दोस्रो मात्रा नपाउँदा विश्वभरि कोभिड खोप अभियान यसरी सङ्कटमा पर्न सक्छ – Dcnepal

दोस्रो मात्रा नपाउँदा विश्वभरि कोभिड खोप अभियान यसरी सङ्कटमा पर्न सक्छ

बीबीसी। आस्ट्राजेनेका, फाइजर र स्पुत्निकसहित अहिले उपलब्ध अधिकांश कोभिड खोप निश्चित अन्तरालमा दुई मात्रा लगाएपछि मात्र पूर्ण रूपमा प्रभावकारी हुन्छन्।कोरोनाभाइरसको सङ्क्रमणबाट आफ्ना नागरिकलाई जोगाउन राष्ट्रहरूले प्रतिस्पर्धा गरिरहँदा यही प्रावधान समस्याका रूपमा देखा परेको छ।

आपूर्तिको समस्या, कच्च पदार्थ र उत्पादनसम्बन्धी चुनौती एवं सामाजिक विषयका कारण धेरै ठाउँमा खोपको दोस्रो मात्रा उपलब्ध हुन सकेको छैन। के यी जटिलताहरूले कोरोनाभाइरसलाई परास्त गर्ने विश्वव्यापी प्रयासमा कुठाराघात गर्लान् त?

“यतिखेर गम्भीर बिरामी हुनबाट बच्नका लागि खोप नै सबैभन्दा उपयुक्त माध्यम हो,” स्कटिश सरकारका सल्लाहकार पनि रहेका यूनिभर्सिटी अफ एडिन्वराका प्राध्यापक देवी श्रीधरले बीबीसीको टुडे कार्यक्रममा भने।

महामारीका बीचमा नयाँ र थप सङ्क्रामक भेरिअन्टहरू देखा पर्न सक्ने भन्दै स्कटल्यान्डले पहिलो र दोस्रो पटक कोभिड खोप दिने समयावधि घटाएको छ।

एउटा त्यस्तो उदहारण डेल्टा भेरिअन्ट हो जुन सबैभन्दा पहिले भारतमा देखा परेको थियो। अध्ययनहरूले त्यो पहिले यूकेमा पहिचान भएको अल्फा भेरिअन्टभन्दा ६० प्रतिशत बढी सङ्क्रामक रहेको देखाएको थियो।

कोभिड खोपको दोस्रो मात्रा किन चाहिन्छ?

कुनै खोप पूर्ण प्रभावकारी हुन एकभन्दा बढी मात्रा चाहिनु सामान्य कुरा हो। अमेरिकामा सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्सन (सीडीसी) ले बालबालिकालाई पोलियोको चार मात्रा लिन सिफारिस गरेको छ भने दादुरा, गलगाँड र रुबेलाको खोपको पनि दुई मात्रा लिनुपर्छ।

खोपको पहिलो मात्राले रोगबाट केही सुरक्षा दिने भए पनि दोस्रो मात्रा लगाएपछि उच्च तहको प्रतिरक्षा निर्माण हुन्छ। पब्लिक हेल्थ इङ्ग्ल्यान्डले एप्रिल र मे महिनाबीचमा यूकेमा १४,००० व्यक्तिमा गरेको सर्वेक्षणमा फाइजर र आस्ट्राजेनेकको पहिलो मात्रा खोप लिएकामा डेल्टा भेरिअन्टविरूद्ध ३३ प्रतिशत मात्र प्रभावकारिता पाइने देखियो।

तर दोस्रो मात्र खोप लगाएपछि फाइजरका हकमा ८८ प्रतिशत र आस्ट्राजेनेकाको हकमा ६० प्रतिशत प्रभावकारिता रहेको पाइयो।

अस्पताल भर्ना हुनेगरी गम्भीर रूपमा बिरामी हुनबाट बच्नका लागि दुवै मात्र उच्च रूपमा प्रभावकारी पाइयो। अनि अर्को चासोको विषय के पनि हो भने दोस्रो मात्रा खोप नलगाइँदा भाइरसले खोपलाई छल्ने काम जारी राख्ने र धेरै मानिसमा फैलिने पाइयो।

प्राध्यापक श्रीधरका अनुसार स्कटल्यान्डको उद्देश्य कोभिड-१९ “व्यवस्थापन गर्न सकिने स्वास्थ्यको विषय” बनाउनका लागि “सङ्क्रमित र अस्पताल भर्ना हुने मानिसबीचको क्रम भङ्ग गर्नु” थियो।

किन लाखौँ मानिसले कोभिड खोपको दोस्रो मात्रा पाएका छैनन्?

यस्तो समस्या खासगरी कम र मध्यम आय भएका देशमा छ जहाँ पहिलो मात्रा नै खोप पाउन कठिन देखिन्छ। जुन १२ सम्ममा अफ्रिकामा पूर्ण रूपमा खोप पाउने मानिसको अनुपात ०.८३ प्रतिशत छ भने विश्वमा त्यो ९.३ प्रतिशत छ।

इजरेलमा त्यो अनुपात झन्डै ६० प्रतिशत छ भने अमेरिका र यूकेमा ४० प्रतिशतभन्दा धेरै छ। दक्षिण एशियामा खासगरी भारतले खोप आपूर्ति रोक्दा र संयुक्त राष्ट्रसङ्घ नेतृत्वको कोभ्याक्स कार्यक्रममा देखिएको सुस्तताका कारण असर परेको छ।

फाइजर र आस्ट्राजेनेका खोपले गम्भीर खालको कोभिड हुनबाट जोगाउँछन् तर पहिलो मात्रा मात्र लिएका मानिसमा डेल्टा भेरिअन्टविरुद्ध विकसित प्रतिरक्षा त्यति प्रभावकारी हुँदैन

नेपालमा २.४ प्रतिशत जनसङ्ख्याले मात्र पूर्ण मात्राको खोप पाएको छ। मार्च महिनामा आस्ट्राजेनेकाको पहिलो मात्रा खोप लिएका झन्डै १४ लाख ज्येष्ठ नागरिक अझै दोस्रो मात्रा खोप पर्खिरहेका छन्।

श्रीलङ्कामा अग्रमोर्चामा रहेर काम गर्ने छ लाख मानिसले साढे चार महिनापछिसम्म पनि दोस्रो मात्रा खोप पाएका छैनन्। स्थानीय सञ्चारमाध्यमका अनुसार अब आस्ट्राजेनेका खोपको दोस्रो मात्राका लागि उनीहरूले फाइजरको विकल्पबारे अध्ययन गरिरहेका छन्।

आर्जेन्टिनाको सरकारी तथ्याङ्कअनुसार एक करोड ३४ लाख जनाले पहिलो मात्रा लगाएकामा ३५ लाखले मात्र त्यसपछिको खोप लगाउन पाएका छन्। स्पुत्निक भी खोपको पहिलो मात्र लगाएका ६० लाख जनाको लागि अवस्था सबैभन्दा खराब छ।

दोस्रो मात्रा खोप नलगाए के हुन्छ?

पहिलो कुरा, वैज्ञानिकहरूले अझै हरेक कोभिड खोपका लागि दुई मात्राबीचको अधिकतम अन्तर कति हुनुपर्छ भनेर प्रमाणहरू जुटाइरहेका छन्।

धेरै बढी अन्तर राख्नु भनेको पहिलो मात्राको असर कमजोर हुँदै जानु हो तर धेरै कम अन्तर राख्नु भनेको तपाईँको प्रतिरक्षा प्रणालीले प्रारम्भिक खोपसँग पूर्ण रूपमा प्रतिक्रिया जनाउन नसक्नु हो।

विभिन्न सरकारहरूले खोप कार्यक्रमको तालिका कस्तो बनाउने भन्नेमा फरकफरक निर्णय गरेका छन्। उत्पादकहरूका समेत आफ्नै खालका समयसीमा छन्।

त्यस्तो अन्तरालका सम्बन्धमा अन्तर्राष्ट्रिय रूपमा एकमत नभए पनि दोस्रो खेप आवश्यक हुनेमा भने समझदारी छ। अध्ययनकर्ताहरूले दोस्रो मात्राबिना सङ्क्रमण बढ्ने मात्र होइन त्यो अरूमा सर्ने सम्भावना पनि उच्च हुने बताएका छन्।

तर कुनै पनि खोप शतप्रतिशत प्रभावकारी हुँदैन भन्ने बुझ्नु आवश्यक छ। अनि दुर्लभ नै भए पनि खोप लगाइसकेपछि पनि कोभिड-१९ लाग्छ र त्यसबाट मृत्यु हुने सम्भावना पनि रहन्छ।

भेरिअन्ट कतिसम्म खतरनाक बन्न सक्छन्?

जुन ७ सम्ममा अमेरिकामा १३ करोड ९० लाखभन्दा धेरै मानिस पूर्ण रूपबाट कोभिड-१९ को खोप पाइसकेको सीडीसीले जनाएको छ। सोही समयमा सबैजसो राज्यमा खोप लगाइसकेपछि पनि ३,४५९ बिरामीहरू अस्पताल भर्ना भएको वा मृत्यु भएको पाइएको छ। छ सय जनाको मृत्युको थियो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो