१३ औं महाधिवेशनमा मैले देउवाजीलाई र १४ औं महाधिवेशनमा देउवाजीले मलाई सघाउने सहमति भएको थियो : निधि

मदन कोइराला
१० असार २०७८ ७:५८

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजानिक भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवानै पुनः नेतृत्वमा आउने इच्छा देखिएका छन्। उनले आफू निकट सातै प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरिसकेका छन्।

तर लामो समयदेखि देउवालाई साथ दिएका उपभापति विमलेन्द्र निधिपनि सभापतिको दैडमा लागेका छन्। १३ औं महाधिवेशनमा आफूले सभापतिमा देउवालाई सघाएको र १४ औं महाधिवेशनमा देउवाले आफूलाई सघाउने सहमति अनुसार आफूले सभापतिमा उम्मेद्वारी दिने तयारी गरेको बताएका निधिसँग कांग्रेसको भदौमा हुने १४ औँ मआधिवेशनमा केन्द्रित रहेर कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग डिसी नेपालका लागि मदन कोइरालाले कुराकानी गरेको सम्पादित अंशः

लामो समयको अन्यौलता पछि अधिवेशनको फेरि नयाँ कार्यतालिका सार्वजानिक भएको छ। तर कोरोना महामारी, प्राकृतिक विपद्को चुनौती कायमै छ। यही बहानामा फेरि महाधिवेशन सर्ने त होइन?

महामारीको प्रकोप कायमै भएपनि अधिवेशन सार्नै नमिल्ने संवैधानिक बाध्यता छ। महामारीको प्रतिकुलतालाई ध्यानमा राखेर कसरी गर्ने भन्ने एउटा प्रश्न हो। तर संविधान र कानुनको प्रतिकुलता अनुसार भदौको १९ गते भित्र महाधिवेशन गर्नैपर्छ। कारोनाको जोखिम छ,तर बाधा छैन। त्यसकारण यो अधिवेशन सर्दैन, सार्न मिल्दैन र तय भएको मितिमै महाधिवेशन हुन्छ।

यहाँले सभापतिमा लड्ने दावेदारी गर्नु भएको छ। यो दावा पछिसम्म रहिरहन्छ कि? अहिले चर्चामा आउनको लागिमात्र हो?

नेपालमा अनुमानको भरमा विश्लेशण र प्रश्न गर्ने गरिन्छ। मैले १४ औँ महाधिवेशनमा सभापतिको उमेद्वारी दिन्छु भनेर व्यक्तिगत रुपमा शेरबहादुरजीलाई धेरै पहिलेदेखि भन्दै आएको छु। ठोस रुपमा १३ औँ महाधिवेशकै क्रममा भन्दै आएको छु। धेरै साथीहरुलाई भनेको पनि छु। मलाई लाग्छ यो कुराहरु तत्कालीन अवस्थामा मिडियाहरुमा पनि सार्वजानिक भइसकेका छन्।

त्यसकारण मैले देशै भरका नेताकार्यकर्ता, ७७ वटै जिल्ला पार्टी सभापतिहरु र अघिल्लो महाधिवेशनका महाधिवेशन प्रतितिधिहरुसँग पनि कुरा गरेको छु। त्यो बेला प्रत्यक्ष तर्फ २४० निर्वाचन क्षेत्र थियो। प्रत्येक निर्वाचन क्षेत्रबाट १२ जना महाधिवेशन प्रनिनिधि आउने चलन थियो। अहिले प्रत्यक्ष निर्वाचन क्षेत्र घटेर १६५ भएको र एउटा निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि आउँछन्।

त्यसकारण अहिले महाधिवेशन प्रतिनिधि को बन्ने हो, कसले जित्ने हो, त्यो सुनिश्चिता भएको छैन। त्यसकारण मैले गत वर्षको लकडाउनदेखि यो बीचमा मैले आफ्नो धारणा बनाउन उहाँहरुको राय सल्लाह बुझ्न फोन, अनलाइनमार्फत सबै नेता कार्यकर्तासँग कुराकानी र संवाद गरेको छु। त्यसकारण म सभापतिमा लड्ने कुरा वार्गेनिङ होइन।

सभापतिमा लड्ने सक्रियता बढाई रहनु भएको छ। नेता कार्यकर्ताबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

यो कुरामा धेरै नेताहरु खुसी हुनुहुन्छ। एउटा कुरा के भने, १३ औँ महाधिवेशनमा शेरबहादुरजी, रामचन्द्रजी, कृष्ण सिटौलाजी चुनावमा लड्नुभयो। तर, पार्टी सभापति शेरबहादुर देउवाजी बन्नु भयो।

अहिले धेरै नेताकार्यकर्ताको मनोविज्ञान के छ भने उहाँहरुलाई सम्मान र विशिष्ट मुल्याङ्कन गर्दै उहाँहरुलाई फरक भूमिकामा राख्दै उहाँहरुले अर्को पुस्तामा पार्टीको जिम्मेवारी दिनुपर्छ भन्ने चाहना छ। त्यसकारण म अधिवेशनमा उठ्ने कुराले देशभरिका नेताकार्यकर्ता खुसी र सकारात्मक छन्।

सभापतिमा उठ्ने तयारी गर्दै गर्दा यहाँले आफ्नो टिम पनि बनाइसक्नु भयो?

अहिले टिम बनेको छैन। शेरबहादुरजी, रामचन्द्रजी, कृष्णजीले समर्थन गर्नुभयो भने सोही अनुसारको टिम बन्छ। उहाँहरुले समर्थन गर्नुभएन भने सोही अनुसारको टिम बन्छ। अहिले प्रकाशमान सिंहजी,शशांक कोइरालाजीहरुसँग पनि छलफल गर्दै छु। पार्टीका अरु साथीहरुसँग पनि सल्लाह गर्दै छु। त्यसकारण टिम त बनाउनै पर्छ। तर टिम बनाउँदा नेताहरुको कस्तो समर्थन हुन्छ? त्यसअनुसार टिम बन्छ।

सोमबार महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई घरमै बोलाएर भेटवार्ता गर्नु भयो। सोही दिन युवा नेताहरु गगन थापा, प्रदीप पौडेल,चन्द्र भण्डारी,दीपक गिरी लगाएतका नेताहरुसँग पनि भेट्नु भयो। उहाँहरुको प्रतिक्रिया कस्तो पाउनु भयो?

उक्त छलफलमा सबैको समान धारणा आयो। १३ औँ महाधिवेशनमा उमेद्वारी भएका देउवाजी, पौडेलजी र सिटौलाजी अब सम्मानजनक भूमिकामा बसेर पुनःउमेद्वारी नबनिदिए राम्रो हुने थियो भन्ने सबैको धारणा भयो।

हामीहरु दोस्रो पुस्ताका नेताहरु म, शशांकजी, प्रकाशमानजी, शेखरजी सभापतिमा उठ्ने चर्चामा पनि आएको छ। देखिएको पनि छ। हामी चारै जनाको आफ्नो चाहना त छँदैछ।

तपाईँले भने जस्तै युवा नेताहरुसँग छलफल हुँदा सबैको धारणा के भयो भने मेरो पुस्ताको नेता सभापति भए राम्रो हुने उहाँहरुको धारणा र सुझाव छ। उहाँहरुको इच्छा १४ महाधिवेशनमा मेरो पुस्ता सभापतिमा आयो भने १५ औँ महाधिवेशनमा आफ्नो पुस्ता पनि नेतृत्वमा आउने बाटो खुल्छ।

सभापति देउवाको सहयोग भएन र अरु नेताहरु शशांक कोइराला प्रकाशमान सिंह, शेखर कोइरालाको पनि उमेद्वारी पर्यो भने सहमति खोजिन्छ कि, होइन लोकतान्त्रिक अभ्यास अनुसार प्रतिस्पर्धामानै जाउँ भन्ने हुन्छ?

पहिलो प्राथमिकता सहमतिबाट नै खोजिन्छ। अहिलेसम्म सात जना आकांक्षी देखिएको छ। मलाई के लाग्छ भने १३ औँ महाधिवेशनको तीन जना उमेद्वारले अभिभावकीय जिम्मेवारीका साथ हामी चारजनाको बीचमा सहमतिको भूमिका खेल्ने सहजकर्ताको काम गर्दिए हुने थियो।

अर्को साँच के भने हामी चार जनाकै सहमति भएर एउटामात्र उमेद्वार भए हुने। अथवा सबैको सहमतिबाट सभापति चयन गर्ने भन्ने चाहना छ। अब त्यो हुन सकेन भने स्वभाविरुपमा मैत्रीपूर्ण प्रतिश्पर्धा हुन्छ।

यहाँले भन्नु भए जस्तै देउवा, पौडेल र सिटौललाई व्यवस्थापन गर्न जटिल पनि होला नि कसरी व्यवस्थापन गर्ने?

व्यवस्थापन गर्न जटिल छैन। उहाँहरुको योगदान लोकतान्त्रिक आन्दोलन र पार्टीमा ठूलो योगदान छ। उहाँहरुको त्याग तपस्या अत्यन्तै ठूलो छ। अहिलेको राजनीति व्यवस्था ल्याउन कठोर संघर्ष गर्नुभएको छ।व्यवस्थापनको मतलव उहाँहरु निष्कृय हुने होइन,फरक भूमिकामा सक्रिय रहने हो।

१३ औँ महाधिवेशनमा शेरबहादुर देउवाजीलाई सभापति जिताउने ठूलो भूमिका खेल्नु भयो। यो महाधिवेशनमा उहाँले तपाईँलाई सघाउनेबारे केही सहमति भएको थियो?

१३ औं महाधिवेशनमा शेरबहादनुर देउवासँग १३ औं महाधिवेशनमा मैले उहाँलाई सघाउने र १४ औं महाधिवेशनमा उहाँले मलाइ सघाउने सहमति भएको थियो। सहमति समझदारीको नाममा लिखित सहमति नभएपनि उहाँ र मेरो अत्यन्तै पुरानो सम्वन्धका कारण पनि सहमति भएको थियो। मैले १४ औँ महाधिवेशनमा उमेद्वारी दिन्छु भन्दा उहाँले हुन्छ भन्नुभएको थियो।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *