घर घरको मठमा राखियो तुलसीको दल
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा तुलसीको बिरुवा उमार्न बीउँ रोपण सम्पन्न गरिएको छ । यसलाई तुलसीको दल राख्ने पनि भनिन्छ ।
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा दल राखेर तुलसीको बीउ रोप्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन सारिन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मासका नाममा तुलसीरुपी भगवान् विष्णुको विशेष आराधना गरिन्छ ।
आजका दिन स्नान, तुलसीको पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशी समेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधी मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।
नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्नसमेत तुलसी उपयोगी हुने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउँछन् । कोरोनाले अक्सिजन अपुग भएर लिनुपर्ने अवस्थामा लैजाने गरेकाले घर घरमा रोप्दा मानिसलाई फाइदा गर्ने भएकैले वैदिक संस्कृति अनुसार तुलसी पूजा गर्ने परम्परा शुरु भएको उनले बताए । तुलसी चियाका रुपमा समेत सेवन गरिन्छ । तुलसीपत्तालगायत जडिबुटी पकाएर खाँदा रुघा, खोकी, घाँटी दुख्ने समस्यामा फाइदा गर्छ । प्रत्येक खाद्य सामग्रीमा एक पत्तामात्र तुलसी पत्ता राखेमा कीटाणुमुक्त गर्छ । रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment