निजी सवारी साधनमा जोर बिजोर लागू, कुन बार के पसल खुल्छ ?

डिसी नेपाल
६ असार २०७८ १८:११

काठमाडौ। कोरोना रोकथामका लागि काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै निजी सवारी साधन सञ्चालन जोर–बिजोर प्रणालीमा चल्न पाउनेगरी एकसाता लम्बाइएको छ ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको समयावधि सकिन लागेपछि आइतबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।

निजी गाडीमा यात्रा गर्दा बढीमा ४ जना र मोटरसाइकलमा दुई जनाले यात्रा गर्न सक्नेछन् । ट्याक्सीहरुलाई पनि जोर बिजोर अनुसार चल्न दिइने भएको छ । सार्वजनिक सवारी साधन भने अवको थप निषेधाज्ञामा चल्न पाउने छैनन्।

वैठकले पसलहरुको हकमा आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने भएको छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ भने रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने भएका छन् । हार्डवेयर पसलहरु दैनिक ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाउने भएका छन् । शनिबार अत्यावश्यक बाहेकका पसलहरु खुल्न नपाउने भएका छन् । सरकारी र सार्वजनिक संस्थानका कार्यालयमा सीमित कर्मचारी राखेर मात्र संचालन गर्न अनुमति दिइएको छ ।

किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहान समय तोकेर खोल्न यस अघि दिइएको छ। यसै गरि सवारी साधन मर्मतका लागि वर्कशपहरु स्वास्थ्यका मापदण्ड अपनाएर खोल्न दिइएको छ।

निजी तथा सार्वजनिक निर्माणको क्षेत्रमा काम गर्न यस अघि खुला गरिएको थियो। पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही भोलि रातिदेखि सकिँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *