आफू कोरोना संक्रमित भएको कुरा लुकाउनेलाई ४ वर्षको जेल सजाय सुनाइयो

डिसी नेपाल
१० असार २०७८ १७:०१

काठमाडौं। इण्डोनेसियाको एक अदालतले आफू कोरोनाभाइरस संक्रमित भएको कुरा लुकाउने एक धर्मगुरुलाई ४ वर्षको जेल सजाय सुनाएको छ । रिजिक शिहाब नामक यी धर्मगुरुले एक भिडियो जारी गरेर आफू स्वस्थ भएको बताएका थिए तर वास्तवमा उनी कोरोना पोजेटिभ पाइएका थिए ।

पूर्वी जाकार्ता जिल्ला अदालतका तीन न्यायाधीशको बेन्चले शिहाबले आफ्नो रिपोर्टको बारेमा गलत जानकारी दिँदा उनको सम्पर्कमा आएका मानिसहरुको पहिचान गर्न कठिनाइ भएको भन्दै उनलाई जेल सजाय सुनाएको हो । यसअघि मे महिनामा उनलाई यही हदालतले आफ्नी छोरीको बिहे र धार्मिक कार्यक्रमको लागि मानिसहरुलाई जम्मा गरेर कोभिड–१९ स्वास्थ्य दिशा निर्देशको उल्लंघन गरेको अभियोगमा ८ महिनाको जेल सजाय सुनाएको थियो ।

फैसला सुनाउनुभन्दा पहिले अदालतबाहिर भारी पुलिस बल र सेनाका जवान तैनाथ गरिएका थिए । शिहाबको रिहाइको माग गर्दै हजारौं समर्थकले जुलुस निकाल्ने पनि कोसिस गरेका थिए । पुलिसले उनका समर्थकलाई तितर बितर पार्न अश्रुग्यास र पानीको फोहरा हानेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *