माइक्रोसफ्टका अध्यक्षमा भारतीय मूलका नाडेला नियुक्त

डिसी नेपाल
५ असार २०७८ २२:४६

वासिङ्टन । विश्वचर्चित माइक्रोसफ्ट कार्पोरेसनका अध्यक्षमा सत्य नाडेला नियुक्त भएका छन् । माइक्रोसफ्टका अध्यक्ष यसअघि जोन थमसन रहेका थिए भने नाडेला माइक्रोसफ्टको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका थिए ।

भारतीय मूलका नाडेला सो चर्चित कम्पनीका अध्यक्षमा निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ । माइक्रोसफ्टका संस्थापक विल गेट्सले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी गत सन् २००० मा त्यागेका थिए भने सन् २०१४ देखि लगातार नाडेला नै प्रमुख कार्यकारी अधिकृत भएका थिए ।

उनी अध्यक्षमा निर्वाचित भए पनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत निर्वाह गरिरहनु हुने कम्पनीले जनाएको छ । माइक्रोसफ्ट कर्पोरेसनमा झण्डै दई दशकपछि एउटै व्यक्तिले अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् ।

त्यसैगरी कर्पोरेसनका अध्यक्षको जिम्मेवारीबाट संस्थापक विल गेट्स सन् २०१४ मा बाहिरिएका थिए । संस्थापक गेट्स बाहिरिएपछि थमसनले अध्यक्षको जिम्मेवारी लिएका थिए । अहिले उनी पनि बाहिरिएपछि माइक्रोसफ्ट कर्पोरेसनको नेतृत्व तेस्रो व्यक्तिमा पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *