‘एनआरएनए द सिङ्गर’ मा भाग लिन आह्वान

डिसी नेपाल
२७ जेठ २०७८ १९:१०

काठमाडौं । विश्वभरि छरिएर रहेका नेपाली सांगीतिक प्रतिभालाई ‘एनआरएनए द सिङ्गर’मा भाग लिनका लागि आह्वान गरिएको छ । यही जुन २१ देखि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आयोजना गर्न लागेको ‘एनआरएनए द सिङ्गर’ कार्यक्रममा विश्वभरि छरिएर रहेका सबै नेपाली भाषी प्रतिभालाई भाग लिन आह्वान गरिएको हो ।

कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले एनआरएनएको साप्ताहिक श्रृङ्खला ‘प्रवासी प्रवाह’मा बोल्दै विदेशमा छरिएर रहेका सबै नेपाली भाषी प्रतिभालाई भाग लिन अनुरोध गरेका छन् । वरिष्ठ संगीतकार तथा प्रतियोगिताका निर्णायक बाँस्कोटाले आफूले जहिले पनि नेपाली संगीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको र यो कार्यक्रमले नयाँ र राम्रा प्रतिभाहरूको पहिचान गर्ने विश्वास व्यक्त गरे । सो क्रममा उनले गीतहरू चल्नु वा नचल्नु आफ्नो ठाउँमा भएपनि आफूसँग भएको कला भने ‘कालजयी’ हुने पनि बताए ।

‘नेपाली भाषी कलाकारहरुको पहिचान’ प्रवासमा रहेका नेपाली भाषी कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’का लागि अडिसनको तयारी भइरहेको संयोजक गोविन्दप्रसाद गौतमले बताए ।

विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ यो प्रतियोगिता डिजिटल अडिसनमा गरिने छ । प्रतियोगितामा नेपाल र सार्क राष्ट्रबाहेक विश्वका ८२ राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपाली भाषीले भाग लिन पाउने छन् ।

गौतमका अनुसार प्रतियोगिताका लागि सहभागी हुन चाहनेले गीतको भिडियो बनाएर कार्यक्रमको एपमा राख्नुपर्नेछ ।

अडिसन सुरुमा सबै महादेशबाट सामाजिक सञ्जालहरूमा प्रत्यक्ष प्रसारण हुनेछ र नेपाली टेलिभिजनहरूबाट पनि प्रसारण हुनेछ । यो प्रतियोगिताको संयोजन एनआरएनए आइसीसीको संस्कृति तथा सम्पदा उपसमितिले गरिरहेको छ ।

प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्वअध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *