महतोको फेरि विखण्डनकारी राग, चौतर्फी आलोचना

डिसी नेपाल
२२ जेठ २०७८ १८:००

काठमाडौं। संविधानसभाबाट नेपालको संविधान जारी भएको दिन २०७२ असोज तीनमा तराईमा ब्ल्याक आउट गरियो। असोज ६ बाट भारतको अघोषित नाकाबन्दी भयो। र तत्कालिन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सीमा नाकामा बसेर काठमाडौंको दानापानी बन्द गरिदिने विवादास्पद अभिव्यक्ति दिए।

उनै महतो अहिले नेपाल सरकारको उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री नियुक्त भएका छन्। ओली सरकारमा चौथो वरियता प्राप्त महतोले फेरि विखण्डनकारी राग अलापेका छन्। शुक्रबार उपप्रधानमन्त्रीको शपथ लिएको केही मिनेटमै सिंहदरबारमा पदभार ग्रहण गर्दै उनले बहुल राष्ट्रिय मुक्ति आन्दोलनका लागि आफूहरु सरकारमा सहभागी भएको विावदास्पद अभिव्यक्ति दिए। र शनिबार जसपाको एउटा समूह महन्थ ठाकुर समूहले आयोजना गरेको बधाई कार्यक्रममा पनि उनले सो भनाइ दोहोर्याए।

नवनियुक्त उपप्रधानमन्त्री महतोको यो विवादास्पद भनाइको चौतर्फी आलोचना भइरहेको छ। र यसरी आलोचना गर्नेहरुमा धेरैजसो सत्तारुढ दल एमालेकै नेताहरु छन्। शुक्रबार राति नै ट्वीट गर्दै एमाले नेता योगेश भट्टराईले महतोको अभिव्यक्ति राम्रो संकेत नभएको भन्दै मन्त्रीहरुको बोलीमा लगाम लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।

शुक्रबार महतोको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल तरंगित बनेको छ। सामाजिक सञ्जालमा सो अभिव्यक्तिलाई लिएर तिब्र आलोचना भइरहेको छ। सामाजिक सञ्जाल मार्फत नै एमालेका अर्का नेता तथा राष्ट्रियसभा सांसद वामदेव गौतमले महतोको भनाइ अस्वीकार्य भएको बताएका छन्। उनले महतोको यस्तो अभिव्यक्तिबारे प्रधानमन्त्री ओली अनभिज्ञ भएकामा आफू आश्चार्य चकित भएकोसमेत बताएका छन्।

एमालेकै अर्का नेता गोकर्ण विष्टले पनि महतोको अभिव्यक्ति राष्ट्रिय अखण्डता प्रतिकुल रहेको भन्दै जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु दुखद् भनेका छन्। यी नेताहरु एमालेमा समानान्तर गतिविध गरिरहेको माधव नेपाल समूहका हुन्।

अध्यक्ष तथा प्रधानमन्त्री ओली निकट एमाले कर्णालीका सहइन्चार्ज तथा कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले पनि महतोको आलोचना गरेका छन्। महतोको आलोचना गर्ने कँडेल पहिलो सत्ता पक्षीय नेता हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘सरकारको उपप्रधानमन्त्री पदको जिम्मेवारी लिएका राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति संविधान, भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल अभिव्यक्ति हो।’

महतोको भनाइप्रति राप्रपाका अध्यक्ष कमल थापाले पनि आलोचना गरेका छन्। उनले ट्वीटरमार्फत आलोचना गरेका हुन्। अन्य केही साना दलहरुले पनि महतोको अभिव्यक्तिबारे आलोचना गरेका छन्। तर, एमाले, काँग्रेस र माओवादी केन्द्रले यो विषयमा औपचारिक धारणा भने सार्वजनिक गरेका छैनन्।

तर पनि सामाजिक सञ्जालमा महतोलाई पदमुक्त गर्नुपर्ने आवाज उठेको छ। यसअघि विवादास्पद अभिव्यक्ति दिँदा धेरै मन्त्रीहरुले पद गुमाउनु परेको इतिहास छ। शुक्रबार पुनःगठित मन्त्रिमण्डलमा रहेका दुईजना मन्त्रीहरु यसअघि विवादास्पद भनाइकै कारण पद गुमाएका नेताहरु पनि सहभागी छन्। नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थीबारे दिएको अभिव्यक्तिको विरोध भएपछि नैतिकताका आधारमा राजीनामा दिएका थिए।

ऊर्जामन्त्री बनेका शरतसिंह भण्डारी भने तराइँका २२ जिल्ला टुक्रिने अभिव्यक्ति दिएपछि पदमुक्त भएका थिए। तत्कालिन रक्षामन्त्री रहेका भण्डारीले २०६८ असोज ९ गते रिपोर्ट क्लवमा आयोजित कार्यक्रममा तराईका २२ जिल्ला टुक्रिन सक्ने अभिव्यक्ति दिएका थिए। त्यसको व्यापक विरोध भएपछि उनलाई कात्तिकमा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले पदमुक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *