‘एकसाथ बच्चा र बुद्ध बन्न सकेमात्र असल साहित्यकार बनिन्छ’ – Dcnepal

‘एकसाथ बच्चा र बुद्ध बन्न सकेमात्र असल साहित्यकार बनिन्छ’

नेपाली कविता, निबन्ध तथा उपन्यासमा कलम चलाउने श्रष्टा हुन भूपीन। भूपेन्द्र खड्कालाई साहित्यमा भूपीन भनेर चिनिन्छ। नेपाली साहित्यमा तीन वटा विधालाई उत्तिकै माया गर्ने साहित्यकार भूपीनले २०५३ सालमा क्षेतिग्रस्त पृथ्वी र मूल सडक नामक कविता संग्रहबाट कृतिगत साहित्यमा प्रवेश गरेका थिए।

स्कूले जीवनमा नै उपन्यासको पाण्डुलिपी तयार गरेका भूपीनको पछिल्लो कृति मैदारो (उपन्यास २०७५) बजारमा छ। अझै पनि आफूसँग अर्को पाण्डुलिपी रहेको र व्यवस्थित गरी प्रकाशनमा ल्याउने सोचमा छन् भूपीन। उनका हजार वर्षको निद्रा (कविता संग्रह २०६६), चौबिस रील, (निबन्ध संग्रह २०६९) र सुप्लाको हवाइजहाज (कविता संग्रह २०७२) बजारमा छन्।

विभिन्न पुरस्कारबाट पुरस्कृत भूपीनसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादीत अंशः

हामीले २ वटा लकडाउनको सामना गर्नु पर्‍यो, एउटा श्रष्टाको जीवनमा कति असर पर्‍यो ?

समसामयिक प्रश्न गर्नु भयो। लकडाउनका अनुभवहरु चाहिँ विशिष्ठ खालका रहे। महामारीले हाम्रो जीवनमा हस्तक्षेप त गर्‍याे नै। तर, प्रसस्त समय पनि दिएको छ। अभिलेखका लागि समय र एकान्त धेरै महत्वपूर्ण कुरा हुन। हतारको जिन्दगीबाट अलि पृथक रहेर, एकान्तको अनुभव गर्दै आफूले अनुभूति गरेका कुराहरुलाई लेख्नुको छुट्टै मजा हुन्छ। तर, समस्या के भइदियो भने हामीसँग प्राप्त समय छ। एकान्त पनि छ। हल्ला छैन । तर, लेख्ने मुड पनि छैन। लेखकका लागि मुड अत्यावश्यक हुँदो रहेछ भन्ने यो बेलामा थाहा भयो।

मुड किन छैन भने हाम्रो वरिपरी आफन्त, नातागोता, साथी भाइलाई कोरोना संक्रमणको खबर सुनिरहनु पर्छ, उहाँहरुले ज्यान नै गुमाउनु पर्यो भन्ने सुनिरहनु पर्छ, त्यो मुडले हामीलाई डिप्रेस गरिरहेको हुन्छ। लेखक तथा सर्जकहरुका लागि मुड कति आवश्यक हुन्छ भन्ने कुराको पाठ लकडाउनले सिकाएको छ। लेख्नु पर्छ भन्ने लाग्दा लाग्दै पनि मुड नबन्ने समस्याबाट व्यक्तिगत रुपमा म जुधिरहेको छु।

क्रमशः पहिलो लहर र दोश्रो लहरमा भएको लकडाउनमा यहाँले दिन कसरी व्यतित गर्नु भयो ?

पहिलो लहरको लकडाउनमा समयको व्यवस्थापनका कारण मैले मेरो जीवनमा गर्न नसकेका कार्यहरु गरेँ। त्यो मनस्थिति पनि बन्यो। मैले हेर्न चाहेका तर नपाएका। जस्तै महाभारत पुरै हेरेँ। एक हप्ता लगाएर हेरेको थिएँ। बुद्ध सिरिज पनि हेरेँ। त्यो खालको म सँग बलियो मनस्थिति पनि थियो। त्यो बेलाको लकडाउनमा आतंक त थियो। तर आफ्नै घरमा मृत्यु प्रवेश गरिसकेको थिएन।

दोश्रो लरमा मृत्यु नै आफ्नो परिवारमा प्रवेश गर्यो। त्यसले त्यो लामो खालको मेघा प्रोजेक्टमा काम गर्ने, त्यसमा आफ्नो समय व्यति तगर्ने मुड बनेन। मृत्युका खबरहरुले, कोरोनाको प्रभावका खबहरुले मन बेचैन हुन थाल्यो। मैले बेचैन भएको मनलाई भुलाउन आफूलाई मन पर्ने भिडियोग्राफी, फोटोग्राफी गरेँ। खेलकुद हेर्छु। पछिल्लो समयको यूरोकप, कोपा अमेरिका हेरेर दिन व्यतित गरिरहेको छु।

महामारीका बेला ज्यान गुमाउनेको परिवारको संख्या धेरै छ। पीडा पनि उत्तिकै छ, त्यो पीडाबाट बाहिर आउनका लागि के गर्नु पर्ला ? यहाँ पनि त्यो परिस्थितिबाट अघि बढेको हुँदा अरुलाई के सुझाव दिन चाहनु हुन्छ ?

यो समयको सबैभन्दा बढी महत्वपूर्ण प्रश्न नै यही हो जस्तो लाग्छ मलाई। केही कुरा त आफूलाई कसरी व्यवस्थापन गरैँ भन्ने बारे अघिल्लो प्रश्नको उत्तरमा पनि भने। सबै भन्दा पहिला तपाईँलाई के कुरामा रुची छ, त्यो विषयमा आफूलाई केन्द्रित गर्नु पर्छ। त्यो गर्दा आफूलाई आनन्दित गर्न पाउनु हुन्छ। निराशाका क्षणहरु बिर्सनु हुन्छ।

अहिलेको समय भनेको पीडाहरुलाई कम गर्न सकिन्छ भन्ने विषयमा नै ध्यान दिनु पर्ने हुन्छ। सबै आफन्तलाई मैले त्यही भन्दै आएको छु। आफूलाई जुन विषयमा बढी रुची हुन्छ त्यही विषयमा लाग्नु होस्। कृषि कार्य भयो, लेख्ने पढ्ने काम भयाे, नाच्ने गाउँने, जुन विषयमा आफूलाई राख्दा खुसी महशुस गर्नु हुन्छ त्यही विषयहरुमा लाग्नुपर्छ भन्न चाहन्छु।

यहाँ कविता लेखनबाट साहित्यमा आउनु भयो, निबन्ध पनि लेख्नु भयो र उपन्यासमा पनि कलम चल्यो, तीन वटा फरकफरक विधालेखनमा सबैभन्दा सजिलो कुन विधा लाग्यो ?

कुनै पनि विधा सजिलो छैन। मेरो व्यक्तिगत अनुभव हो। कतिपयले सजिलो मान्नु हुन्छ होला त्यो उहाँहरुको विषय भयो। मेरो अनुभवले हरेक विधाका आफ्नै शक्तिहरु देख्छ। हरेक विधाका आफ्नै सीमाहरु छन्। ती शक्ति र सीमाहरुलाई प्रयोग गर्ने हो। मैले हरेक विधालाई उत्तिकै प्रेम गर्छु र सबै विधा लेखनमा मलाई सजिलो भएको छ।

कविता लेख्ने बेला मैले कविता नै सबै भन्दा बलियो विधा हो भने हुँला। निबन्धमा लागेपछि निबन्ध पनि शक्तिशाली रहेछ भन्ने लाग्यो मलाई। त्यसको आफ्नो छुट्टै सामर्थ्य र विषेशता छन भन्ने लाग्यो। उपन्यास लेख्न सुरु गरे। आख्यानको पनि छुट्टै सौन्दर्य छ भन्ने लाग्यो।

त्यसकारण कुनै पनि विधा आफैमा कमजोर, बलिया, सजिलो र अफ्ठेरो हुँदैनन्। पछिल्लो समयमा नेपाली साहित्यमा त्यो चलनचल्तिमा आएको देख्छु। मेरो लागि कुनै पनि विधा सजिलो छैनन्। सबै विधामा उत्तिकै चुनौति देख्छु, र सामना पनि गर्दै आएको छु। सानैदेखि सबै विधालाई प्रेम गर्दै आएँ, ती प्रेमलाई अभिवक्त गर्नका लागि मैले विधामा कलम चलाउँदै आएँ, मैले प्रयास गरिरहेको छु। प्रयास कुनै दिन सफल होला भन्ने आशाले अघि बढी रहेको छु।

आफूले कलम चलाएको विधामात्र शसक्त छ, अरु त त्यस्तै हुन भन्ने सुन्नमा आउछन्। यहाँले धेरै विधामा कलम चलाएका कारण सबैलाई बलिया छन् भनेर भन्नु भएको हो ?

संयोगले म पोखरामा हुँदा सरुभक्त दाइसँग संगत गर्ने अवसर पाएँ। उहाँसँग धेरै ठाउँ घुमेको पनि छु। उहाँले पनि अन्तक्रियाको बेलामा एउटा विधामा कलम चलाउने श्रष्टाले अर्को विधालाई सकारात्मक तरिकाले हेर्दैनन् भनेका सुन्थे। त्यो अहिले पनि देखिन्छ। त्यो ठूलो समस्या हो जस्तो लाग्छ।

एउटा लेखकले हरेक विधालाई त्यतिकै प्रेम गर्न सक्छ। तर, हाम्रो समस्या के छ भने मैले कवितामा लागे भने आख्यानकारलाई गाली गर्ने, आख्यानकारले कविलाई, अझै भनौं कविता भित्रको पनि गजल लेख्नेले मुक्त छन्दमा लेख्नेलाई नटेर्ने, यसले उसलाई, उसले उसलाई नगनेको अवस्था नेपाली साहित्यमा छ।

हामी कलमको खेती गर्ने व्यक्तिहरुको व्यापक मानसिकता हुनु पर्ने हो। संकुचित मानसिकतामा छौं जस्तो लागिरहेको छ। हुन त अस्तित्वको प्रश्न पनि होला। आफूले कलम चलाएको विधालाई अस्तित्वमा ल्याउनका लागि अर्को विधालाई गालि गर्नु पर्छ भन्ने मनस्थिति पनि होला। तर, त्यो गलत कुरा हो। कुनै पनि विधामा लेख्दा खेरी तपाईँ गम्भिर चाहीँ हुनै पर्छ। गम्भिरतासँग कुनै सम्झौता गर्नु हुँदैन।

लेखनको हिसाबले तीन विधामध्ये मजा कुन विधामा आउँछ?

मैले अहिलेसम्मको जीवनमा सबै भन्दा बढी लेखेको त कविता नै हो। कवितामा मेरो अभ्यास पनि बढी भयो। सन्तुष्टिको कुरा गर्नुहुन्छ भने मैले इमान्दार भएर भन्नु नै पर्छ। मलाई कविता जति सन्तुष्टि अरु विधाले दिएको छैन। मैले निबन्ध र आख्यानमा पनि कविताको लेप लगाएको छु।

विषयवस्तुको कुरा त आफ्नो ठाउँमा छँदै छ। तर, भाषाको दृष्टिकोणबाट हेर्नु हुन्छ भने मैले निबन्धमा पनि आख्यानमा पनि कविताको भाषा लेख्ने गरेको छु। आख्यान र काव्यको बीचमा एउटा पर्खाल छ। त्यो पर्खाल नाघेर तपाईँ आख्यानको क्याण्टिनमा खाजा खान पनि जान सक्नु हुन्छ, यता काव्यको क्यान्टिनमा पनि आउन सक्नु हुन्छ। तर, मेरो प्रेमको हिसाबले सबै भन्दा बढी प्रेम पनि कवितालाई नै गर्छु।

मोफसलका साहित्यकारहरुलाई गाह्रो छ भन्ने छ। कसरी संघर्ष गरिरहनु भएको छ ?

अब मोफसलबाद र राजधानीवाद डेट एक्सपाएर्ड विषय हो। एक समय थियो, जतिबेला म साहित्यिक महोत्सव र बहसका कार्यक्रमहरुमा मोफसलवाद र राजधानीवादको बारेमा बोल्नु पर्छ भनेर निम्ता पनि गरिएको थियो। त्यो बेलामा वास्तवमा मोफसल र राजधानी थियो। प्रविधिको र सामाजिक सञ्जालको विकास भएसँगै राजधानी र मोफसलको सीमारेखा मेटेर गयो भन्ने लाग्छ।

अहिले दूर दराजमा बसेका साहित्यकारले पनि आफ्ना रचनाका पाठकहरुलाई एकीकृत प्रदान गर्न सक्छन्। पाठक सर्कल निर्माण गर्नु पर्ने साहित्यकारको काम हो। पहिला राजधानीसँग सम्पर्कमा भएन भने अलि गाह्रो हुन्छ भन्ने थियो।

पत्रपत्रिकामा रचना आउँनदैन थियो, त्यो बेलमा राजधानीले हेपेको अनुभव गर्थे। एउटा पुस्ताले त्यो विषयमा विमर्श नै गर्नु परेको थियो अहिले प्रविधिले त्यसलाई साघुरो गराएको छ। मेटाइदियो भन्दा पनि फरक पर्दैन। अब यसको सान्दर्भिकता समाप्त भयो।

सामाजिक यथार्थतामा कलम चलाउनु हुन्छ। यहाँको उपन्यासलाई निहाल्दा जातीय विभेदका विरुद्धको संघर्ष देखिन्छ, कसरी सोच्नु भयो यही विषय?

म हुर्किँदै गर्दा मेरो घरमा बालीघरे हलिया बस्ने एउटा समूदाय थियो। त्यो समुदायलाई मेरै घरले विभेद गरेको देख्थे। विचार निर्माणको लामि मेरो स्कूलिङ पनि त्यस्तै भयो। जसले न्यायपूर्ण समाजको कल्पना गरेको थियो। विभेदरिहत समाजको कल्पना गथ्र्यो।

त्यसले मलाई विचार निर्माण गर्ने मौका दियो। विभेद र अन्यायपूर्ण समाज भनेको प्रगतिशील समाज होइन भन्ने विचार निर्माण भयो। त्यो विभेदलाई नजिकबाट अध्ययन गर्ने मौका पाएँ। यसको बारेमा किन नलेख्ने भन्ने मेरो पहिलेदेखिकै सोच थियो।

अर्को कुरा मेरो छोरीले प्रेम विवाह गरेपछि मेरो परिवारमा नकारात्मक हस्तक्षेप गर्यो। त्यसबाट पनि मलाई के लाग्यो भने म समानुभूतिको अवस्थामा पुगेर अहिले लेख्न सक्छु। किन भने मेरो छोरीको पीडालाई नजिकबाट बुझ्ने मौका पाएँ।

मेरा दलित साथीहरुको पीडा पनि थाहा थियो। छोरीले पनि त्यसमा पीडा बुझ्न सजिलो बनाएपछि पनि सजिलो भयो। दलित आन्दोलनका अग्रज भगत सर्वजित विकले सबै भन्दा पहिला आवाज उठाएको जिल्ला पनि भएकोले मलाई त्यो त्यो विषय लेख्न सजिलो भयो।

मैले दलितमा पनि पेन्टर दलितको कथा लेख्ने विचार गरेँ र लेखे किन भने मैले आफैंले पढएको विद्यार्थी थिए। मैले सधै सम्झिने पनि गर्छु। उनलाई नजिकबाट बुझेपछि सिल्पी समूदाय पनि हो भन्ने बुझेको थिएँ। कलाकारीताप्रति पहिलै देखिएको रुझान छ। विशिष्ठता छ त्यो चरित्रलाई पेन्टरको चरित्रले बढी न्याय गर्छ भन्ने लाग्यो।

उपन्यास लेख्नका लागि के कस्ता मसलाहरु चाहिन्छन् ?

उपन्यास एउटा लेखकको लागि एकदमै धेरै प्रयोग गर्न सकिने प्रयोग भूमि पनि हो। उपन्यासमा हुने प्रयोगहरु अरु विधामा गर्न कठिन पनि हुन्छ। मैले अलिकति मैदारोको उदाहरण दिन्छु। पाठकहरुले मलाई मैदारो पढ्दा निबन्धको स्वाद पाएको सुनाउनु भयो। मैले राखेकै हो। कविताको शैली पनि प्रयोग गरेको छु।

पात्र, चरित्र र परिवेशसँगै आफूले पहिले प्रयोग गरेको विधा पनि त्यसमा घुलमील गराउनु पर्छ जस्तो लाग्छ। जस्तो मलाई उपन्यासको भाषाका लागि पहिला लेखेको कविताले सहयोग गर्यो। निबन्धले विचारलाई कसरी राख्ने भन्नेबारे सहयोग गर्यो।

साहित्य बजारमा उपन्यास विधा बढी बिक्रीहुने विधा भएकाले नै आउनु भएको हो भन्न मिल्छ ?

पछिल्लो समय उपन्यास बढी बिक्री भएको कुरा सत्य हो। हामीले स्वीकार गर्नु पर्छ। समग्र हाम्रो साहित्यको कुरा गर्दै भूपीको घुम्ने मेचमाथि अन्धोमान्छे र देवकोटाको मुनामदन नै होला। मैले भन्नु यतिमात्र छ कि मेरो उपन्यास लेखेको बेला मलाई बजारको कुनै ज्ञान नै थिएन। मैले ९/१० कक्षा पढ्दादेखि नै दुईवटा उपन्यासहरु तयार गरिसकेको थिएँ। एउटा पाण्डुलिपी त अझै पनि छ।

मैले बजारलाई ध्यानमा राखेर उपन्यास लेखेको भन्ने कुरालाई यो कुराले खण्डन गर्छ जस्तो लाग्छ। उपन्यास लेखेर कमाउन सकिन्छ भन्ने कुराको चेतना नै थिएन हैन। त्यो विचार निर्माण भएकै थिएन। मलाई लाग्छ उपन्यास प्रतिको प्रेमको कारणले गर्दा त्यो विधा मैले त्यो बेलामा लेखेँ। यद्यपी मैले कविता र निबन्ध प्रकाशित गरेँ। मेरो व्यक्तिगत कुरा त बजारलाई ध्यानमा राखेर कहिलै पनि लेखिन।

सम्भवतः लेख्दिन पनि। साहित्यमा पनि म समाजवादी नै हो। पूजिवादी होइन्। जीवनलाई सहज बनाउका लागि केही साहित्यकारहरु उपन्यासतिर लागेको भन्ने आरोप लाग्ने गरेको चाँही सत्य हो।

नेपाली साहित्यको अवस्था कस्तो छ ?

नेपाली साहित्यको पछिल्लो अवस्था एकदमै विविधतामय, प्रवाहमय र एकदमै गतिशील छ। मलाई त्यसमा व्यक्तिगतरुमा कुनै सन्देह छैन। कवितामा आफ्नै तरिकाले लागि रहनु भएका कविहरु पनि हुनुहुन्छ। निवन्धमा पनि लेखकहरु लागि रहनु भएको छ।

आख्यानमा पनि लागि रहनु भएको छ। विविधत स्वीकार गरेर गतिशील भए पनि हतारमा छ। हतारमा गरिरहेको यात्राका रुपमा पनि हामीले विष्लेषण गर्नुपर्छ। हतारमा गम्भिरता छुट्ने सम्भावना हुन्छ। त्यसले विविधतालाई त समात्छ तर विषयको गम्भिर्यता छुट्ने खतरा पनि हुन्छ।

हतारमा साहित्य भएकाले संकट के देखिन्छ भने हामीले कताकता गम्भिरता गुमाइरहेको जस्तो लाग्छ। दर्शन पक्ष र विचारपक्ष अलि दरिलो रुपमा आउनु पर्ने आवश्यक्ता देख्छु। बढी चर्चामुखि भएको हो की भन्ने लाग्छ। तर्क भन्दा तरंग उत्पन्न गर्ने कुरामा साहित्यले ध्यान दिएको जस्तो लाग्छ।

यहाँले पनि थुप्रै पुरस्कार पाउनु भएको छ, मैदारो पनि मदन पुरस्कार पाउने भन्ने हल्ला चल्यो, पाएन। पुरस्कारमा विभेद हुन्छ भन्ने छ नि ?

मैदारोले किन मदन पुरस्कार पाएन भन्ने कुरा पाठकले खोज्ने कुरा हो। मैले यसमा केही भन्दैन। जहासम्म पुरस्कारमा विभेदको कुरा गर्नु भयो त्यो देखिन्छ। कतिपय पुरस्कार कस्तो देखिन्छ भने त्यो सम्मान पाएपछि लेखक अपमानि हुने हो की झैं लाग्छ।

पुरस्कारलाई सस्तो बनाए भन्न मिल्छ। पुरस्कारले प्रतिष्ठा आर्जन गर्न सकिरहेको छैन भन्ने लाग्छ। सबैलाई भनेको होइन। नराम्रोले राम्रोलाई डोमिनेट गर्न दिन हुँदैन भन्ने अपेक्षा हो।

तर, म त लेखनलाई मात्र प्राथामिकता दिनु पर्छ, पुरस्कारमा ध्यान दिनु हुन्न भन्छु। राम्रो लेखनमा ध्यान दिनु भयो भने पुरस्कार पछ्याउँदै आउँछ। पुरस्कारले मोटिभेसन दिन्छ। तर, पुरस्कारमा नै ठूलो राजनीति भएको पनि देखिन्छ।

अन्तमाः एउटा असल साहित्यकार बन्नका लागि यहाँको अनुभवले के सिकाउँछ ?

म पनि सिक्दै छु। सिक्दै अगाडि बढ्ने हो। तर, मैले अनुभव गरेका कुरा अनुसार लेखकमा अवलोकनका लागि एउटा बालकको जसतो खुबी हुनु पर्छ भन्छु। लेखक विश्व पीडा बोकेर हिँड्छ। तर बच्चा हो। बच्चाको निरीक्षण गर्ने तरिका हामीलाई थाहै हुँदैन।

समाजलाई अवलोकन गर्ने विशिष्ठ खुबी एउटा लेखकमा हुनु पर्छ। अर्को कुरा तपस्वीहरुको जस्तो ज्ञानको भोक पनि हुनु पर्छ। सफल लेखक मेरो विचारमा के हो भने जो एकसाथ बालक बन्न सक्छ र परिपक्क बुद्ध बन्न सक्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो