहुरी भैँसी अर्थात्, मोटो, चिल्लो, दूधालु, लाहुरेले झैँ कमाइ गर्नेखालको भैँसी, कहाँ ‘द सोल्जर्स बफेलो’ अर्थात् ‘लाहुरेले पालेको भैँसी’ ! त्यसमाथि राम्रै अनुवाद भयो भने पनि यहीँ थन्किने हो । अनुवाद हुन्छ, अङ्ग्रेजीमा किताब छापिन्छ, त्यो बाहिर जाँदैन । फेरि हामी नै सिरानी हालेर सुत्न बाध्य हुन्छौँ । अन्तर्राष्ट्रिय बजारसम्म पहुँच बनाउन हामीले सकिरहेका छैनौँ ।

भाषाको कुरा त यहाँले गरिहाल्नु नै भयो, जो अङ्ग्रेजी लेखिएका वा अनुवाद भएका छन्, तिनलाई अन्तर्राष्ट्रिय बजारमा लैजानचाहिँ कसो गर्नुपर्ला ?

यति सामान्य छलफलकै बीचमा खाका बनाउन सकिने विषय त्यो होइन । हामीले बुझेको यत्ति हो कि अन्तर्राष्ट्रिय क्षेत्रमा जानलाई बाटो नभएको हो । एउटा फ्लोरसम्म त नेपाली साहित्य सहजै पुग्नुपर्ने हो, त्यो समेत पुग्न सकेको छैन । कसरी जान सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरौँ, बहस–पैरवी गरौँ, यसैलाई एउटा मुद्दा नै बनाऊँ न भन्ने पक्षमा छु म त ।

तपाईँ र म बसेरमा मात्र यो बहस हुँदैन । केही गएका छन्, तिनलाई सोधौँ, जानकारहरूसित परामर्श गरौँ, विज्ञहरूलाई घोत्लन लगाऔँ । जब यो अलग्गै च्याप्टर बन्नेछ, त्यसपछि क्यै न क्यै बाटो अवश्य निक्लन्छ ।

अध्ययन, अनुगमबारे अलि बढी बुझ्न खोजेँ । यहाँ उपन्यासको एउटा पात्र लिएर सिक्किम पुग्नुभयो । काल्पनिक उपन्यासहरू पनि प्रशस्तै लेखिएका छन् । यहाँले काल्पनिक नलेखेर पात्र नै बोकेर हिँड्नुपर्ने कारण के ?

समाज र मान्छेविनाको साहित्य— साहित्य नै लाग्दैन मलाई । कसै न कसैको कथा लेख्ने नै हो । मैले काल्पनिक गुथे पनि, सत्य घटनामा लेखे पनि मान्छेकै कथा लेख्ने हो । मैले एक जना मान्छेको कथा सुने, एकदम रोचक लाग्यो । यसलाई लेखनमा उतार्नुपर्छ भन्ने ठाने। तपाईँले भनेजस्तै उहाँसँग बसेर उहाँले भनेका कुरालाई आफ्नो भाषामा ढालेर कोठैभित्र उपन्यास तयार पार्छु भन्नेमै थिएँ ।

केही च्याप्टर लेखिसकेको पनि थिएँ । यस्तैमा, उक्त ठाउँमा जाने संयोग मिल्यो । त्यहाँका डाँडाकाँडा, गाउँ, चौतारो, पात्र सबै भेटेर फर्किएपछि आफूले लेखेको कुरा हेरेँ । कुरो पूर्वतिरको रहेछ, मैले पश्चिमतिरको लेखेछु । कुरो के रहेछ, मैले के पो लेखेछु । त्यसपछि सम्बन्धित ठाउँमा नपुगी लेखेर कथानकमाथि न्याय गर्न नसकिने रहेछ भन्ने होस खुल्यो । काल्पनिकता र यर्थाथपरक लेखाइमा कति धेरै भिन्नता हुने रहेछ ।

साहित्यकार जहिल्यै सत्ताको प्रतिपक्ष हुन्छन् । मैले नै भोट दिएको मान्छेले सरकारको नेतृत्व गरिरहँदा पनि म सरकारको विपक्षमै हुन्छु । जुनसुकै सत्ता आए पनि त्यो आममान्छेको पक्षधर मुस्किलले हुन्छ ।

आखिर मान्छेको कथा नै त हो लेख्ने । काल्पनिकताभित्र पनि यथार्थसित तादाम्य राखेर लेख्न सके त्यसको स्वाद बेग्लै हुने रहेछ । त्यसका लागि ठाउँ, समाज, संस्कृति अनि मान्छेको अध्ययन अत्यन्तै आवश्यक पर्दोरहेछ भन्ने बुझेको छु ।

देशका हरेक सङ्कटमा साहित्यकारहरू सडकमा आउनुहुन्छ । पार्टीगत साहित्यकार पनि छन् । गुटगत साहित्यकार पनि भए । साहित्यकारहरूभित्र पनि गुट छन् भन्ने सुनिन्छ । साहित्यमा यी कुराहरूलाई कसरी लिनुहुन्छ ?

जसले, जे भने पनि साहित्यकार जहिल्यै सत्ताको प्रतिपक्ष हुन्छन् । मैले नै भोट दिएको मान्छेले सरकारको नेतृत्व गरिरहँदा पनि म सरकारको विपक्षमा नै हुन्छु । साहित्यकार सदैव जनताको पक्षधर हुन्छन् । जुनसुकै सत्ता आए पनि त्यो आममान्छेको पक्षधर मुस्किलले हुन्छ । हरेकको व्यक्तिगत विचार अलग हुन्छ । राजनीति नै गर्ने हो भने त सबैलाई स्वतन्त्रता छ, गरौँ । तर, साहित्यकै कुरा गर्ने हो भने त्यसलाई पार्टी, गुटको राजनीतिबाट बचाउनुपर्छ ।

राणाको पक्षमा लेखिएका रचना, पञ्चायतको पक्षपोषण गरिएका रचना अहिले आएर के भए ? यो उदाहरण हो । हामीले कसैको पक्ष र विपक्षमा रचना गर्दा त्यसको हैसियत भोलि के हुनेछ ? भन्ने पनि सोच्नु जरुरी छ ।

विपी कोइरालालाई हेर्ने हो भने कुन रचनामा उहाँ काङ्ग्रेसको ठूलै नेता हो भन्ने देखिन्छ ? उहाँ राजनीतिको शीर्ष व्यक्तित्व हुनुहुन्थ्यो तर राजनीतिक विषयमै लेख्दा पनि साहित्यमा त्यो चरित्र देखिएन । यतिसम्म कि राजनीतिमा उहाँले जे विचारको वकालत गर्नुहुन्थ्यो, साहित्यमा त्यसैको खण्डनसमेत गर्नुभएको छ । उहाँका रचना र राजनीतिक विचार ठाउँठाउँमा बाझिएका छन् । विपी कोइराला त सानु उदाहरणमात्र हो । हामी साहित्यकारले यो कुरालाई ख्याल गर्नुपर्छ भन्ने मेरो विचार हो ।

छन्दमा लेख्नेले मुक्त छन्दमा लेख्नेको विरोध गर्ने र मुक्त छन्द लेख्नेले छन्दमा लेख्नेको विरोध गर्ने परिपाटी छ नि ?

छन्दमा लेख्नेले गद्यकविको र गद्यमा लेख्नेले छन्दकविको उछित्तो काढ्ने गरिएको देखिन्छ । अर्थात्, छन्दमा लेख्नेले गद्यमा कविता लेख्नेको विरोध गर्ने, गद्यमा लेख्नेले छन्दमा कविता लेख्नेको विरोध गर्ने गरेका छन् । यहाँ मैले ‘छन्दमा लेख्ने’ र ‘गद्यमा लेख्ने’ भनेको छु, ‘छन्दमा वा गद्यमा कविता लेख्ने’ भनेको छैन ।

यस्तो विरोध साँच्चैका कविहरूले गर्दैनन् । गद्ये र छन्देले मात्रै गर्छन् । अझ भनौँ जुन सुकै संरचनामा लेखे पनि यौटा कविले अर्को कविको विरोध गर्दैन, गर्नु पनि हुँदैन । कविता लेख्नै नजान्ने तर कवि हौँ भन्ने भ्रम पाल्नेहरूको समस्या हो यो ।

म छन्दको विरासतबाट आए पनि मलाई गद्यमा लेख्न अनुकुल लाग्छ । गद्यमा लेखेँ भने कविताको विषयमाथि न्याय गर्न सक्छु जस्तो मलाई लाग्छ । अर्को कुरा, आफ्नो लेखनीमा लेखक प्रष्ट हुनै पर्छ । मैले के लेखेँ–लेखेँ, अर्थ लगाउनले जेसुकै लगाइदेओस् भन्ने जमाना छैन । मैले गाली गरेको हो भने पढ्नेले गाली नै बुझोस्, प्रशंसा गरेको हो भने त्यही बुझोस् ।

मैले गाली गरेर कविता लेख्ने, पाठकले प्रशंसा गरेको बुझे भने म फ्लप भएँ । आफ्नो विचारलाई सम्प्रेष्य बनाउन सकिनछु भनेर बुझ्छु म । यसर्थ, के संरचनामा लेख्दा विषय प्रष्ट हुन्छ, त्यसैमा लेख्नुपर्छ, छन्द वा बेछन्दमा अल्झिनु व्यर्थ छ ।

श्रष्टाहरूबाटै सुन्दै आएको कुरा यहाँलाई सोधेँ— सम्मान वितरण पनि सरसापटमा हुन्छ भनिन्छ नि ?

यो सम्मान भन्ने शब्द १० वर्ष पहिलेको र अहिलेकोमा कति धेरै फरक भइसक्यो । पहिला सम्मान गर्ने भनेपछि आफ्नो उमेर पूरै साहित्यमा समर्पित गरेको, एउटा बूढो व्यक्तित्व, आफैँ उभिन पनि राम्रासँग नसक्ने विम्ब आउँथ्यो । अचेल लेख्न थालेको दुई वर्ष कनिकुथी पुगेको हुँदैन, बीस वर्षको उमेरमै बीस वटा सम्मानपत्र पाइसकेको हुन्छ । यस्ता सम्मानको के अर्थ ?

कार्यक्रममा पुगेजतिलाई सम्मान गरेको छ तर त्यो सम्मान कस–कसलाई गरियो भन्ने कुरा उक्त संस्थाको रेकर्डमा समेत हुँदैन । मैलेचाहिँ के भन्ने गरेको छु भने ‘मलाई बरु कुट गर तर सम्मान नगर ।’

अचेल झन् सम्मानपत्र कम्प्युटरमा बनाएर हाल्ने गरेका छन् । त्यसैमाथि दुनियाँले बधाई दिएका हुन्छन् । अब यस्तो सम्मानलाई कसरी लिने ? यस्ता कुराले गर्दा अहिले कुनै स्रष्टा साँच्चै सम्मानित भयो भने पनि गौरवान्वित हुने सक्दैन । जसले जति धेरै अचेलको सम्मान पाउँछ, ऊ उति धेरै उपहासको पात्र भइरहेको हुन्छ । तपाईँले मलाई दिने, मैले तपाईँलाई दिने, हामी दुवै मख्ख पर्ने तर तेस्रो व्यक्ति त्यही रमिता हेरेर मनोरञ्जन लिइरहने अवस्था छ ।

साहित्यकार बन्नका लागि के–के चाहिन्छ ?

सिद्धान्त घोकेर कुनै पनि साहित्य लेख्न सकिन्न । यसरी लेख्नुपर्छ भनेर अर्तिबुद्धि दिन सक्ने हैसियतमा म पुगेको पनि छैन । तथापि, आफ्नो अनुभव सुनाउँदा मैले अरूले लेखेको पढेर, हेरेर यसरी लेखिँदोरहेछ भनेर, अभ्यास गरेर नै लेख्न थालेको हुँ । अध्ययन नै चाहिन्छ बढी त ।

आफूले कलम चलाउन इच्छाएको विधामा पहिलेदेखि अहिलेसम्म के–कस्ता लेखिए ? भन्ने हेरेरै, पढेरै लेख्न सकिन्छ जस्तो लाग्छ मलाई । हिजो म त पाठकमात्र हुँ, लेख्न जानेको छैन भन्ने मान्छे आज निकै राम्रो लेखक बनेर निस्केको उदाहरण हाम्रा छेउछाउ प्रशस्तै छन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो