२ हजार निकाल्न एटिएम गएकी महिला ब्यालेन्स देखेर बेहोस, खातामा गनेर नसकिने पैसा थियो

डिसी नेपाल
९ असार २०७८ १७:३५

काठमाडौं। बैंक खातामा थोरै–थोरै रकम हुने र थोरै–थोरै परिमाणमा पैसा निकालेर काम चलाउने सामान्य व्यक्तिको खातामा एक्कासी खरबौं रुपैयाँ आयो भने ऊ आत्तिनु स्वभाविक नै हो । यस्तै घटना अमेरिकाको फ्लोरिडाकी एक महिलासँग भएको छ । उनी एटिएमबाट केवल २० डलर (२ हजार ३ सय रुपैयाँ) निकाल्न गएकी थिइन् तर उनको खातामा यति धेरै पैसा थियो कि उनको होसहवास उड्यो ।

उनको खातामा झण्डै १ बिलियन डलर अर्थात १ खर्ब १८ अर्ब रुपैयाँ थियो । बैंक अधिकारीहरुलाई ती वृद्ध महिलाले यसको जानकारी दिएपछि मात्रै यसको खुलासा हुन सक्यो । फ्लोरिडाकी महिला जुलिया योंकोभ्स्कीले एटिएमबाट पैसा निकाल्न खोज्दा मेसिनले पैसा निकाल्दा चार्ज लाग्ने अलर्ट दियो । मेसिनले दिएको अलर्ट बेवास्ता गर्दै उनले कारोबार जारी राखिन् । तर, जब उनले ब्यालेन्स हेरिन उनको खातामा ९९ करोड ९९ लाख ८५ हजार ८५५ डलर ९४ सेन्ट थियो ।

जुलियाले एट अन योर साइडसँग कुरा गर्दै भनिन् ‘म यो देखेर निकै डराएकी थिएँ । मलाई लाग्छ धेरैले सोचेका होलान् कि मैले लट्री जितें तर यो निकै डरलाग्दो थियो ।’ जुलियाले आफ्नो खातामा झण्डै एक अर्ब डलर भएको थाहा पाउँदा पनि यसलाई चलाइनन् । उनले भनिन् ‘मैले यस्ता घटनाबारे सुनेकी छु जहाँ मानिसहरुले पहिले त पैसा निकाले तर पछि तिर्नु परेको छ । मैले त्यो पैसाको के गर्न सक्थें र त्यो मेरो पैसा थिएन ।’

मंगलबार उनको बैंक खातामा यसरी देखिएको ब्यालेन्स ठिक गरिएको छ । बैंकका अधिकारीले बताएअनुसार जुलियाको खातामा भएको रकम ऋणत्मक थियो । ती अधिकारीका अनुसार यदि कुनै बैंक खातामा संदिग्ध गतिविधि भयो भने त्यो खातामा यस्तो ठूलो संख्या देखाइन्छ र त्यो खाताको पैसा निकाल्न मिल्दैन । यही कारण जुलियाले पनि २० डलर निकाल्न सकेकी थिइनन् ।

जुलियाको खाता संयुक्त खाता थियो जुन खाता जुलिया र उनका श्रीमानको नाममा थियो । यही कारण उनले पैसा निकाल्न खोज्दा बैंकले उक्त खाता फ्ल्याग गरेर यो काल्पनिक ब्यालेन्स देखाएको थियो । संयुक्त खातामा यस्तो भएमा खाता फ्रिज हुन नदिन ग्राहकले बैंकमा सही कागजात उपलब्ध गराउनुपर्ने ती अधिकारीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *