‘साहित्यलाई साथीजस्तो बनाउन सके मात्र विश्व साहित्यमा पुग्न सकिन्छ’ – Dcnepal

‘साहित्यलाई साथीजस्तो बनाउन सके मात्र विश्व साहित्यमा पुग्न सकिन्छ’

नेपाली नियात्रा र निबन्धका दरिला खम्बा हुन् युवराज नयाँघरे । निबन्ध विधालाई ४० वर्षपछि पुरस्कृत गराउन सफल नयाँघरे ४० को दशकदेखि नेपाली निबन्ध साहित्यमा प्रवेश गरेका हुन्।  फुटकर तथा अन्य विधामा कलम चलाएर उनी निबन्ध र नियात्रामा आएका हुन्।

राष्ट्रिय स्तरका लगभग सबै पुरस्कारहरु प्राप्त गरेका नयाँघरेको एक हातको ताली निबन्ध संग्रहले २०६५ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो। उनले यो सँगै राष्ट्रिय प्रतिभा पुरस्कार (२०५६), उत्तम शान्ति पुरस्कार (२०५८), युवा वर्ष मोती पुरस्कार (२०६१), अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार (सन् २००७), भूपालमानसिंह कार्की युवा साहित्य पुरस्कार (२०६१), शंकर लामिछाने युवा निबन्ध पुरस्कार (२०६५) लगायत थुप्रै पुरस्कार र सम्मान पाएका छन्।

हालसम्म १८ वटा कृतिहरु बजारमा छन्। जसमा ८ वटा नियात्रा छन् भने, १० वटा निबन्ध संग्रह छन्। उनका संवेदनाका स्वरहरु (निबन्ध संग्रह–२०५४), मुहूर्तको वरिपरि (निबन्ध संग्रह–२०५५), मखुण्डाको मन (निबन्ध संग्रह–२०५५), काठमाण्डौलाई कोर्रा (निबन्ध संग्रह–२०५८), नीलडाम (निबन्ध संग्रह–२०६१), अनाम पहाडमा फनफनी (नियात्रा संग्रह–२०६२), एक हातको ताली (निबन्ध संग्रह–२०६५) घामको चुम्बन (नियात्रा २०६७), हरियो राहदानी (निबन्ध संग्रह २०६८), स्वाहा (निबन्ध संग्रह २०६९), ह्वाइट हाउसको घामपानी (नियात्रा २०७०), डलरको डायरी (नियात्रा २०७१), आमिल (निबन्ध संग्रह २०७१), हाराबारा (नियात्रा २०७२) लगायत कृतिहरु बजारमा छन्।

नेपाली निबन्ध र नियात्रामा आफ्नो जीवन समर्पण गरेका र बाँकी जीवन पनि नियात्रा र निबन्धकै लागि दिन लागेको उनै साहित्यकार युवराज नयाँघरेसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादीत अंशः

निषेधाज्ञामा दिनहरु कसरी व्यतित हुँदैछन्?

राज्यले हामी सबैको स्वास्थ्य स्थितिलाई ध्यानमा राखेर निषेधाज्ञा लागू गरेको छ। म पनि अरुकै जस्तो नियम कानूनलाई पालना गर्दै घरमा बसेको छु। बिहान लेखपढ् गर्ने, दिउँसोको समय सिनेमा हेर्ने, साँझको समय केही सम्पादन गर्ने गर्दै समय बितेको छ। वल्लो कोठा, पल्लो कोठा जाने, कहिले अध्यात्ममा, कहिले संगीतमा र कहिले अध्ययन भनौं पठनपाठन र अनुसन्धानमै दिन बितेका छन्।

नेपाली साहित्यमा निषेधाज्ञाको असर कस्तो परेको छ ?

यो अवस्था भनेको मानिसले आफूले आफूलाई स्वनियन्त्रणमा राख्ने बेला हो।  नेपाली समाजमा यस्तो कहिल्यै भएको थिएन। सायद विश्वमा पनि भएको थिएन होला। अहिलेको सृजना, लेखन, पठनपाठन र चिन्तन निश्चय पनि प्रभावित भयो। समाचार पढ्नका लागि पनि अनलाइन पत्रपत्रिका खोल्नु पर्ने अवस्थाको सृजना भयो।

आफ्नै घरको पल्लो कोठामा रहेको रेडियो लिन जान सकिने अवस्था छैन। त्यहाँ घरको कोही व्यक्ति बिरामी होला। अझै भनौं एउटा मोबाइलमा केन्द्रीत भइयो। प्रविधिले सबैलाई खुम्च्याइदियो। खुलेर समाजलाई बुझ्ने, पढ्ने, चिन्तन गर्नु पर्ने हो त्यसको फेलेवर, वा रंग आएन भनौं। अनुभूति, सुगन्ध र समाजका लागि आँखा चिम्म गरेर आफैले आफैलाई नियाल्नु पर्ने अवस्थाको सिर्जना भयो। यो सबै असर साहित्यमा अवश्य पर्छ नै।

अहिले प्रविधि हुन्थेन् र निषेधाज्ञा हुन्थ्यो भने हामीमा कस्तो असर पथ्र्यो ?

त्यो एउटा पक्ष छ। म यस्तो प्रभावलाई झिल्के भन्छु। यो झिल्के हो। यहाँ मैले उदाहरण दिएर बुझाउन चाहेँ, अध्यात्मको कुरा गर्ने हो भने रामायण, महाभारतहरु, साहित्यको कुरा गर्ने हो भने विपीको साहित्य, धुर्वचन्द्र गौतमको साहित्य, पारिजातको साहित्य, शंकर लामिछानेको साहित्य लगायतका व्यक्तिहरुको साहित्यको महत्व, गुणवत्ताको वर्णन त अहिलेसम्म पनि भइरहेको पाइन्छ नि।

त्यसको अध्ययन मानिसले गहिरो गरी गरे। अहिले प्रविधिले चटपट दियो तर एकदम रौँ चिरा अध्ययन हुन दिएन। भेटघाट गरायो तर, गहिरिएर अध्ययन गर्ने काम अहिलेको प्रविधिबाट हुँदैन जस्तो मलाइ लाग्छ। किन भने पुस्तक पढ्दाको आनन्द, त्यसको अक्षरअक्षरमा डुबेर मजा लिनाको अवस्था जुन हो त्यो अहिलेको प्रविधिले त्यति मिठो र मजा दिने अनुभव मैले गरिनँ।

यस्तो अवस्थामा कथा, कविता लेख्ने मान्छेहरुको लागि समय उपयुक्त नै होला। यहाँले त नियात्रा लेख्नु हुन्छ, घुमफिर गरिरहनुपर्ने आवश्यक्ता हुन्छ, कतिको सकस भएको छ नि?

तपाईँले निकै गम्भीर कुरा गर्नु भयो। सबैभन्दा बढी सकस भनेको यात्रा लेखकलाई छ, निबन्धकारलाई छ। म थोरै प्रसंग जोडेर कुरा प्रस्ट पार्न चाहेँ। कीर्तिपुरतिर जान्छु भन्दा ललितपुरको जंगलमा पुगिन्थ्यो। पूर्व जान्छु भन्दा पश्चिम गइयो, पश्चिम जान्छु भन्दा पूर्व गएँ। यस हिसाबले मैले धेरै यात्रा पनि गरेको छु। अहिलेको ७७ वटै जिल्ला घुमेको छु।

माओवादी द्वन्द्वको बेलामा पनि मैले धेरै यात्रा गरेको छु। माओवादीले सरकारी जासुस र सरकारले माओवादी हो कि भनेर शंका गरिरहँदा पनि नितान्त लेखक भएर हिँडेँ। त्यो बेला पनि म मुलुक, जनजीवन, संस्कृति, सभ्यता, प्रकृति अध्ययन गर्न आएको मान्छे हुँ भन्दै पनि यात्रा गरेको थिएँं। अहिले त यस्तो परिस्थिति भयो त्यो बेलाको भन्दा पनि जटिल भयो।

नेपाली साहित्यमा नियात्रा विधा धेरै पछि आएको हो। यो विधालाई न्वारान गरिदिने काम आदरणीय प्रसिद्ध भाषाशास्त्री तथा निबन्धकार बालकृष्ण पोखरेलले गर्नु भएको हो। नियात्रा, यात्रा, निबन्ध सहितको यात्रा, यात्रास्मरण आदि नाम यात्रा साहित्यभित्र पर्छन्।

अहिले त घरमै बसेर त्यही, टेलिभिजन, त्यही खाट, त्यही कोठा र तीनै पुस्तकको सेरोफेरोमा बस्दा खेरी २ हप्तासम्म त रमाइलो होला। तर, तेस्रो हप्तादेखि त जतिसुकै ध्यानमग्न हुँदाहुँदै पनि मानिसले आफ्नो स्वतन्त्रता सम्झिन थाल्छ। बाहिर जानैपर्ने हुन्छ, झन् लेखकहरु त्यसमा पनि नियात्राकारहरुलाई बाहिर जानै पर्ने बाध्यता हुन्छ। एकदमै सकसको अवस्था हो यो । अक्षरयात्रा गरेरै बसियो।

साहित्यकार बन्नका लागि अक्षरयात्रा र भौगोलिक यात्रामा कुन आवश्यक र राम्रो, कति फरक हुन्छ साहित्य ?

साहित्यमा एकदमै फरक पर्छ। यात्रा गर्नु भनेको कस्तो हो भने आफूसँगै समाजलाई पनि डोर्‍ याउनु हो । पाठकलाई पनि डोर्‍ याउनु हो। समाज र पाठकलाई सँगसँगै हिँडाउनु हो। तपाईंको प्रत्येक पाइलामा संसार जोडिन्छ। त्यो पक्ष यात्रा लेखनसँग हुन्छ।

तपाईँले पसिना चुहाउनु हुन्छ, पैतालामा ठेला उठाउनु हुन्छ, आएर लेख्नु हुन्छ। त्यो पसिनाको गन्ध र ठेला दुखाइको अनुभूति पाठकले गर्छ भने त्यो साहित्य, सिर्जना, लेखन र अभिमत उत्कृष्ट हुन्छ। आँगनमा, वल्लो र पल्लो कोठामा, छतमा मात्र सीमित हुँदा अझ भनौँ अक्षरयात्रामा मात्र सीमित हुँदा न पाठकले पसिनाको गन्ध महशुस गर्छ, न त पैतालामा उठेको ठेलाको दुखाइ अनुभूत गर्छ।

त्यसैले त्यो कमजोर साहित्य हुन्छ, कमजोर साहित्यलाई पाठकले एकदुई पेजमा आदिइत्यादि गर्दै विर्सिन्छन्। साहित्य बलियो र स्तरीय गर्ने हो भने अक्षरयात्रा भन्दा भौगोलिक यात्रा नै अत्यावश्यक हुन्छ। अझ भनौं यात्राले अनुभव खोज्छ, अक्षरयात्रामा लेखिएको यात्रामा विवरण हुन्छ, अनुभूति हुँदैन।

नेपाली साहित्यमा लेखक बाँच्न सक्ने अवस्था पनि छैन भनिन्छ, अर्को तर्फ साहित्य कमाउनका लागि लेखिने हैन भन्ने पनि छ। यहाँ त घुमिरहनु पर्ने मान्छे कसरी व्यवस्थापन गर्नु भएको छ?

मलाई साहित्य लेख भनेर कसैको आदेश र उर्दी होइन। यो मेरो स्वतस्फूर्त भावना हो। एउटा डाक्टरले राम्रोसँग बिरामी जाँच गर्नु, शिक्षकले राम्रोसँग पढाउनु, कृषकले राम्रोसँग खेतीपाती गर्नु, व्यापारीले आफूसँग भएको सामान बेलैमा व्यवस्थापन गरेर बेच्नु हरकोहीको कर्तव्य, दायित्व र जिम्मेवारी हो। म यो देशको नागरिक हुँ, ज्ञान बाँड्ने क्षेत्रको व्यक्ति पनि भएकाले मलाई माया गर्नेको संख्याले यताउता कुदाउँछ। मैले दशैंमा मनलाग्दी हिसाबले खसी किन्ने, लुगा लगाउन मन पराउँदिनँ। म घुम्न, डुल्न मन पराउँछु।

घुमेर आइसकेपछि त्यो ज्ञान समाजलाई बाँड्न चाहान्छु। मैले आफ्नो जिम्मेवारी नै सम्झन्छु, कुनै ठाउँको संस्कार, संस्कृति, रीतिरिवाज मैले राष्ट्रलाई बाँडनु पर्छ। यात्रा साहित्यकार भनेका अघोषित राजदूत जस्तै लाग्छन् मलाई। किन भने यिनीहरुले कुनै पनि लोक सभ्यता, संस्कृति, जनजीवनको बारेमा सरकारलाई सूचना प्रदान गरिरहेका हुन्छन्।

यिनीहरु सांस्कृतिक राजदूत हुन्। राज्यले विना लगानी यात्रा साहित्यकारहरुबाट ठूलो सूचना पाइरहेको हुन्छ। तारानाथ शर्माले उहिले नै खप्तड पुग्न बाटो छैन, गाह्रो छ भनेर लेख्नु भयो। बुझ्ने मान्छेले त्यो कुरालाई अनुभव गरेर बाटो पुर्‍ याउन पहल गरेँ। राज्यले सूचना संकलनको लागि लाखौं खर्च गरिरहँदा लेखकले नपत्याउँदो तरिकाले सूचना संकलन गरिदिएको हुन्छ।

तर, मलाई मेरा पाठकहरुले घुम्ने वातावरण मिलाइदिएका हुन्छन्। मेरा शुभेच्छुहरु पनि छन् । कहीँ तालिम दिन जाँदा तालिम मात्र दिएको हुँदिन् म। खर्चपर्च धेरै गरिदैन, रमाइलो र मोजमस्ती पनि घटाइन्छ। पैदलयात्रा गर्छु, फाइबस्टारमा बस्ने खर्चलाई मैले पसिना पुछ्दै गरेको रुमालमा लगेँ । चौरी गोठालो भएर हिँडे, खच्चडमा पनि हिँडेको छु। यसरी नै आफू आशाबादी भएर काम गर्ने भएकाले आजसम्म रोकिनु परेको छैन । आफूलाई यसरी नै व्यवस्थापन गरेको छु।

सरकारलाई सूचना दिने सांस्कृतिक राजदूत हुन् साहित्यकार भन्नु भयो । सरकारले पनि हेरिदेओस् भन्ने पनि लाग्छ कि ?

मलाईँ त के लाग्छ भने यो मेरो जिम्मेवारी हो । मैले लेखेर सूचना पाठकहरुमाझ पुर्‍ याउनै पर्छ। सरकारको त के कुरा गरौं, यसका त सबै अंगहरु निरीह छन्। त्रिवि, एकेडेमी, साझा प्रकाशन यी सरकारका अंगहरु हुन्। यिनको नै कन्तविजोग देख्छु। यी आफू नै बलिया छैनन्। त्यसैले लेखकले आफूले आफूलाई ऊर्जा दिँदै बलियो बनाउँदै काम गर्नु पर्ने स्थिति छ।

सानो उदाहरण दिन चाहेँ, सरकारले गरौँ भनेको अवस्थामा त सबै गाउँपालिकालाई पुस्तक किन्ने वातावरण मिलाए हुने। अहिले सरकारी कर्मचारीलाई विदाको व्यवस्था गरेको छ, उहाँहरुसँग एउटा लेखक पनि पठाइदिए हुने। गरौं भने त सानो सानो तर, राम्रो ठाउँ र अवसर छ नि? हामीले हाम्रो तर्फबाट भन्दै बोल्दै गर्नु पर्छ, संचारले पनि उच्चारण गरिदिए राम्रो हुन्छ।

साहित्यमा थुप्रै विधाहरु छन्, यहाँले किन निबन्ध र नियात्रा मात्र रोज्नु भयो ?

म केटाकेटी छँदा सानोसानो विधामा पनि काम गरेँ । छोटा रचनाहरु कथा, कविता र गीत पनि लेखेँ। तर, मलाई के लाग्छ भने म भित्र भएको प्रतिभाको उकुसमुकुस र छटपटी रहेछ, त्यो म सानो कुलोमा नुहाउन सक्दो रहेनछु, मलाई पौडिन पोखरी नै चाहिने रहेछ।

मैले अरु विधालाई उपेक्षा गरेको होइन। तर, सानो विधामा काम गर्दाखेरी मलाई शिल्प, चरित्र, कथानक, विचार, चिन्तनको हिसाबले फैलिने ठाउँ सानो अनुभव हुँदो रहेछ। निबन्धभित्र भाषामा खेल्न पाउनु हुन्छ, दर्शन दिन पाउनु हुन्छ।

शिल्प र कला दिल खोलेर पोख्न पाइन्छ। त्यसकारण पनि निबन्ध रोजेको रहेछु। निबन्धमा पोखिएपछि मलाई सर्वाङ्ग पोखिएजस्तो अनुभव हुन्छ, आमाले सन्तान पाउँदाको अनुभव जुन नारीलाई हुन्छ, आमालाई हुन्छ, मलाई पनि निबन्ध लेखेपछि त्यस्तै आनन्द हुन्छ। म भित्रको कथा, कविता, गीत, उपन्यास, आलोचना लगायतका विधाहरु पनि निबन्धमै आएको जस्तो लाग्छ। नयाँ विधि, तौरतरिकाले यो विधामा अझै काम गर्न मन छ । म यो विधाबाट पछि हट्दिन् । अभैm काम गर्ने रहर छ निबन्धमा।

नियात्रा लेख्दा के कुराहरु चाहिन्छ ?

नेपाली साहित्यमा नियात्रा विधा धेरै पछि आएको हो। यो विधालाई न्वारान गरिदिने काम आदरणीय प्रसिद्ध भाषाशास्त्री तथा निबन्धकार बालकृष्ण पोखरेलले गर्नु भएको हो। नियात्रा, यात्रा, निबन्ध सहितको यात्रा, यात्रास्मरण आदि नाम यात्रा साहित्यभित्र पर्छन्। एउटा उदाहरण दिँदा के कुरा चाहिन्छ भन्ने प्रश्नको उत्तर आउछ जस्तो लाग्छ। तपाईँले एउटा स्याण्ड्वीज खानु हुन्छ।हामीले नियात्रा गर्दा खाएको कुरा मात्र लेख्यौं।

तर, त्यो कति पत्रको हुन्छ, कुन पत्रमा के हालेको हुन्छ, किन हालेको हुन्छ, सागहरु, मासुहरु, चिजहरु, क्रिमहरु, नहाल्दा के हुन्छ, हाल्दा कसरी हालिन्छ भन्ने कुरा पनि लेखिनु पर्छ नियात्रामा। अत्यन्तै मसिनो पारामा यात्रा साहित्यको सिर्जना भएको हुन्छ।

अहिले नियात्रा प्रशस्त लेखिएका छन्। तपाईँले यात्रा लेख्दाखेरी ठाउँको मात्र वर्णन गरिदिनु भएन। ठाउँसँगै तपाईँको अनुभूति पनि हुनु पर्छ। तपाईँको पीडा र अनुभवलाई निखारेर एकदम खारिएर परिस्कारका साथमा कतै संवादका रुपमा, कतै हासोँ ठट्टाका रुपमा पनि आउनु पर्छ। त्यो अलि कथानकता जस्तो पनि हुनुपर्छ।

गैह्र आख्यानको एउटा स्वादिलो विधा हो नियात्रा। र पछिल्लो समयमा यात्राहरु धेरै लेखिए पनि विवरणका कुराहरु मात्र धेरै भए कि भन्ने पनि लाग्छ। उत्कृष्ट यात्रा साहित्य आउनका लागि आफैले पैताला खियाउनु पर्छ। पसिनामा नुहाउनु पर्छ। हैन भने यहाँबाट त्यहाँ गएँ र त्यहाँबाट यहाँ आए मात्र भन्ने विवरण हुन्छ।

गैह्र आख्यानको एउटा स्वादिलो विधा हो नियात्रा। र पछिल्लो समयमा यात्राहरु धेरै लेखिए पनि विवरणका कुराहरु मात्र धेरै भए कि भन्ने पनि लाग्छ। उत्कृष्ट यात्रा साहित्य आउनका लागि आफैले पैताला खियाउनु पर्छ। पसिनामा नुहाउनु पर्छ। हैन भने यहाँबाट त्यहाँ गएँ र त्यहाँबाट यहाँ आए मात्र भन्ने विवरण हुन्छ।

आफ्नो मनको प्रकाशका लागि, मन उज्यालो पार्नका लागि, हृदय चंगा पार्नका लागि, विचार र चेतनालाई, संसार हेर्ने, संसारको दुःखलाई एउटै मुरलीमा बजाउने, अभिव्यक्त गर्ने कुनै विधा हो भने त्यो निबन्ध हो। दार्शनिक रुपमा तपाईँका कुरा पोग्नु हुन्छ भने त्यो आत्मपरक निबन्ध हो।

त्यस्तै भूगोल, संस्कृति, प्रकृतिका कुरा लेख्नु हुन्छ भने त्यो यात्रा साहित्य हुन्छ। लेखकले स्थानीय कुरालाई जोडजाम मात्र गर्ने हो । स्थानीय पात्रहरुकै मुखबाट बोलाइएका कुराहरु नियात्रामा लेख्दा बढी मिठास हुन्छ।

नेपाली साहित्यमा झण्डै ३८ वर्षको अनुभव छ । नेपाली साहित्यको स्थान कहाँ छ?

गतिशील छ भन्छु म त। अहिले २ प्रकारका साहित्यकारहरु छन्। एक प्रविधि जान्ने, अर्को प्रविधि नजान्ने। मेरो पुस्ताकै कतिपय साहित्यकारहरु प्रविधिमा कमजोर छन्। म आफू पनि अहिलेसम्म हातले नै लेख्छु। मलाई कलम चलाउँदा विचारको खोलो, शक्ति, प्रवाह जसरी आउँछ किबोर्ड र माउस चलाउँदा आउँदैन।

मैले यो कुरो किन जोडेको हो भने नेपाली साहित्यको एउटा पक्षले प्रविधिमैत्री भएर छिटोछिटो काम गरिरहेको छ भने अर्का थरी अहिले पनि एक कुनामा बसेर लेखिरहेका छन्। प्रविधिबाट टाढा भए पछि प्रचारमा नआए पनि साहित्य गतिशील छ।

अर्को कुरा विश्व साहित्यमा नेपाली साहित्य लैजान सकिरहेका छैनौं। नेपालभित्र पनि साहित्य भिन्नभिन्न भाषामा पुगेको पाइँदैन। छिमेकी भारत र चीनका भाषामा पनि साहित्य पुग्न सकेको छैन। अब अंग्रेजी भाषाको त कुरा धेरै पर रह्यो। साहित्यलाई अंगालो मारेर हिँड्नु पथ्र्यो, हामीले पाहुना जस्तो व्यवहार गर्‍ यौं।

साहित्यलाई साथी बनाइयो भने त्यो नजिक रहन्छ। आजका दिनसम्म हामीले साहित्यलाई पाहुना बनाएर राख्यौं। अबका दिनमा साथी बनाएर लैजान सक्यौं भने सजिलो हुन्छ। त्यतातिर हाम्रो राज्यको, सरकारको, सिंहदरबारको ध्यान जानु पर्छ।

नियात्रा र निबन्धमा पुरस्कार पनि कम पाइन्छ भनिन्छ । यहाँको एक हातको तालीले मदन पुरस्कार नै पाएको छ नि ?

मैले नियात्रा र निबन्धको यात्रा थाल्दा धेरैले हाँसो गरे। धेरैले भने, कथा कविताको लाइन छोडेर किन यो काम गरेको हो भने। तर, मलाई के लाग्छ भने तपाईँलाई जुन कुरा राम्रो लाग्छ, जुन कुराले आनन्द आउँछ, जुन कुरा अभिव्यक्त भएपछि मन चंगा भएजस्तो लाग्छ त्यो काम गर्नु पर्छ। कसैले तीन चम्के चुलो बनाएको ठाउँमा तपाईँले ताप्के राखेमा त्यसमा राम्रो चिज पाक्दैन। जब आफैले तीन चम्के चुल्हो बनाउनु हुन्छ त्यसको पीडा, आगो बाल्दाको पीडा तपाईँलाई थाहा हुन्छ र ध्यान दिएर खाना पकाउनु हुन्छ।

नेपाली निवन्ध पनि काठे च्याउ जस्तै भएर बस्यो। नेपाली निबन्ध एलिट विधा हो, यो सम्भ्रान्त विधा हो, गाह्रो विधा हो, सबैले सक्दैनन्, कोही आउँनै सक्दैनन्, कसैले लेख्नै सक्दैनन् भन्ने खालको भावना निकै अघिल्लो पुस्ताबाट त्यो भयो। एकातिर त्यो भयो, अर्कोतिर हामी आफै पनि छिटोछरितो विधामा जान्छौं। लामो समयसम्म कविताको, आख्यानको, उपन्यासको साम्राज्य रह्यो

मैले यसो भन्दा अहंकार नभन्नु होला, मैले काठे च्याउलाई भत्काएँ। सम्भ्रान्त बिधालाई जनमनको कुरा लेख्न सकिने, भुइँको कुरा लेख्न सकिने बनाएँ । निबन्धमा हाडे ओखर जस्तो कुरालाई छोडेर दाँते ओखरजस्तो बनाएँ। हिजोका दिनमा विश्वयुद्धका कुरा लेखिए, अहिले हाम्रो समाजले छिनछिनमा युद्ध भोगिरहेको छ।

हामीले यी कुरालाई पनि निबन्धमा लेख्नु पर्छ, यसमा अलिकति फ्युजन गर्नुपर्छ भन्ने मेरो प्रयास रह्यो। फलस्वरुप ४० वर्षपछि नेपाली निबन्ध पुरस्कृत भएको हो । मेरो एक हातको ताली निबन्ध संग्रहले मदन पुरस्कार पाएपछि अरु पनि निबन्ध संग्रहहरु पुरस्कृत भए। झण्डै ४० वर्षपछि नेपाली निबन्ध विधा पुरस्कृत भएको हो।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो