भ्याक्सिनको प्रभावले दोस्रो लहर नियन्त्रणमा आएको हो?

तर्कबहादुर थापा
२५ जेठ २०७८ ७:११

काठमाडौं। करिव डेढ वर्षदेखि कोरोनाको विभिन्न लहर र भेरियन्टले विश्वलाई नै त्राहीत्राही बनाएको छ। नेपालमा पनि अहिले दोस्रो लहरले ताण्डव मच्चाएको छ।

गत वर्षको साउनसम्म धेरै नफैलिएको कोरोना साउनपछि मंसिरसम्म उच्चतम विन्दुमा पुग्यो। करिव ८ महिनाको लामो संघर्षपछि पुसबाट कोरोनाका विरामीहरु कम देखिन थाले। तर, दोस्रो लहरले बैशाख र जेठ दुई महिनामै आफूलाई भयानक रुपमा प्रस्तुत गर्यो।

चैतको अन्तिमसाताबाट उकालो लागेको संक्रमितको ग्राफले करिव तीन हप्तामै पहिलो लहरको उच्चतम विन्दु पार गरेको थियो। केही हप्ता अत्याधिक संक्रमित भेटिएको दोस्रो लहर करिव ८ हप्तापछि विस्तारै ओरालो लाग्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा देखिन्छ।

दोस्रो लहर घटाउन खोपले पनि प्रभावकारी काम गर्यो : डा. बास्तोला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा देखिएको कोरोना संक्रमितको ओरालोको ग्राफ यति छिटै कसरी सम्भव भयो? हामीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुकका प्रवक्ता डा. अनुप बास्तोलालाई सोधेका थियौं।

डा. बास्तोलाले डिसी नेपालसँग कुरा गर्दै भने, ‘पहिलो कुरा त हामी लामो समयदेखि कोरोनासँगको लडाइमा अनुभव बटुल्दै आएका छौं। पहिलो लहरमा अनुभव नभएका कारण पनि हामीलाई अलि समय लागेको थियो। यो वर्ष अनुभवले पनि काम गर्यो।’

अनुभव सँगसँगै खोपले पनि प्रभावकारी भूमिका निर्वाह गरेको छ। हामी स्वास्थ्यकर्मीलाई खोप लगाएपछि हामीले निर्धक्क काम गर्न सक्यौं। हामीमात्र नभएर खोप लगाएका जुनसुकै व्यक्तिलाई पनि पुनः कोरोना संक्रमण भयो उहाँहरुलाई धेरै गाह्रो पनि भएन।

अनुभव सँगसँगै माघबाट सुरुवात गरिएको खोप अभियानको पनि प्रभाव रहेको उनको भनाइ छ। उनले भने, ‘अनुभव सँगसँगै खोपले पनि प्रभावकारी भूमिका निर्वाह गरेको छ। हामी स्वास्थ्यकर्मीलाई खोप लगाएपछि हामीले निर्धक्क काम गर्न सक्यौं। हामीमात्र नभएर खोप लगाएका जुनसुकै व्यक्तिलाई पनि पुनः कोरोना संक्रमण भयो उहाँहरुलाई धेरै गाह्रो पनि भएन।’

पहिलो लहरको कोरोना भन्दा दोस्रो लहरको कोरोनाबाट धेरैले ज्यान गुमाउनु पर्यो। दोस्रो लहरमा आएको कोरोनाबाट दैनिक २ सय भन्दा बढीलेसम्म ज्यान गुमाएको रेर्कड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा देख्न पाइन्छ।

डा. वास्तोला भन्छन्, ‘भाइरसले जति पुरानो हुँदै गयो त्यति आफूलाई पनि परिस्कृत गर्दै जान्छ। पहिलो लहरमा आएको र दोस्रो लहरमा आएको भाइरस एउटै भए पनि दोस्रो लरहमा पुग्दा त्यो विकसित भएर आयो। कोरोनामात्र नभएर कोरोनाका पनि विभिन्न भेयिन्ट बनेर आए त्यो कारण पनि पछिल्लो लहरमा धेरैले ज्यान गुमाएका हुन्।’

पछिल्लो लहरको कोरोनाले धेरैको ज्यान लिनुका साथै युवा पुस्तालाई बढी प्रभावमा पारेको डा. वास्तोलाको भनाइ छ। उनले पहिलो लहरमा आएको कोरोनाले पाको उमेर भएका व्यक्तिहरुलाई आफ्नो प्रभावमा पारेको बताए।

तेस्रो लहर आउँछ त ?

डा. बास्तोला भन्छन्, ‘हामी नागरिकले लापरवाही गरेको अवस्थामा तेस्रो लहर धेरै टाढा छैन। तेस्रो मात्र हैन चौथो, पाँचौं केके भन्न सकिन्छ सबै आउन सक्छन्। तर, हामीले स्वस्थ्यकर दैनिकी अपनाएको अवस्थामा दोस्रो लहरमै यसलाई सीमित राख्न सकिन्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएका स्वास्थ्यका मापदण्डलाई दैनिकी जस्तै बनाउनु पर्ने बास्तोलाको भनाइ छ। उनले भने, ‘सधै निषेधाज्ञा, बन्द भनेर राख्न त सकिन्न। हामीले मिलाएर एक दिन खोल्नु नै पर्छ। खोलेपछि पनि स्वास्थ्यका मापदण्डहरुलाई प्रयोग गर्ने र गराउने कुरामा सबै सचेत हुनु पर्छ। सरकारले पनि स्वास्थ्यका मापदण्ड पालना भए नभएको एकदमै ध्यान दिएर हेर्नुपर्छ। त्यसो हुन सकेमा यो समस्या नदोहोरिएला कि!’

खोप नै सबै भन्दा बढी प्रभावकारी भएका कारण जतिसक्दो सबैलाई खोपको उपलब्धता गराउन पनि उनको माग छ। ‘हाम्रो करिव डेढ वर्षको अनुभवले खोप नै सबै भन्दा बढी प्रभावकारी देखिएको छ। जतिसक्दो चाँडो खोप उपलब्ध हुन सकेको अवस्थामा मात्र अन्य वेबहरुको अनुमानबाट टाढा रहन सकिन्छ।’

खोप लगाएका व्यक्तिहरु संक्रमित भए पनि गाह्रो नहुने, अस्पताल मै आउन नपर्ने लगायको यो दोस्रो लहरमा अनुभव गरेको डा. वास्तोलाको भनाइ छ।

नेपालमा कोरोनाको अवस्था

पछिल्ला केहीदिन यता नेपालमा कोरोनाको संक्रमण दर घट्दो क्रममा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेको संख्या भन्दा निको हुनेको संख्या दोब्बर रहेको छ। २ दिन पहिला १ लाख बढी सक्रिय संक्रमित रहेको नेपालमा पछिल्लो रिपोर्ट अनुसार ८५ हजार ५ सय ४४ जनामात्र सक्रिय संक्रमित रहेका छन्।

हालसम्म ४ लाख ९७ हजार ९ सय ६० जना निको भएर घर फर्केका छन् भने ७ हजार ९ सय ९० जनाले ज्यान गुमाउनु परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार ५ लाख ९१ हजार ४ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पहिलो लहरको भन्दा दोस्रो लहरमा कोरोनाका संक्रमितहरु बढी थपिएको मन्त्रालयले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *