प्राकृतिक विपदमा हरेक वर्ष किन हुन्छ मानवीय क्षति ?

सम्भव सिंह ठकुरी
४ असार २०७८ १५:०३

काठमाडौं। केही दिन यताको अविरल वर्षाका कारण मुलुकका धेरै ठाउँमा बाढी गएको पहिरामा परी ठूलो भौतिक र मानवीय क्षति भएको छ। बाढी पहिरोका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको छ। सयौँ मानिसहरु विस्थापित भएका छन्। घरजग्गा सबै बगरमा परिणत भएका छन्।

उता लमजुङ, मनाङ, गोरखा, पाल्पा, स्याङ्जा, बाजुरा, अर्घाखाँची, प्युठान, कास्की, पर्वत, म्याग्दी र डोटीलगायतका जिल्लाहरुमा पनि भौतिक र मानवीय क्षति भएको छ।

गृह मन्त्रलायका अनुसार यो वर्षको बाढी पहिरो प्रकोपबाट मात्र मृत्यु हुनेको संख्या १५ पुगेको छ। २५ जना वेपत्ता रहेका छन्। ११ जना अंगभंग भएका छन्। १२९ घर पूर्णरुपमा क्षति भएका छन् भने ११४ घर आंशिक क्षति भएका छन्।

भौगोलिक विविधता भएको देश नेपालमा हरेक वर्ष तराई क्षेत्रमा वर्षायाम सुरु भएसँगै बाढी र डुवानले सयौँ मानिस धनजन क्षतिसहित विस्थापित हुन्छन्। पहाडी क्षेत्रहरुमा पनि पहिरो र बाढीले भौतिक र मानवीय क्षति हुने गरेको छ।

विभिन्न अभावबाट गुज्रिएका नेपाली जनता हरेक वर्ष प्रकृतिक विपत्तिको सामना गरिरहेका छन्। यसरी प्रभावित भएपछि हरेक वर्ष पीडितलाई राहत,उद्धार तथा खाद्यान्न सहयोग त हुन्छ। तर संघीय संरचना अनुसार तीन तहको सरकार भएको देशमा आवश्यक प्रकृतिक विपद् न्यूनिकरणमा पूर्वतयारी भने गरिएको पाइँदैन।

कोरोनाले थलिएको नेपालीलाई यो वर्ष पनि बाढी र पहिरोले अर्को समस्या उत्पन्न गराएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्रधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालका अनुसार सन्धुपाल्चोक, मनाङ, कास्की, लमजुङ,गोरखा, सप्तरी, कालीकोट, सल्यान, रुपन्देही, काभ्रे, अर्घाखाँची, बाग्लुङ, गुल्मी, स्याङ्जालगाएतका जिल्लाहरु जोखिम जिल्लाको रुपमा वर्गिकरण गरिएको छ।

उनका अनुसार पीडित र प्रभावितलाई उद्धार र पुर्नस्थापनाको लागि काम पनि भइराखेको छ। स्थायी आवासका लगि तीनै तहका सरकारसँग समन्वय भइराखेको छ भने अस्थायी आवास र सहयोगका लागि विवरण संकलन हुने काम भइराखेको छ।

भूगर्भविद् शिव बाास्कोटाका अनुसार बाढी पहिरो आउनु भनेको प्रकृतिको स्वभाविक प्रक्रिया हो। तर यसो हुनुमा प्रमुख कारण भनेको मानव निर्मित भौतिक संरचना पनि हो।

‘प्रकृतिको स्वभाविक र सामान्य प्रक्रिया भन्दा मानव निर्मित विभिन्न भौतिक संरचना जंगल ढुङ्गा,माटो दोहन गर्नुले पनि पानी समयको आवश्यक्ता अनुसार नपर्ने र पर्दा पनि प्राकृतिक नियन्त्रण भन्दा बाहिर गएको छ,’ उनले भने।

‘नेपाल भौगौलिक रुपमा धेरै पहाडी क्षेत्र भएको ठाँउ हो,’ उनले भने, ‘हामीले विकास निर्माणको काम गर्दा निस्किने ढुङ्गा,माटो उचित ठाँउमा व्यवस्थापन गर्न सकेनौँ। त्यसकारण पहाडका ओरालो भिराले ठाँउहरु पानी पर्दा नियन्त्रण नभएर बग्ने र यो समस्या हुन्छ।’

पानी पर्ने बाढी, पहिरो जाने समस्या पहिले पनि हुने गथ्र्यो। तर मानवीय क्षतिको घटना कमनै हुने गथ्र्यो। आजभोलि मानिसहरु खेतीयोग्य जमिनहरुमा घर बनाएर स्थान्तरण हुने प्रक्रिया चल्न थालेको छ। त्यस्कै परिणमा मानवीय र धनजनको क्षति भएको छ।

बास्कोटाका अनुसार सिन्धुपाल्चोकको घटनामा पनि उक्त ठाँउ पहिले खेतीयोग्य जमिन थियो। विस्तारै मानववस्ती हुनथालेपछि नजिकै रहेको नदी नियन्त्रण भन्दा बाहिर आएर यो घटना हुन पुग्यो। त्यहाँ खेतमात्र भएको भए खेत बगाँउथ्यो,मानवीय र ठूला घरहरुको क्षति हुँदैन थियो।

अहिले भन्दा कम पीडा र विपत् पथ्र्यो। र त्यहाँ बाढीमा जति लेदो आएका छन्,ती सबै विकास निर्माणको क्रममा निस्किएका माटो व्यवस्थापन गर्न नसकेर पानी परेपछि हिलो र देलोमा परिणत भएको हुनसक्ने उनको तर्क छ।

यस्ता खाले विपत् नियन्त्रणका लागि तीनवटै सरकारले पनि प्रभावित भएपछि राहत र उद्धार दिएर मात्र हुँदैन। प्रभावित हुनुपूर्व मानव स्थान्तरण गर्न र बस्न योग्य छ,कि छैन? त्यो अध्ययन गरेर बस्ती बसाल्दा उत्तम हुन्छ। विकास निर्माणका काम गर्दा पनि दीगो विकासको अवधारण लिएर प्राकृतिक विपत् जोखिम न्यूनिकरणका लागि काम गर्नुपर्छ।

‘हामीले पनि घर बनाउँदा भिरालो ओरालो नदी छेउ, होचो ठाँउहरुको अध्ययन गरेर बनायौँ,भने यस्ता विपद् केही नियन्त्रण हुन सक्छ,’ उनले भने।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *