२ वर्षमा राजीव गान्धी र श्रीलंकाका राष्ट्रपतिको हत्या गर्ने प्रभाकरणको चर्चा अहिले किन चुलियो ? – Dcnepal

२ वर्षमा राजीव गान्धी र श्रीलंकाका राष्ट्रपतिको हत्या गर्ने प्रभाकरणको चर्चा अहिले किन चुलियो ?

वेलुपिल्लइ प्रभाकरण र समंथा अक्किनेनी


काठमाडौं। मनोज वाजपेयीको वेब सिरिज ‘द फ्यामिली म्यान २’ रिलिज भएसँग एक पटक फेरि लिट्टे संगठनको चर्चा चुलिएको छ । यो वेब सिरिजमा एक खतरनाक गुरिल्ला राज्यलक्षी सेकरण (समन्था अक्किनेनी) भारतीय प्रधानमन्त्री बासु (सीमा विश्वास) लाई हवाइ आक्रमण गरेर मार्न चाहन्छिन् । यद्यपि उनी आफ्नो मिशनका सफल हुन भने सक्दिनन् । राज्यलक्षी सेकरणको यो पात्र लिट्टे संगठनका प्रमुख प्रभाकरणबाट प्रभावित भएको बताइएसँगै अहिले प्रभाकरणको चर्चा चुलिएको हो ।

अहिले यो वेब सिरिजमा आतंकवादी संगठन प्रधानमन्त्रीको हत्या गर्न विफल भएको देखाइए पनि ३० वर्षअघि भने लिट्टेका प्रमुख वेलुपिल्लइ प्रभाकरण भारतीय प्रधानमन्त्री राजीव गान्धीको हत्या गर्न सफल भएका थिए । प्रभाकरणको नेतृत्वमा लिट्टे अर्थात लिबरेसन टाइगर्स अफ तमिल एलमको स्थापना गरिएको थियो । तमिल राष्ट्रवादका ठूला समर्थक प्रभाकरण श्रीलंकामा तमिलहरुविरुद्ध लगातार भेदभाव र उत्पीडनबाट आजित भएर उनले स्वतन्त्र तमिल राष्ट्र बनाउने मुद्दा उठाएका थिए ।

१९८३ मा लिट्टेले श्रीलंकाका १३ सैनिक मारेको थियो । त्यसपछि २००९ सम्म श्रीलंकामा गृहयुद्ध चलिरह्यो । प्रभाकरण केही मानिसहरुको नजरमा एक खतरनाक चरमपन्थी थिए तर केही मानिसहरु खासगरी तमिल राष्ट्रवादीहरुको लागि महान योद्धा र स्वतन्त्रता सेनानी थिए । प्रभाकरणले १ दशकभित्र लिट्टेलाई सामान्य हतियार भएका ५० भन्दा कम मानिसहरुको समूहबाट १० हजार जनाको प्रशिक्षित संगठनमा परिणत गरेका थिए जुन समुहले एउटा देशको सेनासँग टक्कर लिन सक्थ्यो ।

श्रीलंकामा यो विभाजनकारी आन्दोलन सुरु भएपछि भारतका खास गरी तमिलनाडुका धेरै मानिसहरु यो आन्दोलनलाई समर्थन गर्थे । तर, त्यसपछिका केही वर्षमा तस्वीर बदलिन थाल्यो । श्रीलंकामा गएको भारतीय शान्ति सेना र राजीव गान्धीको हत्याले यो समर्थनलाई घृणामा बदलिदियो । लिट्टे र श्रीलंकाको लगातारको लडाइँका बीच १९८७ मा भारत र श्रीलंकाबीच एक शान्ति सम्झौता भएको थियो । यो सम्झौताअनुसार भारतीय सेनाको एक विशेष दल श्रीलंका पठाउने र त्यो दलले लिट्टेलाई आत्मसमर्पण गराउने तय थियो । तर, यो सम्झौताको ३ हप्तामा नै लिट्टेले हतियार समर्पण बन्द गरिदियो ।

त्यतिबेला प्रभाकरणले भारतीय शान्ति सेनाका अधिकारीहरुलाई भारतीय खुफिया विभागले लिट्टेका विरोधी संगठनलाई हतियार दिइरहेको बताएका थिए । अक्टोबर १९८७ सम्म भारतीय शान्ति मिसन र लिट्टेको सिधा टकराव हुने स्थिति आयो । श्रीलंकामा भारतका १ हजारभन्दा धेरै सैनिक मारिइसकेका थिए । १९८९ मा राजीव गान्धीको ठाउँमा भीपी सिंह भारतका प्रधानमन्त्री बने । त्यसपछि उनले भारतीय शान्ति सेनालाई श्रीलंकाबाट फिर्ता बोलाए ।

भारतले सेना फिर्ता बोलाएपछि लिट्टेको उत्साह बढ्यो र उसले पुनः श्रीलंकालाई विभाजन गरेर छुट्टै तमिल राष्ट्र बनाउने अभियानलाई जोडतोडले अगाडि बढायो । भारतमा १९९१ मा निर्वाचन तय गरिएको थियो । राजीव गान्धीले यो समयमा श्रीलंकाको एकतालाई कायम राख्दै तमिल समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । उनको यो बयान लिट्टेको विचारधाराविरुद्ध थियो । लिट्टे संगठनले त्यतिबेला आफूहरुले नयाँ राष्ट्र पाउने मानेर अगाडि बढेको थियो तर राजीव गान्धीले चुनाव जितेमा उसको बाटो निकै कठिन हुन सक्थ्यो ।

यही कारण राजीव गान्धीको हत्या गर्ने योजना बन्यो । २१ मे १९९१ मा तमिलनाडुको एक चुनावी सभामा एक महिला आक्रमणकारीले आत्मघाती विष्फोट गराएर राजीव गान्धीको हत्या गरिन् । राजीव गान्धीलाई १९८७ मा कोलम्बोमा एक परेडको क्रममा पनि मार्ने प्रयास भएको थियो तर यो प्रयास विफल भएको थियो । राजीव गान्धीको हत्यापछि लिट्टेले १ मे १९९३ मा श्रीलंकाका राष्ट्रपति प्रेमदासाको पनि आत्मघाती आक्रमण गरेर हत्या गरेको थियो । यसको केही हप्ता अघिमात्र श्रीलंकाका नेता तथा मन्त्री ललित अथुलाथमुदालीको पनि हत्या भएको थियो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो